पाइताला खियाउँदै
असिनपसिन हुँदै
अवरोधका किल्ला र
निषेधका जन्जिर तोडेर
परम्पराका जाल र
सनातनताका निरन्तरता छोडेर
जरुरी छैन
तिमी सशरीर उपस्थित हुन।
सप्तरङ्गी इन्द्रधनुषको एउटा रङ
टिपेर म अनुभूत गर्न सक्छु
आकाशमा खेलिरहने उन्मुक्त बादलको
आकृतिभित्र म महसुस गर्न सक्छु
जरुरी छैन
तिमी सशरीर उपस्थित हुन।
आइरहन्छन्!
बतासका झोक्काहरू
रश्मिका तापहरू
त्यसै त्यसै काउकुती बोकेर
रुमानी धापहरू
म महसुस गर्न सक्छु
तिम्रो अलौकिक आगमन
जरुरी छैन
तिमी सशरीर उपस्थित हुन।
निशाचारको अन्धमण्डलमा पनि
उज्यालोको दूषित वायुमण्डलमा पनि
धमिला आकृति ठम्याउँदै
छैटौँ इन्द्रिय प्रज्वलित गरेर
प्रशोधित चित्रसँग
साक्षात्कार गर्न सक्छु
जरुरी छैन
तिमी सशरीर उपस्थित हुन!