छोरी सानी छन्
घर चिन्छिन् देश चिन्दिनन्
तर एउटा बाङ्गो इट्टाजस्तो आकृति बनाएर
'मेरो देश' लेख्न थालेको पनि वर्षौँ भइसकेछ।
मैले पनि के के गरिनँ र
छोरीलाई घरसँगै देश चिनाउन
तर छोरीले टिप्न सकिनन् वा मेरो कला पुगेन
छोरीले नाम त सम्झिइन् तर चिन्न सकिनन्।
‘बुद्ध जन्मेको देश हो, छोरी!
अहिंसा र शान्ति हाम्रो धर्म हो’
अहँ, छोरीले मानिनन्
भन्छिन्, मान्छेले मान्छेलाई नै किन मार्छन् त बाबा?
‘सगरमाथाको देश हो हाम्रो, छोरी!
अटल रहेर सधैँ हामीले शिखर छुनुपर्छ’
तर छोरीको प्रतिप्रश्नले झस्किन्छु
पुर्खाजस्तै वर्तमानका हामी नेपाली
सगरमाथाको चित्र पनि नदेखी मर्दा रहेछौँ।
‘नौ रङको रङ्गिन डाँफे चराको देश हो, छोरी!
जीवनका सबै रङ्ग देख्न हामी माथि-माथि उड्नुपर्छ’
राष्ट्रिय चरा अहिलेसम्म नदेखेको बाबु म
फेरि उत्तर दिन सक्दिनँ छोरीको प्रश्नमा
रङ बदलेर कि नबदलीकन, बाबा?
जमिन, जंगल, बाटोघाटो, चोक, पसल, बजार, स्कुल आदि त
देश जस्तै लाग्दैन छोरीलाई, के सोच्दछिन् कुन्नि?
सायद त्यहाँ आफूलाई पाउँदिनन् वा आफ्नोपन पाउँदिनन्
प्रश्नमाथि प्रश्न नै तेर्स्याउँछिन्
घरजस्तै देशको पनि नियम हुनुपर्दैन र?
अलि अलि चित्त बुझाएको एउटै कुरा छ छोरीले
झन्डा पार्कमा विशिष्ट आकार लिएर ठिङ्ग उभिएको
चन्द्र र सूर्य अंकित त्रिकोणात्मक रातो झन्डा
हो, यही झन्डा जस्तै हाम्रो देश पनि सबैभन्दा भिन्न छ, छोरी
यहाँका कुरा संसारमा देखिँदैनन्, संसारमा देखिएको यहाँ देखिँदैन!
देश चिनाउँदा मान्छे चिनाऊँ कि नचिनाऊँ
कसलाई चिनाऊँ कसलाई नचिनाऊँ?
फेरि अर्को प्रश्न गरिसकेकी छन्
‘अस्ति त्यस्तो बोल्ने को हो, बाबा?’
अब म के भन्दिऊँ?
यति निरीह कहिल्यै भएको थिइनँ।
छोरीले उत्तर फेरि खोज्ने छिन्, आज नभए भोलि
मैले उत्तर बनाउनु नै छ
‘यो लोकतन्त्र हो, छोरी
लोकतन्त्रमा बोल्न पाइन्छ, लाज नमानी
कर्म गर्न पाइन्छ, डर नमानी
न्याय र दण्ड त भगवानले मात्र दिन्छन्
ढिलो र चाँडो मात्र हो
भगवानसँग हामी सधैँ डराउनु पर्छ।’