सधैँझैँ समय बदलिँदै थियो, जीवनको गति पनि फेरिँदै थियो। दिनहुँजस्तै सामाजिक सञ्जालमा अपरिचित अनुहारहरू देखा पर्थे— कोही पुराना साथी, कोही सँगै पढेका, कोही कहिल्यै नदेखेका पनि थिए। ती सबैका माझ एक दिन एउटा नयाँ अनुहार देखा पऱ्यो।
म उसलाई चिन्दिनँ, झट्ट सम्झिन सक्दिनँ। न त ठाउँ न समय। हँसिलो अनुहार, गम्भीर नजर, गालामा हल्का डिम्पल सहितको मुस्कान।
‘कसरी मलाई साथीको लागि प्रस्ताव आयो होला?’ मनमा सोचेँ। तर त्यस दिन स्वीकृत गर्न मन लागेन। समयले पनि भन्यो, ‘नचिनेको हो, साथीको प्रस्तावको लिस्टमा बस्न दे।’ तर केही दिनमै अरू चिनिएका अनुहारहरूलाई स्वीकार गर्दा त्यही अनुहार फेरि देखा पऱ्यो। केही सोच्न नपाउँदै यो पल्ट भने स्वीकार गरेँ– मुस्कानले मन जितेछ, सायद।
समय बगिरहेको थियो। एक साँझ, म्यासेन्जरमा ट्याङ् म्यासेज आयो। मन चाहिँ अघिकै जस्तो भए पनि म नजानिँदो उत्सुकतामा थिएँ– को होला मलाई म्यासेज गर्ने त्यो? जब मोबाइल हेरेँ, त्यही अनुहारले सन्देश लेखेको रहेछ– ‘हाई’ मात्र। झट्ट सोचेँ– ‘कुरा गर्ने जस्तो लाग्दैन त!’ तर मनले भन्यो– ‘हजुर भन्न किन रोकिने?’ अनि मैले पनि लेखेँ– ‘हजुर।’
त्यसैबाट सुरु भयो हाम्रो संवाद। सामान्य कुराबाट गहिरो कुरासम्म। परिचय भयो, अनुभूति बाँडिन थालियो, बिस्तारै सम्बन्ध मित्रतामा फेरियो। मनमा अनायासै प्रश्न उठ्थ्यो– ‘कसरी यत्रो आत्मीयता बस्यो?’ शब्द भन्दा गहिरा थिए ती भावनाहरू। ती प्रत्येक सन्देशमा मिठास थियो, विश्वास थियो, र सायद माया पनि।
कहिल्यै खुलेर नबोले पनि, मैले आफैँसँग स्वीकार गरिसकेको थिएँ- ‘हो, म उहाँलाई मन पराउँछु।’ दिनहरू बित्दै गए। संवाद दैनिकी जस्तै भयो, चासो बढ्दै गयो। तर मनभित्र गहिरिएर बसिरहेको थियो एउटा चाहना– उहाँको मुखबाट पनि म माया गर्न थालेको छु भनेर बोलेको आवाज सुन्न तर त्यो दिन आएन। ती शब्दहरूले कहिल्यै प्राथमिकता पाएनन्।
मलाई लाग्थ्यो, छोरा मान्छे स्वार्थका लागि नजिक हुन्छन्। डिजिटल युगमा ‘हेलो हाई’ भनेकै नाममा मन पराउँछु भन्नेहरू धेरै भेटिन्छन् होला तर मैले त्यो शब्द उहाँबाट सुन्न र देख्न पाइनँ।
एक दिन मैले धेरै सोचेँ, मन थाम्न सकिनँ। हिम्मत जुटाएँ अनि मैले लेखेँ– ‘म तपाईंलाई माया गर्छु।’
त्यो शब्द लेख्न सजिलो थिएन। केटीको हिम्मत चाहिन्छ पहिलो पल्ट ‘म माया गर्छु’ भन्न। मनभित्र हिम्मत सङ्कलन गर्नुपर्यो। आशा थियो– उहाँले पनि केही भन्नुहुन्छ। तर त्यसको प्रतिक्रिया मौनताले बाँधिएको आयो।
जवाफमा उहाँले लेख्नुभयो– ‘के सबै सम्बन्ध अन्ततः बिहेमा पुग्नैपर्छ?’
त्यो प्रश्नले मलाई मौन बनायो। माया त सबैले गर्छन् तर कदर गर्न सक्ने हिम्मत थोरैले देखाउँछन्। मैले त मन दिएँ तर तिमीले मौनता मात्र फिर्ता गऱ्यौ। मैले तिमीलाई माया गर्दा न अपेक्षा थियो, न स्वार्थ। केवल विश्वास थियो– ‘साँचो माया फिर्ता आउँछ’ भनेर। तर तिमी मौन भयौ र म आफूलाई चुपचाप गुमाउँदै गएँ।
म जवाफ विहीन भएँ। मैले पनि एक मनले सोचेँ, के साँच्चै सम्बन्धको गन्तव्य विवाह मात्र हो? म केही क्षण शब्दविहीन भएँ। उत्तर दिन सकिनँ तर मन चिसिक्क भएको थियो, बिस्तारै गहिरो मौनतामा डुब्दै गएँ।
माया गर्नेहरू सधैँ जित्दैनन्, साँचो माया सधैँ पाउने भाग्य पनि हुँदैन। कहिलेकाहीँ मनले जति माया गरे पनि जीवनले त्यो सम्बन्धलाई ठाउँ दिँदैन। तर त्यसको अर्थ यो होइन कि त्यो माया कम थियो– त्यो त त्यति गहिरो थियो जसले अपेक्षा पनि गर्न सकेन। माया सधैँ साथ वा स्वीकृति खोज्दैन, कहिलेकाहीँ केवल याद बनेर पनि बाँच्छ, श्वाससँगै साँचिन्छ, मौनतामा रमाउँछ। प्रेम प्राप्ति होइन, अनुभूति हो। जो साँचो माया गर्छ, ऊ हार्दैन– ऊ त्यही माया बनेर बाँच्छ।
पछि फेरि लेखेँ– ‘के तपाईं साँच्चिकै विवाहित हुनुहुन्छ?’
उहाँको उत्तर झन् गहिरो थियो– ‘ए हजुर, सबै मानिस एउटै ओछ्यानमा सुत्दैमा श्रीमान–श्रीमती हुँदैनन्।’
त्यो वाक्य देख्न बित्तिकै मेरा आँखाबाट आँसु बग्यो। किन बग्यो, आफैँलाई थाहा थिएन। त्यो माया अस्वीकृत भएको पीडाले कि आशा र यथार्थबीचको टकरावले?
म शब्द विहीन भएँ। मलाई थाहा नै भएन कि मेरा आँसु बगेर गालासम्म पुग्यो। अनि आफैँलाई सम्हालेर लेखेँ– ‘साँच्चै हो, हरेक प्रस्ताव स्वीकार गर्नैपर्छ भन्ने त छैन। तर तिमीले त्यसलाई कुनै मूल्य दिएनौ। सायद नारीको माया अझै पनि अनदेखा, अनुत्तरित अनि अस्वीकारमै गुम्सिने विषय बनिरहन्छ। मैले प्रेम गरेँ, बोलेँ पनि तर उत्तर आएन कहिल्यै। के मेरो माया यति सस्तो थियो? कि जवाफ दिनुपर्ने जरुरी नै थिएन? हामी साथी थियौँ, साथी नै रहनेछौँ तर संवाद रोकिँदैन।’
त्यस दिनदेखि हाम्रो सम्बन्ध फेरि त्यही ‘साथी’मा सीमित रह्यो। तर त्यो ‘साथी’ अब पहिलेझैँ साधारण थिएन। त्यो सम्बन्धमा माया थियो– नबोलेको, नस्वीकारेको, न त अस्वीकृत। आज पनि म गहिरो सपनामा सोच्ने गर्छु–
के माया विवाहमा मात्र परिणत हुनुपर्छ?
के दुई जनाबीचको आत्मीयता, समझदारी र स्नेहले विवाहको नाम नपाए सम्बन्ध अपूर्ण हुन्छ?
म अब बुझ्न थालेकी छु– माया त सम्बन्धको नाम होइन, मनको अवस्था हो। कहिलेकाहीँ जुन मनले माया गर्छ, त्यसले अपेक्षा राख्दैन। सम्मान गर्छ, बुझ्न खोज्छ। कहिलेकाहीँ हाम्रा भावना न त परिणत हुन्छन्, न समाप्त। बस् जीवनको एउटा कुनामा मौन भएर बाँच्छन्– सम्झना जस्तो, श्वास जस्तो।
उहाँसँगको सम्बन्ध माया थियो तर शब्दमा उतार्न नसकिने माया। त्यो आत्मीयता, त्यो मौन संवाद, त्यो नबोलेकै तर अनुभूत गरिएकै स्नेह– जुन आज पनि हृदयभित्र कतै बाँचेको छ। सायद, माया भन्नु यही हो– मनले मनलाई छुनु। शब्दले होइन, मौनताले बुझ्नु। आँसुले होइन, नयन मिल्नुले बताइरहेको छ।
हामी सधैँ प्रेममा श्रीमान–श्रीमती बन्नु पर्दैन। कहिलेकाहीँ एउटा मित्रताको गहिराइमै यत्रो संसार लुकेको हुन्छ, जुन विवाहभन्दा पनि विशाल हुन्छ। म उहाँसँग प्रेममा थिएँ। आज पनि छु। तर त्यो प्रेम अब साँचिएको छैन– बाँचेको छ। मौन भएर, गहिरो भएर, सम्झनाको ओझेलमा बसेको छ। र म सन्तुष्ट छु– किनभने सबै प्रेमको गन्तव्य विवाह हुँदैन। कहिलेकाहीँ प्रेम, मित्रताको रूपमा नै दीर्घकालीन बन्छ।