नेपाली कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत चलिरहेको कर्णाली प्रदेशको उद्घाटन सत्रमा पौडेल पक्षका नेताहरू उपस्थित भएका छैनन्।
आज सुर्खेतको वीरेन्द्रनगरस्थित रंगशालामा चलिरहेको उद्घाटन कार्यक्रममा आफूहरूसँग सल्लाह नभएको भन्दै उनीहरू सहभागी नभएका हुन्।
यो समूहका नेताहरू हृदयराम थानी, शिवराज जोसी, भूपेन्द्रजंग शाही, खड्ग बस्याल, दीनबन्धु श्रेष्ठ लगायतका नेताहरू उद्घाटन कार्यक्रम मञ्चमा देखिएनन्। उनीहरूलाई आसन ग्रहणको लागि भने नाम बोलाइएको थियो।
आफूहरूसँग कुनै सल्लाह नै नगरी अधिवेशनको उद्घाटन कार्यक्रम आयोजना गरिएकोले उपस्थित नभएको तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले बताए।
‘हामीलाई न कुनै खबर छ, न त कुनै सल्लाह नै गरिएको छ,’ उनले भने, ‘यो पार्टीको ऐतिहासिक प्रदेश अधिवेशन हो, कुनै गुटको त होइन नि! तर त्यहाँ हाम्रो पक्षसँग कुनै सरसल्लाह नै नगरी कार्यक्रम भइरहेको छ।’
कर्णाली प्रदेश अधिवेशन मूल आयोजक समितिका सभापति रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा उद्घाटन सत्र चलिरहेको छ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता छ।
समूहको नेतृत्व गरिरहेका नेताहरूको उपस्थिति नभए पनि पौडेल समूहका जिल्ला सभापतिहरूको भने सहभागी छन्।
उद्घाटन सत्रमा बोल्दै पौडेल पक्षबाट दैलेखको सभापति बनेका मणिराम रेग्मीले गुटगत राजनीतिबाट माथि उठेर कांग्रेस एक हुनुपर्ने बताए।