कुनै समय थियो
जहाँ पुस्तक थिएनन्
तर विचार थिए
श्रवण थिए, मनन थिए
जीवन बुझ्ने गुरुकुलका चौतारी थियो
ज्ञान ओर्लिन्थ्यो गुरुको मुखारविन्दबाट
चिन्तन पलाउँथ्यो शिष्यको मस्तिष्कझञ्झाबाट
शब्दहरू थिए गुरुको सत्वचन
अनुभवहरू थिए गुरु र शिष्यको सार्थक संवाद।
आज?
कम्प्युटर छ, च्याटबक्स छ, ईलाइब्रेरी छ—
तर अध्ययन छैन, अधैर्य मात्र छन् मनहरू
सारांशका नोट, गेसका पन्ना
ज्ञानको साटो केवल ’पास’ हुने प्रयास
विद्यालयका प्रांगण
ज्ञानको प्रयोगशाला होइनन्
परीक्षाको रणभूमि बनेका छन्
जहाँ रटन्ते सैनिकहरू
उत्तरको लागि लडिरहेछन्—
आफ्नै सोचको शव बोकेर।
शिक्षक?
सन्दर्भको स्रोत होइन
पाठ्यपुस्तकका बन्धक
विद्यार्थी?
सोध्ने होइन, सोधिने प्राणी
पढ्नेलाई उपहास
रट्नेलाई सम्मान।
कहाँ हरायो त्यो पुस्ता—
जो ज्ञान निर्माणमा गर्थ्यो साधना
कहाँ हरायो त्यो जिज्ञासा—
जो समाधानको लागि गर्थ्यो वन्दना।
अब त
फेसबुक छ— विचार छैन
गुगल छ— गहिराइ छैन
अनलाइन किताब छन्— तर मनमा विकृत विचार
गेस पेपर, गाइड, नक्कली लेखक र फोटोकपी ज्ञानको जालो—
पठन संस्कृति आफैमा अपहेलित
नातावाद, कृपावाद र पहुँचवादले।
तर,
अब पनि ढिलो भइसकेको छैन
ज्ञानको मूलमा फर्कनुपर्छ
सोध्न, बुझ्न, खोज्न, असहमत हुन सिक्नुपर्छ
कविता पढेर सोच्ने, इतिहास पढेर आकलन गर्ने
र विज्ञान पढेर बाँच्ने युग चाहिन्छ
पठन संस्कृति—
सृजनशीलता मात्र होइन
मानवता बचाउने हतियार पनि हो।
त्यसैले—
पढौँ, बुझौँ, गहिरियौँ
किनभने ज्ञानको उज्यालो बिना
हाम्रो समाजको आत्मा
अँध्यारोमा हराउँछ
र हामी गुलाम बन्छौ
कृत्रिम बौद्धिकताको।