मानिस सरेर यत्रतत्र जाला
आफ्नो ठाउँ छोडेर जाला
सभ्यता छोडेर कुनै अर्को रोज्ला
धर्म, लिङ्ग वा जात नै फेरिएला
कर्महीन होला, कर्मरूपी कहला
तर
मातृभाषा, अहँ पटक्कै बिर्सिँदैन।
भाषा चेतना हो, विवेक हो
यसैबाट त
नाता जोडिन्छ–तोडिन्छ
सम्बन्धहरू बुनिन्छन्, छुटिन्छन्
मन शान्त हुन्छ, क्लान्त हुन्छ
सम्भावनाहरू फराकिला र साँघुरा बन्छन्
एउटालाई विद्वान् र अर्कोलाई मूर्ख भाषाले नै बनाउँछ।
हाम्रो भाषा,
जो अनेकन् भाषामध्येको एक उत्कृष्ट भाषा
जहाँ संस्कृतका श्लोकहरूले मन आनन्दित पार्छ
यसका छन्दहरूले मनमा झन्कार पैदा गर्दछ
थरी–थरीका भाकाहरूले संसारको गीत गाउँछन्
मारुनीहरू यही भाषामा छमछमी नाचेर संसार हल्लाउँछन्।
हाम्रो भाषा
जसले बिहानै सूर्योदयसँगै विश्वलाई ‘नमस्कार’ गर्दछ
कोइलीले मिठो स्वरमा सङ्गीत भर्छिन्
भरिया दाइले सुसेल्दै जिन्दगीका गीत गाउँछन्
प्रेमिल जोडीहरू यसैमा झुम्छन्, चुम्छन् र मन मुग्ध हुन्छन्।
हो, यही भाषा
जसलाई चिनाउन वीपी, भूपी, लक्ष्मी अनि भानुहरूले जिन्दगी कटाए
सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे
अनि
अरनिकोहरूले संसारमा रङ्ग भरे।
हो, त्यही भाषा, हाम्रो नेपाली भाषा!
जसलाई अगाडि बढाउने जिम्मा हाम्रो काँधमा छ
चाहे सङ्ख्यामा कम होउँला हामी तर कदापि पछि नहटी
विश्वसामु सगरमाथा झैँ अटल शिर पारेर
गर्वले जय नेपाल भन्न सकौँ।