किशोर अवस्थाको समय पनि अति चञ्चलमय हुने। हुन त यो व्यक्तिको उत्तेजना मात्र नभई समय र मानव विकासको प्रतीक पनि हुनुपर्छ।
म भर्खर १८ कटी १९ मा लागेको। स्कुले जीवन, किशोरावस्था पढाइप्रति कम चासो तर मन भने कक्षाकोठाको नजिकै बस्ने उनी तिरै। किशोरावस्थामा भावना कल्पना पनि तीव्र हुँदो रहेछ। भनिन्छ प्रेमको कुनै परिधि हुँदैन। सीमा र बन्धन हुँदैन। तर ती दिन सम्झँदा साँच्चै आश्चर्य लाग्छ। आफैसँग प्रश्न उठ्छ, त्यो बेलाको हाम्रो तीव्र आकर्षण साँच्चिकै प्रेम थियो वा आकर्षण मात्र?
कुरा २०७० सालतिरको हो। हाम्रो पालामा त्यो बेला मोबाइल फोन आइसकेको थियो। हुन त पत्रबाट सुरु भएको हाम्रो प्रेम कहानी जति लम्ब्यायो उति लामो छ। तर त्यो बेला अज्ञात आफ्नै भविष्य बोकेका हामी थाहै नपाई बेसरी प्रेममा डुबिसकेका रहेछौँ। जब-जब वसन्त ऋतु आउँछ, तब-तब आज पनि उनको याद प्रबल भएर आउँछ। किनकि वसन्त हाम्रो प्रेमको सबैभन्दा प्रिय साक्षी छ।
हामीले वसन्तमा सबैभन्दा बढी भावना साटेका छौँ। आज पनि आफ्नै प्रेम कहानीको अनुत्तरित प्रश्न वसन्तलाई नै सोध्न मन लाग्छ। कक्षाकोठामा एकटक जुधाइने नजर, विद्यालय समयभन्दा अगाडि नै घरबाट हतार-हतार हिँडेर उनका लागि छुट्टाइएको ती स्वर्णिम समय पल-पल प्रिय लाग्छन्।
आफ्नोभन्दा उनको बढी याद र ख्याल आउने त्यो समय, रोल्पा भूमिमा वसन्तमा ढकमक्क फुल्ने लालीगुराँस टिपेर शिरमा सजाइदिएर गरेका जुनी-जुनीसम्म नछुटिने वाचा, मान्छेहरूबाट लुकी-लुकी वसन्तले लिएर आउने काफलसँगै मिलेर खाएका ती कसमहरूले आज पनि सोच्न मजबुर बनाउँछन्। त्यो साँच्चै प्रेम नै थियो वा एक उमेरको प्रभाव र आकर्षण?
हुन त आज बुझ्ने हुँदा पनि हामी सम्हाली राखेको त्यो प्रेम उस्तै छ। एउटा अनुत्तरित प्रश्नले आज पनि नराम्ररी प्रहार गर्छ। त्यो आकर्षण थिएन भने त्यसपछि भने बिस्तारै नदीको दुई किनार जसरी किन ओझेलमा पर्यो हाम्रो सम्बन्ध?
लाग्थ्यो हामी हस्याङफस्याङ गरी होलेरीबाट गढीलेक पुग्दा वसन्तमा माधुर्यताका साथ स्पर्श गर्ने बतासले लजाएर हाम्रै एकता चाहन्थ्यो। पारि-पारिबाट हामीलाई चियाउने क्षितिज र हिमाल हाम्रो प्रेमको मैन साक्षी थिए।
तर उमेर बढ्दै गएपछि थाह भयो; साँच्चिकै समय बलवान् हुँदो रहेछ। समयको वेग परिवर्तनशील छ। र, परिवर्तित समयसँगै मान्छेको मन परिवर्तन भएको पत्तै नहुँदो रहेछ। कल्पना र भावनाभन्दा पर जिम्मेवारीको भारी फरक हुँदो रहेछ।
त्यसरी अनन्तसम्म प्रगाढ भएर जाने विश्वास रहेको हाम्रो सम्बन्ध जब उच्च शिक्षा आर्जन गर्ने बहानामा भने बिस्तारै मान्छेसँगै टाढियो। प्लस-टु मैले होलेरीमै पढ्ने भएँ उनी दाङ जाने भइन्। त्यतिन्जेलसम्म सुरु-सुरुमा सबै ठिकै थियो। दिनको सुरुवात र अन्त्य फोनबाट सुरु हुन्थ्यो। मध्यरातसम्म फोनमै गफिएर बस्थ्यौँ। कयौँ त्यस्ता स्वर्णिम सपनाहरू जागरूकतामै देख्थ्यौँ। तर मान्छेको मन हो, टाढा हुन र जुट्नका लागि कुनै बहाना नचाहिँदो रहेछ। समय, परिवेश र परिस्थितिले मनोवृत्तिमा उछाल ल्याउने नै रहेछ।
बिस्तारै-बिस्तारै टाढिन पुग्यौँ। सायद उमेर नपुगी लिएका निर्णयहरू उमेरसँगै बदलाव आउँछ होला, जीवन र मरणसम्मको हाम्रो प्रेम कहानी केही वर्षमै डगमगाउन थाल्यो। सोच्थेँ, उनले कोही अरू नै राम्रो पाई होलिन्। मैले पनि यथास्थितिमै रमाउन बानी पारेँ। केही समयपछि थाह पाएँ उनको त बिहे भयो रे!
हतार-हतार सामाजिक सञ्जाल पल्टाएर हेरेको साँच्चै रहेछ। सुरुमा भावुक पनि बनायो। तर मनले भन्यो, उनीसँग किशोरावस्थाको त्यो आकर्षण नै थियो भने पनि आज त मैले प्रेम गर्नु पर्छ। उनको खुसी नै मेरो खुसी हो भनेर भावुकताका साथ कठोर बनेर जसोतसो मन बुझाएँ। मनमनै खुसी व्यक्त गरेँ। राम्रो होस् भनेर सोचेँ। उनले म र मेरो जीवनप्रति दिएका एक-एक बचन उनीलाई नै समर्पण गरिदिएँ।
पछि समयसँगै मेरो पनि बिहे भयो। एक दिन अचानक उनीसँग भेट भयो। सुरुमा दुवै हायलकायल बन्यौँ। केही बेर मौन रह्यौँ। तर मैले बढो हिम्मतका साथ मधुर स्वरमा भने- ‘के छ खबर, खुसी छ्यौ?’
उनको जवाफ थियो- ‘उम खुसी छु।’ तर उनको नयनबाट बरबर आँसु झरिरहेका थिए। वर्षौँपछि भेट्दा पनि हामी दुबैबिच दुई मुटु छ भन्ने भान थिएन। पुनः उनको खुसी नै मेरो खुसी बन्यो। फेरि हामी एक पटक सम्बन्धलाई मित्रतामा पुनर्स्थापना गर्न सफल भयौँ। दुःख-सुख साट्न थाल्यौँ।
सायद त्यो किशोरावस्थाको हाम्रो प्रेम आकर्षण मात्रै थियो होला। तर आज दशकपछि फेरि हामीले एकअर्कालाई मर्यादासित प्रेममा रूपान्तरण गर्न सफल भयौँ। परिपक्वताले आज बोध भयो कि प्रेम भनेको त अपेक्षा होइन, समर्पणको नाम हो। राम्रो चिज केवल आफ्नो बनाउनु प्रेम होइन, त्यो सबैको बनाउनु नै प्रेम रहेछ।
आज फेरि एक पटक हामी एकअर्काको सुखदुखको साथी बनेका छौँ। जिम्मेवारी आ-आफ्नो ठाउँमा तर आज हिजोको त्यो आकर्षणले हारेर प्रेमले जितेको छ। कल्पनाका कसमहरूले हारेर यथार्थताले जितेको छ। उमेरको कच्चापनले हारेर परिपक्वताले जितेको छ।
हामी एकअर्काको मात्रै नभएर दुवैको पारिवारिक शुभचिन्तक बनेका छौँ। सायद जीवनमा हामीमाझ दोस्रो पटक घटेको यो सुखद संयोग थोरै प्रेमिल जोडीले पाउने अवसर हुनुपर्छ। हामी दुवै उदार र भाग्यमानी छौँ।