‘मामु, किन जुनुले मलाई नचिनेझैँ गर्छे? मलाई कक्षामा जुनु असाध्यै मन पर्छ तर उनी मलाई बोल्नै रुचाउँदिनन्।’
छोरीको गुनासो सुनेर उनकी आमा करुणा छक्क परिन्।
‘कुन जुनु भनेकी? म त चिन्दिनँ,’ करुणाले थाहा नपाएझैँ गर्छिन्।
‘उही जुनु क्या, मसँगै पढ्ने केटी,’ छोरीले झर्किँदै उत्तर दिइन्।
‘किन के भयो र?’ करुणाले चासो राख्दै भनिन्।
‘मामु, हिजो जुनुसँगै खेल्न जाँदा तिनले वास्तै गरिनन्। खाली एक्लै खेल्छिन्। एक्लै हाँस्छिन्।’
छोरीको कुरा सुनेर करुणाले सम्झाउने पारामा भनिन्, ‘अनि के भयो त?’
‘तिनले आफ्नो खेलौना मलाई छुन पनि दिँदिनन्। मामु, गुरुआमालाई भनिस्यो न। म पनि जुनुसँग खेल्न पाऊँ?’ छोरीले गुनासो पोखिन्।
छोरी बाहिर खेल्न गइसकेपछि करुणाले छोरीको बुबा राजेशलाई छोरीको कुरा सुनाइन्। करुणाको शब्द भुईँमा झर्न पाएको थिएन, राजेशको मुहारमा निराशा छायो। राजेश जंगिहाले, ‘अझै स्कुलले जुनुलाई स्कुलबाट निकालेको रहेनछ। हाम्री छोरीलाई त्यस्तो सुस्त बच्चासँग नखेलाउन भनेको पनि मान्दै मान्दैनन्। भोलि स्कुलमा जानै पर्छ।’
नभन्दै राजेशले मोबाइलमा विद्यालयका प्रधानाध्यापकको नम्बर डायल गर्न भ्याइहाले।
‘नमस्कार, राजेशजी,’ फोनमा प्रधानाध्यापकको स्वर सुनियो।
राजेशले झर्कँदै भने, ‘नमस्कार सर। तपाईँले अझै जुनुलाई स्कुलबाट निकाल्नु भएको छैन? सुस्त बच्चासँग हाम्रो छोरीलाई पढाउने? हामीले त्यत्रो धेरै पैसा तिरेका छौँ। छोरीलाई त्यस्तो बच्चासँग राख्नु सही हुँदैन। भोलि हाम्रो छोरी पनि सुस्त भयो भने त्यसको जिम्मेवारी तपाईँले लिनुहुन्छ?’
विद्यालयका प्रधानाध्यापकले फोनमा शान्त भई सम्झाउन त खोजे तर राजेशले मान्दै मानेनन्। राजेशले स्कुलबाट छोरी निकाल्ने धम्की दिएपछि प्रधानाध्यापकको पनि केही सीप चलेन। अन्ततः जुनुलाई विद्यालयबाट निष्कासन गर्न प्रधानाध्यापक राजी भए।
उता सोही दिन जुनु चौरमा सधैँझैँ एक्लै खेल्दै थिइन्। उनी साथीहरूसँग खेल्न त चाहन्थिन् तापनि एक्लै थिइन्। कहिलेकाहीँ शरीरको सन्तुलन नमिल्दा लड्थिन्। उनी साथीहरूद्वारा उठाउने आशा राख्थिन्। तर कोही नआउँदा खिन्न हुन्थिन्।
‘म पनि त चाहन्छु, साथीभाइसँग खेल्न। तर किन कोही मसँग खेल्न चाहँदैनन् ? मेरो कुरा कसैले बुझ्दैनन्’ जुनु आफ्नो मनको भारी आफैँसँग बिसाउँथिन्। त्यसैले त उनी आफ्नै संसारमा हराएकी थिइन्। तिनले आफ्नो सुरुवाल मिलाए तर आफ्नो सुरुवाल भिजेको पनि पत्तै पाइनन्।
जुनुका आमाबुबाले जुनुको समस्याबारे पहिले नै अवगत गराएका थिए। विद्यालयमा राख्दा पढ्नै सकेकी थिइनन् तर साथीहरू घुलमिल हुन सिक्दै थिइन्। पढ्न नसके पनि आँखामा आँखा जुधाउन सक्ने भएकी थिइन्। साथीहरूको खेल हेरेर रमाउने भएकी थिइन्। कम बोल्थिन् तर आवश्यक शब्दहरू दोहोर्याएरै भए पनि भन्न सक्ने भएकी थिइन्।
जुनुकी आमा सुमना र बुबा अरुण छोरीको भविष्यबारे आशा भरोसाको त्यान्द्रो उन्दै थिए। जुनुको उपचार र विद्यालयबाट छोरीको सुधार हुने आशा गर्दै थिए।
त्यही बेला विद्यालयका प्रधानाध्यापकको फोन आयो। जुनुको बुबाले सोचे, शुल्कको कुरा होला। पैसा तिर्नुपर्ने बाँकी भएर बोलाएका होलान्। अर्को दिन उनी हतारिँदै विद्यालय पुगे।
टन्टलापुर घाम भएर पनि आकाशमा बादल लागेका थियो। त्यसैले होला खासै गर्मी थिएन। जुनु विद्यालयको चौरमा खेल्दै थिइन्। बाबालाई देखेर जुनु खुसी भई झुम्मिन आइन्। किनकि उनलाई बुझ्ने त उनकै बुबा अरुण मात्र थियो।
जुनुका बाबा अरुण प्रधानाध्यापकको कोठामा गए। संयोगवश प्रधानाध्यापक बाहिर जानुभएको रहेछ। उनले तिर्नुपर्ने शुल्क पनि तिरिहाले।
केही बेरमा विद्यालयका प्रधानाध्यापक पनि अफिसमा आइपुगे। उनको अनुहार अलि मलिन थियो। उनले सुरुमै भने, ‘हामीले सक्दो यत्न गर्यौँ तर अब सम्भव छैन। जुनुको पिसाब सम्बन्धी समस्याले कक्षा नै दुर्गन्धित भएको छ। अभिभावकहरू कराइरहेका छन्। हजुरले कुरा बुझिदिनु पर्यो। अब अर्का विकल्प सोच्नुहोला।’
अरुणको मन भारी भयो। उनी छानाबाट भुईँमा खसेझैँ भए। उनको निधारमा चिटचिट पसिना देखिन थाल्यो।
अब गर्ने के त? उनी निःशब्द भए। प्रधानाध्यापकले सम्झाउँदै सुस्त मनस्थितिका बालबालिकाका लागि छुट्टै विशेष विद्यालय सिफारिस गरे।
उता जुनु अझै चौरमा खेल्दै थिइन्। रमाएर उफ्रँदै थिइन्। उनलाई भित्र भइरहेको कुराकानीसँग केही पर्बाह थिएन। उनलाई त खेल्नु थियो, रमाउनु थियो, आफ्नै संसारमा बिलाउनु थियो। उनी चौरको चारैतिर गन्तव्यहीन यात्री भई दौडिरहेका थिए।
अरुणले जुनुलाई आफूतिर बोलाए। जुनु आउनै मानिरहेका थिएनन्। विद्यालयका शिक्षकले जुनुलाई समातेर अरुणलाई सुम्पिदिए। जुनुलाई खेल्न पुगेकै थिएन।
अन्तमा जुनुले आफ्नो थाहै नपाई अन्तिम हात हल्लाएर विद्यालयबाट सधैँका लागि बिदा भए। अरुणको आँखामा पिलपिल आँसु बगिरहेकै थियो। कता कता आँखाभरिका सपनाहरू पानीसँगै बिलाइरहेका थिए।
बाटोभरि जुनुकी आमालाई कसरी सम्झाउने होला भनी गम्दै गए।
घरमा पुग्दा छोरीको औषधी पनि सकेको रहेछ। किन्नलाई गोजीमा हात हाले, खल्ती खाली।
निन्याउरो मुहार लगाउँदै जुनुकी आमालाई पुलुक्क हेरे, मुखबाट कुनै शब्द निस्किएन। एक क्षण झोक्राएर बसे।
त्यति बेला जुनुले बाबालाई बेस्सरी अँगालिन् र आफूतिर तान्दै खितखिताउँदै गाउन थालिन्-
पानी मुनि माछा, पानी मुनि माछा पौडिरहेछ,
हेर न साथी, हेर न साथी समाउन मन लाग्छ।
जुनुको गीतमा मुस्कान थियो। जुनले बुबाको औँला समाउँदै गाएको त्यो गीतमा असीमित खुसी र अपनत्व थियो।
जुनुको बुबाको मन चाहिँ पानी बाहिरको माछोझैँ छटपटाइरहेको थियो। भोलि थेरापी पनि जानु थियो, गोजी खाली। आफ्नो आत्मसम्मान दाउमै राखेर भए पनि आफूले चिन्ने नजिकको औषधी पसलबाट औषधी उधारोमा लिएर आए।
औषधी लिएर फर्कँदै गर्दा सिमसिम पानी परिरहेको थियो। तर जुनुको बुबा अरुणलाई पानी परेको महसुस नै भएन, कारण उनी जुनुमै हराएका थिए।
बेलुकी मोबाइलमा इमेलको सूचना आयो-
तपाईँको सानो सहयोगले जिन्दगी बदल्न सक्छ। अटिजम कुनै रोग होइन, मानसिक अवस्था हो। जति सकिन्छ चाँडो बुझ्ने कोसिस गरौँ।
अरुणले दोहोर्याएर हेरे अनि लामो श्वास फेरे— एक सानो आशा उभिएछ।
हेर्दा नहेर्दै जुनुले बुबाको मोबाइल खोसिन् र बुबाको औँला तान्दै प्याट्रन लक खोल्न लगाइन्। खोल्ने बित्तिकै युट्युबमा अटिजमसम्बन्धी एक मर्मस्पर्शी ट्रेलर चल्न थाल्यो— रेन म्यान विथ टम क्रुज एन्ड डस्टिन होफम्यान।
संयोग हो या सन्देश अरुणले बुझ्नै सकेनन्। बाहिर चट्याङ परेको आवाज कोठासम्मै सुनियो। टिनको छानामा पानीले ड्रम पनि बजाउन थाल्यो। जुनु तर्सिएर अरुणसँग लपक्क टाँसिइन्।