आज शनिवार। छिटै उठेर अफिसको लागि तयार हुनुपर्ने कुनै बाध्यता छैन। हुन त अफिसको दिन पनि नलिनी हतारिएर उठ्दिनन्। अफिसमा धेरै काम छ वा ‘अर्लि हावर मिटिङ’ छ भने मात्र हो। नभए आरामले नै काम गर्ने बानी छ उनको। हतारिएर, जबरजस्ती गरेर कहीँ पुगिँदैन भन्ने थाहा पाइसकेकी छिन् उनले।
जिन्दगीको आफ्नै रफ्तार छ। कसैको इच्छा, खुसी वा अनुकूलता हेरेर जिन्दगी अगाडि बढ्दैन। कति बेला कसलाई के दिने, कति बेला कोसँग के फिर्ता लिने... यी सबै कुराहरू कहीँ कतै पहिले नै निर्धारित रहेजस्तो! यति सामान्य कुरा बुझ्न पनि मानिसले धेरै सुखदुःखको अनुभव गर्नुपर्दो रहेछ। जिन्दगीले सबैको लागि केही न केही पाठ तयार गरेकै हुन्छ। तर ती पाठबाट सिक्छन् केहीले मात्र।
एकपछि अर्को घट्दै जाने जिन्दगीका घटनाहरूमा प्रायः मानिस यसरी अलमलिन्छन् कि लिनुपर्ने ज्ञान लिनै सक्दैनन्। घटनाहरूको सार बुझ्नै सक्दैनन्। अनि जिन्दगी फेरि यस्तो जिद्दी छ कि जबसम्म मानिसले आफ्नो पाठ सिक्दैन, तबसम्म उस्तै प्रकृतिका घटना दुर्घटनाहरू दोहोर्याई बस्छ।
पर्दाबाट चियाउँदै घाम पलङमै आइसकेपछि नलिनी पनि घामलाई स्वागत गर्न पलङबाट उठिन्। पर्दा खोलिन्। पलङ छेउकै टेबलमा राखिएको हाते घडी उठाएर समय हेरिन्, साढे सात भइसकेको रहेछ। फेरि पलङमै बसिन्। आँखा चिम्लेर एकछिन बसिरहिन्। आज उनको जन्मदिन पनि हो। तर यस कुराले खासै फरक पार्दैन उनलाई। साथी आफन्तहरूको शुभकामना सन्देश आउँछ। उनी पढ्छिन्। जवाफ फर्काउँछिन् तर औपचारिकताका लागि मात्र। एकछिनपछि आँखा खोलिन्। मोबाइलमा आएका केही शुभकामना सन्देश हेरिन् र लागिन् आफ्नो दैनिकीतर्फ।
प्रायः मानिसको दैनिकी निर्धारित रहन्छ। त्यसमा पनि कामकाजी महिलाहरूको त झनै। तर नलिनीको केही फरक छ। नलिनीलाई आफै पनि थाहा हुँदैन, उनको कुन दिनको दैनिकी कस्तो हुने हो। अफिसको कामलाई हटाइदिने हो भने नलिनीसँग गर्नलाई खासै काम पनि छैन। न घर-परिवारमा जिम्मेवारी लिनुपर्ने खासै कोही। साथीसंगी पनि धेरै छैनन्। एउटी छोरी छिन्। उनी पनि एक वर्ष भयो पढ्नलाई देश छाडेर छिमेकी देश पुगेको।
उनको दैनिकीमा आज भने एउटा काम थपिएको छ। घरमा ताजा फूल सजाउने। उनको फ्ल्याटमा हरिया, पहेँला पात भएका बिरुवाका केही गमला र प्लास्टिकका फूल त छन्। तर ताजा फूल छैन। उनलाई रहर थियो, घरमा ताजा फूल सजाउने। लामो समयदेखि सोचिरहेकी थिइन् रंगीबिरंगी फूल किनेर ल्याउँछु र सिसाको फूलदानमा सजाउँछु। हिजो भने सम्झेर चार रङका फूल किनेर ल्याइन्। रातो, सेतो, पहेँलो र निलो। फूलदान बनाउन मिल्ने दुई वटा सुन्दर सिसाको जार उनीसँग पहिलेदेखि छ, उनी त्यसमै फूल सजाउन चाहन्थिन्।
नलिनीलाई फूल मन पर्छ। उनलाई फूलसँगै रहेको काँडा भने मन पर्दैन। उनलाई थाहा छ, फूलमा काँडा स्वाभाविक रूपले रहन्छ। त्यसैले फूल किन्दा उनले निकै सचेत भएर हेरेकी थिइन्, फूलको डाँठमा घोच्ने काँडा नभएका फूल मात्र किनिन्। गुलाफको फूल पनि छेउ लगाइदिइन्। पसलको भाइले भन्यो पनि, ‘अलिअलि मसिना काँडा त भइहाल्छन् नि म्याडम! के फरक पर्छ र? यसरी छाम्यो भने त घोचिहाल्छ नि।’
एक गिलास मनतातो पानी अनि एक कप स्ट्रङ ब्ल्याक कफी, बिहानको यो रुटिन भने तय छ नलिनीको। सधैँ झैँ किचेनमा पानी तताउन राखेर उनी बाथरुम छिरिन्। फ्रेस भइसकेपछि सिसाको गिलासमा पानी लिइन् र आफूले आफैलाई गिफ्ट दिन किनेको कपमा कफी तयार पारिन्। यो उनको फेवरेट कप हो। यस कपमा लेखिएको भनाइ उनलाई निकै मन पर्छ। बिहानीको पहिलो कफी उनी यसै कपमा पिउँछिन्। कफीसँगै प्रत्येक बिहान यो पङ्क्ति दोहोर्याई तेहेर्याई पढ्छिन्, ‘आई विल विन, नट इमिडिएट्ली, बट डेफिनेट्ली!’
कफी लिएर उनी आफूलाई सबैभन्दा मन पर्ने ठाउँ, बेडरुम भएर निस्किने बरन्डामा पुगिन् र बरन्डामा राखिएको खैरो रङको काठको सानो कफी टेबलमा कफी राखिन्। बेतको आरामदायी कुर्सीमा राखिएको रातो रङको कुसन मिलाएर बसिन्। मोबाइलमा पुराना नेपाली गीतहरूको प्ले लिस्ट अन गरेर कफीको कप हातमा उठाइन्। बरन्डाबाट बाहिरको दृश्य हेर्न थालिन्। सब आ–आफ्नो जिन्दगीमा व्यस्त। सब आफूमा मस्त। चाहे मानिस होस्, जनावर वा चराचुरुंगी।
आँखाले बाहिरको ताजा दृश्य हेर्दाहेर्दै मस्तिष्क कति बेला अतीतका पानाहरू पल्टाउन थालिसकेछ, उनले थाहै पाइनन्। यो नलिनीको ठुलो कमजोरी हो। जसलाई उनले जित्न सकेकी छैनन्। घरी घरी अतीतमा पुगिजाने। पुराना यादहरूमा हराइजाने। कहाँ के कुराले उनलाई अतीतको कुन मोडमा पुर्याइदिन्छ, उनी आफैलाई थाहा हुँदैन।
धेरै कफी पिउने उनको बानीले निकै इरिटेट हुन्थ्यो विनोद। विनोद मात्र किन, घण्टैपिच्छे कफी चाहिने बानी छोड्न नलिनीलाई धेरैले सुझाव दिएका थिए। विनोदले धेरै पटक गाली पनि गरेको थियो। उसको अधिकार पनि थियो। नलिनी स्वयंले दिएकी थिइन् त्यो अधिकार। जुन दिन नलिनीले आफूलाई सम्झाउन सक्ने वा गाली गर्न सक्ने अधिकार विनोदसँग फिर्ता लिइन्, त्यसपछि विनोदको कुनै अधिकार रहेन।
आफ्नो जिन्दगीको बारेमा निर्णय लिने अधिकार कति आफूसँग राख्ने र कति अरूलाई दिने भन्ने विषयमा उनी पहिलेदेखि स्पष्ट छिन्। त्यसैले पनि होला, जिन्दगीमा उतार चढाव त कति आए तर उनले हरेक पटक जिन्दगी आफ्नो अनुकूल बनाउन सकिन्। विनोदसँग विवाह गर्ने निर्णय लिनु पनि सहज थिएन नलिनीको लागि। तर त्यति बेला उनलाई विनोदसँगको जिन्दगी चाहिएको थियो।
विनोदसँगको साझा जीवन सुरुवात गर्नका लागि उनले अरू धेरै सम्बन्धहरू त्याग्नुपरेको थियो। बाबाकी सबैभन्दा प्यारो सन्तान नलिनीलाई उनैको बाबाले अब उपरान्त कहिले मुख नहेर्नेसम्म भने। तर पनि नलिनी आफ्नो निर्णयबाट पछि हटिनन्। किनकि उनलाई लाग्थ्यो, यो उनको जिन्दगी हो र यसको निर्णय उनैले लिन पाउनुपर्छ। बाबा, आमा, दाजु, दिदी कसैले त्यति बेला उनलाई साथ दिएनन्। सोच्दै नसोचेको व्यक्ति, कान्छो भाइले भने नलिनीको लागि आवाज उठायो। त्यति ठुलो परिवारमा एक जना भाइको कुरा कसले सुन्थ्यो र!
नलिनीलाई सबैभन्दा धेरै दुःख दिदीले साथ नदिँदा लागेको थियो। किनकि उनले आस पनि दिदीकै गरेकी थिइन्। दिदी र नलिनीको उमेरमा खासै अन्तर थिएन। साथी जस्तै थिए दुई दिदीबहिनी। एक अर्काको कुरा सुन्थे, बुझ्थे। नलिनीले दिदीलाई विनोदको बारेमा खुलेर भनेकी थिइनन्। दिदीको विवाह पनि त भइसकेको थियो! कहिलेकाहीँ भेट हुँदा गर्नलाई अरू थुप्रै गफहरू हुन्थे। तर पनि नलिनीलाई विश्वास थियो, दिदीले उसको भावना बुझ्नेछिन्। तर दिदीले उल्टो गाली गरिन्, झपारिन्। बाबाआमाको इज्जत फाल्न लागिस् सम्म भनिन्। बाबाआमाको मन दुखाएर तँ कहिले खुसी नहुने सम्मको वचन लाइन्।
त्यति बेला नलिनीलाई रिसाउन र विद्रोह गर्न मात्र आउँथ्यो। अहिलेको जसरी व्यक्ति, समाज र सम्बन्धहरूको विश्लेषण गर्न सक्ने ज्ञान आइसकेको थिएन। आफ्ना कुरा तर्कका साथ राख्ने क्षमता थिएन। त्यति बेला नलिनीमा अहिलेको जस्तो ज्ञान भएको भए सायद दिदीलाई बसाल्थिन् र शान्त भएर सोध्थिन्, ‘दिदी, भगवानले जीवन खुसीसाथ बाँच्न दिनुभएको छ वा अरूको अहम् तुष्टि गर्दै आफ्नो खुसीको घाँटी निमोठेर बाँच्नको लागि दिनुभएको छ? मानिस आफ्नो जिन्दगी बाँच्नको लागि जन्मिन्छ वा अरूको इज्जत राखिइदिनका लागि जन्मिन्छ? अनि इज्जतको परिभाषा के हो?’ तर त्यति बेला नलिनीको मस्तिष्कमा यी प्रश्नहरू वा भनौँ यी जवाफहरू आएनन्।
बरु नलिनीको आमाले नलिनीलाई गाली गरिनन्। मायाले सम्झाइन्, ‘केही दिनको आवेग हो छोरी। पछि सबै मायाप्रीति हराइजान्छ। घर, परिवार, समाजसँग बैरी भएर बाँच्न सकिन्न। सम्बन्ध आफ्नो कुल खानदान हेरेर जोड्ने हो। आफ्नो जात बाहिर गएर नि कसैले बिहे गर्छन्? समाजमा हाम्रो केही इज्जत रहन्न।’
त्यति बेला नलिनीले आमालाई पनि भन्न सकिनन् कि ‘आमा, बच्चा जब जन्मिन्छ, उसलाई राम्रोसँग हुर्काउनको लागि परिवार, घर, समाज चाहिन्छ। मानिस सम्बन्ध निर्वाह गर्नका लागि बाँच्दैन, मानिसलाई बाँच्न सजिलो होस् भनेर सम्बन्धहरू बन्ने हुन्, सम्बन्धहरू जोडिने हुन्। जब मानिस सम्बन्ध निर्वाह गर्नकै लागि बाँच्न थाल्छ, उसको जीवन मरेतुल्य हुन्छ।’ तर त्यति बेला नलिनीले यी सब कुरा भन्न जानिनन् र विद्रोह गरेरै विनोदसँग विवाह गरिन्। हुन त नलिनीले यी सब कुरा भन्न सकेको भए पनि उनको परिवारले कुरा बुझ्ने सम्भावना न्यून नै थियो।
विनोदसँग छुट्टिएको पनि १० वर्ष भयो। छोरी सात वर्षको हुँदा विनोद र नलिनी छुट्टिएका हुन्। बिहे भएको डेढ वर्षमै छोरी जन्मेकी थिइन्। नलिनीसँग छुट्टिएको दुई वर्षपछि विनोदले अर्को विवाह गरे। यस पटक परिवारले खोजिदिएको केटीसँग। नलिनीले भने विवाह नगर्ने निर्णय लिइन्।
विवाह गर्ने गरी कोही मन परिहालेको भए सायद विवाह गर्थिन् पनि होला। तर त्यसरी कोही मन पनि परेन। कहिलेकाहीँ कोहीप्रति सामान्य आकर्षण रह्यो होला तर आकर्षण विवाहमा परिणत हुनसक्ने गरी बढेन। यसबिच धेरैले नलिनीलाई विवाह गर्ने सल्लाह दिए। कुनै बेला नलिनीको अनुहार नहेर्ने उद्घोष गरेका उनका पिताले पनि छोरीको घर फेरि बसाउन पाए हुन्थ्यो भनेर प्रयास गरे। तर नलिनीले मानिनन्।
विनोदसँगको अलगावपछि नलिनीको परिवारले नलिनीलाई पुनः स्विकार्न खोज्यो। विनोद गइसकेको भएर होइन, नलिनी एक्लो भएको पिरले। आमाबुवाको मन न हो, छोराछोरीजस्तो कठोर कहाँ हुन्छ र! तर छोराछोरीको मन आमाबुवाभन्दा फरक भइदिन्छ। नलिनीले आफ्नो परिवारलाई फेरि पुरानो तरिकाले कहिल्यै स्विकार्न सकिनन्। उनी आफ्नो बाबाआमाको घरमा बस्न पनि तयार भइनन् र फेरि त्यही माया, त्यही भाव, त्यही अपनत्वको अनुभव पनि उनले ती सम्बन्धहरूमा गरिनन्। उनले गर्नै चाहिनन्। उताबाट प्रयास नभएको होइन। नलिनीले जानीजानी आफूलाई कठोर बनाएर राखिन्। उनी स्पष्ट थिइन्, उनको परिवार भनेको अब केवल उनको छोरी आरुषी हो। उनले बाबाआमालाई मुखैले जवाफ त फर्काइनन् तर स्पष्ट पारिदिइन्, उनलाई कसैको सहानुभूतिको आवश्यकता छैन।
फोनको रिङले नलिनीलाई गहिरो निद्राबाट तर्सेर ब्युँझे झैँ गरी झस्कायो। आरुषीले फोन गरेकी रहेछिन्। शनिवार आरुषीले सधैँ यसै बेला फोन गर्छिन्। आरुषीको फोनको लागि नलिनी तयार पनि रहन्थिन्। तर आज नलिनीलाई याद नै रहेन। एक त शनिवार यसै पनि आरुषीले फोन गर्ने समय भइसकेको थियो, त्यहाँमाथि नलिनीको जन्मदिन।
नलिनीले आरुषीको भिडियो कल रिसिभ गर्छिन्। आरुषीले नलिनीलाई बर्थडे विस गर्छिन्, ‘हेप्पी बर्थडे ब्युटिफूल लेडी। मम, तपाईं त आज तयार भएर बस्नुभएको होला भन्ने लागेको थियो। स्टिल इन नाइट गाउन?’
नलिनी हाँस्छिन्। आज ढिलो उठेको बताउँछिन्। भिडियो कलमा आरुषी अरू दिनभन्दा खुसी र उत्साहित देखिन्छिन्। नलिनीलाई आरुषी होस्टेलभन्दा बाहिर कुनै रेस्टुरेन्टमा रहेजस्तो पनि लाग्छ। सन्चो बिसन्चो, पढाइ, कामका कुरा सकेपछि आरुषीले नलिनीलाई भनिन्, ‘मम तपाईंको लागि सर्प्राइज छ। बर्थडे गिफ्ट भन्दा पनि हुन्छ होला।’
आरुषीले आफ्नो दाहिनेतिर टाउको घुमाएर कसैलाई आउनका लागि आँखाले इशारा गर्छिन्। आरुषीको छेउमै एक युवक आउँछन्। श्याम वर्णका, लाम्चो अनुहार, कालो कपाल, तिखा आँखा भएका, हँसिला युवक। आरुषीले भन्छिन्, ‘मम, ही इज आयान। माई फ्रेन्ड।’
आयानले हात जोडेर नलिनीलाई सम्बोधन गर्छ, ‘हेलो आन्टी।’ नलिनीले पनि जवाफमा हेलो भनिन्।
आरुषीले आयानको थप परिचय दिन्छिन्, ‘वि स्टडी इन सेम क्लास। हि इज फ्रम केरला। आई वान्टेड टु इन्ट्रोड्युस हिम टु यु अर्लियर, बट... आई थट टुडे वुड बी द बेस्ट डे।’
नलिनीलाई बुझ्न गाह्रो हुँदैन कि आयान फ्रेन्ड मात्र होइन। उनी खुसी त हुन्छिन् तर मनमा कुनै उत्साह हुँदैन। उनलाई आफ्नो मनमा रहेको शून्यताको आभास तुरुन्तै हुन्छ। तर पनि उनी मुस्कुराइरहन्छिन्। आयानलाई चिनेर खुसी लागेको पनि भन्छिन्। केही बेर तीन जनाको बिच सामान्य रमाइला गफगाफ हुन्छ। आयानले पनि नलिनीलाई जन्मदिनको शुभकामना दिन्छ। होस्टेल फर्केपछि फेरि फोन गर्ने भन्दै आरुषीले फोन राख्छिन्।
नलिनी सोच्न थाल्छिन्। आरुषीले आफ्नो जीवनको यति ठुलो खुसी साट्दा नलिनी जति खुसी र उत्साहित हुनुपर्थ्यो, सायद उनी त्यति खुसी र उत्साहित भइनन्। यो कुरा आरुषीले पनि विचार गरेकी होलिन्। नलिनी आफैदेखि क्षुब्ध हुन्छिन्। आरुषीले के सोचिरहेकी होलिन्? आरुषीको खुसीको लागि भए पनि नलिनीको अनुहार त्यति बेला उज्यालिनु पर्थ्यो। आयान र आरुषीलाई सँगै देख्दा नलिनी खुसी नभएकी पनि होइनन्। तर छोरीको खुसीमा आमाको मन जति प्रफुल्लित हुनुपर्थ्यो, त्यो सायद भएन कि? नलिनी आफैले प्रश्न गर्छिन्।
नलिनी जिन्दगीका हरेक घटनालाई सादा तरिकाले हेर्छिन्। त्यही सादा हेराइ सायद आरुषीतर्फ पनि गयो। आरुषीको जिन्दगी त भर्खर सुरु हुँदैछ। आरुषीको जिन्दगीमा अहिले उत्साह र ऊर्जाको समय छ। स्थिरता र सादापनको होइन। नलिनीलाई डर लाग्न थाल्छ, उनको सादा जिन्दगीको प्रभाव आरुषीमाथि पर्नुहुँदैन। तर उनलाई यो पनि थाहा छ कि जबसम्म उनको आफ्नै जिन्दगीमा खुसी र उत्साहको सञ्चार हुँदैन, तबसम्म उनले आरुषीको जीवनमा खुसी, उमंग र उत्साह प्रवाह गर्न सक्दिनन्।
अरूको नजरमा नलिनी पुराना कुराहरू बिर्सेर अगाडि बढिसकेको देखिए पनि उनी स्वयंलाई थाहा छ, उनलाई अझै उनको अतीतले अल्झाइरहेको छ। दुनियाँलाई उनी ढाँट्न सक्छिन् तर आफैसँग झुट बोल्ने बानी छैन उनको। दस वर्ष पुराना घाउहरू, ती दिन, ती यादहरूले नलिनीलाई अझै छोडेको छैन।
विनोदसँग विवाह गर्नका लागि परिवारसँग गर्नुपरेको संघर्ष, परिवारबाट परित्याग, विवाह गरेको सुरुवाती समयमा आर्थिक समस्या, आरुषी गर्भमा रहँदा भएका शारीरिक र मानसिक अप्ठ्याराहरू र त्यस अप्ठ्यारो घडीमा नितान्त एक्लो आफू, आरुषीलाई हुर्काउँदाका संघर्षका दिनहरू र सोही बेला विनोदसँग बढ्दै गएका मतभिन्नताहरू, छोरी र करियरबिच समय बाँडफाँड गर्दाको गाह्रो, त्यति बेला उनी डिप्रेसन सम्मको सिकार भइन्।
त्यति बेला नलिनीलाई बाबाआमा र परिवारको निकै याद आउँथ्यो। उनले घरमा फोन पनि गरेकी थिइन्। तर बाबाले कुरा गर्न मानेनन्। बाबाको डरले आमाले पनि कुरा गरिनन्। एक्लोपन के हुन्छ भन्ने उनले त्यस बेला बुझेकी थिइन्। एक्लोपन भोगेकी थिइन्। बिस्तारै विनोदले काममा राम्रो गर्न थाले। आर्थिक स्थिरता आयो। आरुषी विद्यालय जान थालिसकेकी थिइन्। नलिनीले पुरानै अफिसमा फेरि काम सुरु गरिन्।
जिन्दगी त सहज भइसकेको थियो तर विनोद र नलिनी बिचको आत्मीयता र प्रेम रित्तिइसकेको थियो। रित्तो सम्बन्ध बोकिरहन दुवैले जरुरी ठानेनन्। सम्बन्धविच्छेद गरे पनि छोरीलाई हुर्काउन बढाउन आवश्यक आर्थिक सहयोग गर्न पछि परेनन् विनोद। छोरीलाई पिताको प्रेम र स्नेह दिइरहे। आफूले भोगेको एक्लोपन र विवशता आरुषीले भोग्नु नपरोस् भन्नेमा नलिनी पनि सचेत थिइन् र अहिले पनि छिन्।
यी सब कुराहरू बितेको दस वर्ष भइसक्यो। दस वर्षमा नलिनीले धेरै गुमाइन् तर धेरै थोक पाएकी पनि छिन्। उनीसँग खुसी हुनुपर्ने थुप्रै कारणहरू छन्। तर उनमा खुसीका रङहरू हेर्ने रहर नै बाँकी छैन। उनी बितिसकेको अतीतको दुःख मनाउ अहिलेसम्म गर्दैछिन्। नलिनी जतिको बुझ्ने मानिस पनि मनको मायाजालमा यसरी अल्झिन सक्छ भन्ने सत्य अहिले उनी स्वयं द्रष्टा भएर हेर्दैछिन्। नलिनीलाई आफैप्रति दया जागेर आउँछ।
केही अघिसम्म उनलाई उनी कमजोरबाट सबल बनिसकेको लाग्थ्यो। तर अहिले उनलाई उनी अझै कमजोर र बिचरा नै छिन् भन्ने लाग्न थालेको छ। एकछिनलाई उनी निराश हुन्छिन्। तर उनको राम्रो बानी के छ भने उनी धेरै बेर निराश भएर बस्दिनन्। आफ्नो कमजोरीको बोध हुनसाथ त्यस कमजोरीलाई सुधार्ने ऊर्जा कतैबाट स्वतः आइपुग्छ उनमा। नलिनीले आफैलाई भन्छिन्, ‘नलिनी, तिम्रो युद्ध तिमी आफैसँग छ। तिमीले दुनियाँलाई जित्नु छैन। न त दुनियाँलाई हराउनु छ। तिमीले आफैलाई हराउनु छ र आफैलाई जित्नु छ।’
उनी खाली भइसकेको कफीको कप उठाउँछिन् र मुस्कुराउँदै त्यहाँ लेखिएका हरफ मनमनै पढ्छिन्- आई विल विन, नट इमिडिएट्ली, बट डेफिनेट्ली।
मोबाइलमा ओपेरा विनफ्रीको प्रोग्राम बजाउँछिन्। उनी सम्झिन्छिन्, आज घरमा फूल पनि सजाउनु छ। भोलि अफिसबाट फर्किँदा गुलाबी रङको गुलाफको फूल लिएर आउने र अरू फूलसँगै फूलदानमा सजाउने विचार गर्दै उनी अर्को कप कफी तयार पार्न किचनतिर लाग्छिन्।