नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेपछि अधिवेशनको समयसमेत बढाउने निर्णय गरेको छ।
आइतबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रीय कमिटी बैठकले राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि ११ देखि १३ सम्म हुने कार्यक्रम २ दिन थप गर्ने निर्णय भएको केन्द्रीय सदस्य अजय शंकर नायकले सेतोपाटीलाई जानकारी दिए।
महाधिवेशन हुने भए पछि विचारहरूको बहस अलिक धेरै गर्नुपर्ने भएकाले समय थपिएको नायकले भने।
यसअघि आजको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन भएको छ।
देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भन्ने निष्कर्षमा आफू पुगेको अध्यक्ष प्रचण्डले बताए।
यसअघि शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले पनि सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।
२०६९ सालमा माओवादीले आफ्नो सातौं महाधिवशेन हेटौंडामा सम्पन्न गरेको थियो।
महाधिवेशनको उद्घटान आइतबार ३ बजे काठमाडौंमा हुने भएको छ।
राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीले अन्य दललाईसमेत निम्तो गरेको छ।
महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ।
एमाले अध्यक्ष केपी ओलीलाई प्रचण्ड आफैंले फोन गरेका थिए। जवाफमा ओलीले आफू झापा रहेको र सम्ऐव भएसम्म आउने नभए महासचिवलाई पठाउने जानकारी गराएका थिए।
प्रचण्डका अनुसार बाँकी सबै दलका प्रमुख उपस्थिति हुने भएका छन्।