तीन तामाङ लोककथा

नेपाली लोककथा


भाले किन बास्यो?

सृष्टिकालको कुरा हो।

त्यसबखत स्वर्गमा आगो थिएन। पृथ्वीमा उज्यालो थिएन। त्यसैले भगवानले कुखुराको भालेलाई ‘पृथ्वीमा गएर त्यहाँका मानिससँग आगो मागेर ल्याउनू’ भनेर पठाए। भगवानले भालेलाई पृथ्वीमा रहदाँबस्दा आगो लिएर नफर्कुन्जेल नबास्नू भनेर अह्राएका थिए। भाले पृथ्वीमा उडेर पुग्यो। त्यहाँका मान्छेसँग भेट गर्‍यो र आगो माग्यो।

मान्छेले कुखुरालाई ‘आगो त हामीहरु दिन्छौँ तर तिमीले हामीसँग एक वाचा गर्नुपर्छ’ भने। मान्छेहरुलाई स्वर्गको भाले पृथ्वीमा बास्यो भने उज्यालो हुन्छ भन्ने कुरा थाहा थियो। अनि मान्छेहरुले कुखुरालाई आगो लैजाने हो भने एक पटक जोडले बास्न आग्रह गरे। तर भालेले आफूलाई भगवान्ले पृथ्वीमा नबास्नु भनेकाले बास्न नसक्ने कुरा बतायो।

त्यसपछि मान्छेहरुले भने, ‘त्यसो भए कि आफ्नो वाचा फिर्ता लिनू, कि आगो नलिई स्वर्ग जानु।’

भालेलाई के गरौं कसो गरौं भयो। जेसुकै होस्, स्वर्गमा आगो त लिएरै जान्छु भन्ने सोच बनायो। ठूलो स्वरले बास्न थाल्यो। मानिसहरु दङ्ग परे। पहिलो पटक भाले बास्दा आधा रात बितेको थियो। दोस्रो पटक बास्दा हावाको झोंक्का चलिरहेको थियो। तेस्रो पटक बास्दा पूर्वबाट सूर्य उदायो। चौथो पटक बास्दा पृथ्वी पूरा उज्यालो भयो। पृथ्वीमा मानिसहरुको दिनचर्या सुरु हुन थाल्यो। हरेक काम गर्न मान्छेहरुलाई सरल र सजिलो भयो। यसै घटनाका आधारमा तामाङहरु पृथ्वीमा रातै–रातको सट्टा रात–दिन हुन थालेको हो भनी विश्वास गर्छन्।

वनझाँक्री र युवक

धेरै वर्ष पहिले कुनै गाउँमा एक युवक थियो। ऊ दाउरा काट्न सधैं सबेरै टाढाको जङ्गलमा जान्थ्यो। साँझपख दाउरा लिएर घर फर्कन्थ्यो। एकदिन ऊ वनमा गएर रुख काट्यो, दाउराको भारी बनायो र बोकेर घर फर्कियो।

टन्टलापुर घाम लागेकाले उसलाई पानी खान मन लाग्यो। जङग्लको बीचमा रहेको पहरामा गई उसले पानी खायो। एकछिन थकाइ मा¥यो र त्यहीं भुसुक्कै निदायो। केही समयपछि त्यही बाटो गरी वनमा सिकार खोज्न गएका वनझाँक्रीहरु ढ्याङ्ग्रो बजाउँदै आए। उनीहरुको कद होचो थियो। जीउभरि रौं नै रौंले ढाकिएको थियो। अनि उनीहरुले त्यस युवकलाई बोकी पहराभित्र रहेको सानो प्वालबाट आफ्नो सुनको दरबारमा पु¥याए र एउटा कोठामा बन्द गरी राखे। हातखुट्टामा लामा–लामा नङ्ग्रा र घुँडासम्म लत्रेका स्तन भएकी झाँक्रिनी आफ्ना छोराछोरी समेत उपस्थित भई।

उनीहरुले युवकलाई मार्ने स्थितिमा पुगे।

आपसमा वादविवाद समेत भयो। मार्नु हुँदैन भनी झाँक्रीले बल्लतल्ल मनायो। झाँक्रीले युवकलाई साँझपख सुनको थालमा चामलको भात र गँड्यौलाको तरकारी खान दियो। डर, त्रास र भोकका कारण युवकले सबै खानेकुरा खायो। उसलाई झाँक्रीले सम्झाउँदै भन्यो– ‘हामीले तिमीलाई विद्या र ज्ञान सिकाउन ल्याएका हौं, तिमी नडराऊ, सिकाएपछि सकुशल फर्काउने छौं।’

युवकले त्यस प्रस्तावलाई सहर्ष स्वीकार ग¥यो। झाँक्रीले दिनहुँ एकपछि अर्को गरी ज्ञान दिँदै गयो। युवकले पनि सबै कुरा विश्वासका साथ तनमन दिएर सिक्यो। वनझाँक्रीलाई गुरु मान्दै ढोग्यो। वनझाँक्रीले पनि युवकलाई जुन दिन, समय र स्थानबाट जसरी ल्याएको थियो त्यसै गरी सुनको सियो उपहार दिएर सकुशल फर्कायो। त्यसपछि युवकले आजीवन धेरै रोगीहरुको उपचार गरी प्रसिद्धि कमायो। यसै घटनाका आधारमा आजसम्म पनि तामाङ लगायत अन्य सम्प्रदायमा वनझाँक्री प्रथा कायमै रहेको छ।

देवता र मानिसबीच अंशबन्डा

उहिले पृथ्वीको सृष्टि हुँदा देवताका एघार जनामा एउटी र मान्छेका नौ जनामा एउटी छोरीको जन्म भयो।

मानिसको सृष्टि गर्ने क्रममा देवता र मान्छेबीच विवाह हुन्थ्यो। देवताका सन्तानबाट एउटी छोरी गाङसाल्मो जन्मिइन् भने मान्छेका सन्तानबाट छ्युल नामकी छोरी जन्मिइन्। गाङसाल्मोको मान्छेसँग र छ्युलको देवतासँग विवाह भयो। यिनीहरुबाट नै तामाङ सन्तानहरूको वृद्धि हुँदै गयो। त्यसबेला मानिस र देवताहरु सँगसँगै बस्दथे। मान्छेहरु लोभी र अल्छी थिए। त्यो देखेर देवताहरु आजित भए। त्यसैले देवताले अब आ–आफ्नो परिवार छुट्टिएर बस्ने निर्णय गरे। यो कुरा देवताले मान्छेसँग पनि बसेर छलफल गरे। अलग बस्ने निर्णय भयो।

यसैबीच एउटा सर्त पनि राखियो। जुन दुवैलाई मान्य भयो। बिहान कुखुरा बास्नुअघि जो सूर्यकहाँ पुगेर पर्दा गाड्छ, ऊचाहिँ स्वर्गमा बस्छ, जसले गाड्न सक्दैन्, ऊ पृथ्वीमा बस्नुपर्छ। सर्तअनुसार देवता बिहान सबेरै सूर्यमा पुगेर सुनको पर्दा गाडे। मानिस ढिलो उठेर सूर्यमा नपुगेकाले पर्दा गाड्न सकेन। हार मानेर फर्कने क्रममा देवताले मानिसलाई सोधे, ‘तिमी आइपुगेछौ। मलाई देख्यौ?’

मानिसले भन्यो, ‘देखेँ।’

त्यसपछि देवताले चाँदीको पर्दा गाडेर सोधे, ‘अब देख्यौं?’

मानिसले उत्तर दियो, ‘देखेँ।’ अनि देवताले तामाको पर्दा लगाए र पुनः सोधे। मान्छेले अझै देवतालाई देखेको कुरा बतायो। अनि देवताले कटुसको बिरुवा पर्दा लगाए र मानिसलाई सोधे, ‘के तिमीले अझै पनि मलाई देख्छौ?’

मानिसले उत्तर दियो, ‘अहिले चाहिँ देखिन।’

मान्छेले देवतालाई नदेखेपछि ऊ रुन कराउन लाग्यो। यसरी अल्छी मानिसको अलाप–विलाप देखेर देवतालाई दया लाग्यो। अनि देवताले भने, ‘तिमी नआत्तिऊ। अब हामी देवताहरू तिमी मानिसहरुको संरक्षक हुनेछौं। साथै तिमीहरुले पृथ्वीमा खनीखोस्री गरेर खानुपर्छ। त्यसैले बन्चरो र यो कोदालो पनि लिऊ। वनजङ्गलबाट दाउरा काटेर ल्याऊ। अनि मज्जाले दाउरा बाल। त्यसपछि खरानी हुन्छ। त्यसबाट मल बनाऊ।

कोदालोको प्रयोगले तिमीले पृथ्वी (जमिन) खनजोत गर्न सक्छौ। त्यहाँ तिमीले बीऊ छर्दै जाऊ।

अनि मान्छेले देवतासँग सोध्यो, ‘बीउ कहाँ पाइन्छ त?’

देवताले मान्छेलाई भने, ‘कुखुराको फुटेको अण्डामा तिमीले बीऊ पाउनेछौ। त्यो खोस्रेर खनेको जमिनमा रोप्दै जाऊ। अनि दाउराबाट भएको खरानीको मल त्यसमा हाल। त्यहाँ धान, मकै, जौ, गहुँ उम्रिनेछ। पाकेपछि टिपनटापन गरेर घाममा सुकाई पिँधेर राख्नुपर्छ। त्यसबाट छ्याङ (जाँड) बनाउनु अनि सर्वप्रथम आफ्नो कुलदेवतालाई चढाएर खानुपर्छ है।’

यति भनेर देवता अलप भए। त्यसै बेलादेखि तामाङहरु मानिसको सम्बन्ध देवतासँग टुटेर भूमि देवतासँग गाँसिएको हो भन्दछन्। जसका कारण तामाङहरुले खेतीपाती सुरु गर्नुपूर्व भूमे (ह्युल्सा ल्हा) देवता र खेतीपाती भित्र्याएपछि कुलदेवताको पूजा गर्ने गर्दछन्।

(रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ‘तामाङ लोककथा सँगालो’ बाट लिइएको)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.