उनी र म एउटै अपार्टमेन्टमा बस्थ्यौँ। दुवै एक्लै थियौँ। बिस्तारै हामीहरूबिच घनिष्ठता बढ्यो। दिनहरू सँगै बित्न थाले। मन–मुटु मिल्न थाल्यो।
म ४५ वर्षको थिएँ। बैंकमा काम गर्थेँ। ५ फिट ११ इन्च अग्लो गहुँ, गोरो र स्वस्थ शरीर भएको म एक्लै बस्न फ्ल्याट भाडामा लिएको थिएँ। मेरो अपार्टमेन्ट अगाडि एउटी महिला बस्थिन्। नाम थाहा थिएन, कहिल्यै कुराकानी पनि भएन।
झन्डै २ वर्ष बितिसकेको थियो। एक दिन संयोगले ती महिला म काम गर्ने बैंकमा खाता खोल्न आइन्। नागरिकता हेर्दा थाहा भयो, उनको नाम मञ्जु र उमेर ५० वर्ष।
मैले मुस्काउँदै भनेँ, ‘मञ्जु जी, खाता खोल्न त आज भइहाल्छ तर चेकबुक तयार हुन तीन दिन लाग्छ।’
तीन दिनपछि फोन गरेर मैले भनेँ- ‘तपाईंको चेकबुक तयार भयो।’
उनी चेक बुक लिन बैंकमा आइन्। त्यसपछि सामान्य कुराकानी भयो। मैले पहिलो पटक मञ्जुलाई नजिकबाट हेरेँ। चिटिक्क मिलेको शरीर र सुन्दर आँखा, नाम मञ्जु केवल देखिने सुन्दरता मात्र नभई व्यक्तित्वको समेत उज्यालो। चम्किला आँखा, शालीन, आकर्षित। मञ्जुको स्वर मधुर थियो अनि शब्दहरू संयमित थिए। मनमोहक, प्यारो वा रमाइलो नाम।
एक दिन साँझपख अफिसबाट फर्केर चिया बनाउन लाग्दा दूध फाट्यो। चिया पिउन मन लाग्यो। मैले मञ्जुको ढोका ढकढक्याएँ।
अवस्थाको बेलिबिस्तार लगाउँदै मैले सोधेँ- ‘थोरै दूध दिन सक्नुहुन्छ?’
मञ्जुले मुस्कुराउँदै भनिन्- ‘म चिया बनाउँदै छु, भित्र आउनुस्।’
भित्र गएपछि मैले देखेँ, फ्ल्याट सफा र सुन्दर थियो। भान्छामा एउटा महिला खाना बनाइरहेकी थिइन्।
मञ्जुले थपिन्- ‘उनी मेरी सहयोगी बैनी हुन्। म त केवल चिया मात्र बनाउँछु।’
चिया पिएपछि मैले प्रशंसा गर्दै धन्यवाद दिएँ र फर्किएँ।
एक हप्तापछि शनिवारको बिहानै मेरो ढोकामा घण्टी बज्यो। खोलेर हेरेँ, मञ्जु उभिएकी थिइन्। कमजोरी झल्किने थाकेको अनुहार थियो।
‘पदम जी, मेरो पेट खराब छ, बान्ता भइरहेको छ। अस्पताल लैजान सक्नुहुन्छ?’
मैले तुरुन्त उनलाई अस्पताल लगेँ। डाक्टरले भर्ना गर्नुपर्छ भने।
मैले मञ्जुलाई सोधेँ– ‘कसलाई खबर गर्नुपर्छ?’
मञ्जुले भनिन्- ‘यहाँ डाक्टर हुनुहुन्छ, तपाईं हुनुहुन्छ, अरू कसैलाई खबर गर्न पर्दैन।’
उनी तीन दिन अस्पतालमा बसिन्। पकाउने मञ्जुकी सहयोगी बहिनी भए पनि तीन दिनसम्म मैले उमालेको पानी र भातको जाउलो लिएर गएँ। धेरै समय अस्पतालमै बसेँ। कहिल्यै अनावश्यक स्पर्श नगरेर सम्मान जनाएँ।
डिस्चार्जको दिन मञ्जुले मलाई आफ्नै फ्ल्याटको चाबी दिइन्।
‘नीलो दराजमा सलवार–कुर्ता छ, ल्याइदिनुस्।’
म गएँ, दराज खोलेँ। ब्रा प्यान्टी पनि थियो। तर सोचेर त्यसलाई लगिनँ, केवल सलवार–कुर्ता लिएर गएँ।
मञ्जुले कपडा राख्दा ब्रा–प्यान्टी नभएको देखेर मुस्कुराइन्। उनको मप्रतिको सम्मान झनै बढ्यो।
त्यही बेला मञ्जुकी सहयोगी बिरामी परेर दुई दिनपछि मात्र फर्किन्। मैले दुई दिनसम्म खाना पकाएर मञ्जुलाई उनको कोठामा पुर्याइदिएँ।
मञ्जुले भनिन्- ‘तपाईंले बनाएको खाना मेरो मेडले बनाएको भन्दा मिठो छ।’
बिमारीले नजिक बनाएको सम्बन्धमा विश्वास थपियो।
मैले भनेँ– ‘उनीसँग डिभोर्स भइसकेपछि बनाउन सिकेको।’
मञ्जुले पनि पति बितिसकेको बताइन्।
डाक्टरले अब सबै खाना खान मिल्ने बताएको थियो। मैले मञ्जुलाई भनेँ- ‘अब तपाईंको स्वास्थ्य ठिक भयो। डाक्टरले मुख बार्न पर्दैन भनेका छन्। माछा मासु पकाएर खानुहोला।
उनले भनिन्– ‘मैले बनाउन लगाउँछु। रातको खाना मेरोमै खानुहोस्।’
त्यसपछि मैले प्रस्ताव राखेँ- ‘सँगै खाना खाने बानी नपारौँ होला। मेरो खाना बनाउने बानी बिग्रिन्छ फेरि।’
मञ्जुले मुस्कुराउँदै थपिन्– ‘खाना बनाउनै बहिनी छँदै छिन्। एउटै भान्सा गरौँ। त्यो बैनीको तलब र खानाको खर्च शेयर गरौँ न। मलाई पनि आर्थिक भार कम पर्छ, तपाईंको समयको पनि बचत हुन्छ।
मैले भनेँ– ‘हुनसक्छ! यो विषयमा बेलुका विस्तृतमा छलफल गरेर टुङ्गो लाउँला नि त।’
म अफिसबाट फर्केपछि बेलुका सँगै खाना खाँदै सल्लाह गर्यौँ। मेडको तलब अलिकति बढाइदिने। भान्साको खर्च र उनको तलब बराबर गर्ने।
उनले स्विकारिन्- ‘म पनि आधा खर्च दिनेछु। खाना पकाउने सँगसँगै मेषलाई मेरो कोठाहरू समेत सफा गर्न लगाउने सहमति भयो।
मेष नभएको बेला मञ्जु चिया बनाउँथिन्, मैले खाना पकाउँथेँ। छुट्टीको सिन प्रायः मैले ह्विस्की पिउँथेँ, त्यो पनि बन्द गरिदिएँ मञ्जुलाई असहज लाग्ला भनेर।
एक दिन मञ्जुले मेरो आलमारी सफा गरिन्, कपडा मिलाइन्, प्रेस गरेर राखिदिइन। आलमारीमा बोतल देखेर सोधिन्- ‘तपाईं ह्विस्की पिउनु हुन्छ?’
‘पहिले शनिवार मात्र पिउँथेँ, अब तपाईंलाई मन नपर्ला भनेर बन्द गरेको।’
‘मलाई कुनै आपत्ति छैन,’ मञ्जुले भनिन्, ‘पार्टीमा मैले पनि पिएकी छु।’
त्यो शनिवार दुवैले सँगै पेग बनायौँ, मञ्जुले सिगरेट निकालिन्।
‘साथीहरूको म्यारिज पार्टीमा पिउँथेँ,’ उनले भनिन्।
‘म पनि पार्टीमा पिउँछु,’ मैले सिगरेट सल्काउँदै भनेँ।
पिउँदै गर्दा मञ्जुले भनिन्, ‘अब तपाईंले मलाई तिमी भन्नू। औपचारिकता हुनु हुँदैन साथीबिच।’
मैले सहमति जनाएँ।
मैले आफ्नो जीवनका कथा सुनाएँ, प्रेमविहीन विवाह, छोरीको लागि गरेको बलिदान, अन्ततः सम्बन्धविच्छेद।
‘मैले मेरी छोरीलाई झगडालु बन्नबाट जोगाएँ, त्यो मेरो सबैभन्दा ठुलो सफलता हो।’
मञ्जुको पनि कथा कम पीडादायी थिएन। १९ वर्षमा विवाह, ७ वर्ष जेठा पति, व्यस्त जीवन, सम्पन्नता तर सन्तुष्टिको कमी। सपनाहरू अधूरा थिए; पतिको साथमा पानीपुरी खान जाने, रमाइलो गर्ने। ४८ वर्षमा पति बिते, २ महिनामा सासूको पनि निधन भयो। त्यसपछि उनी यो फ्ल्याटमा बस्न आएकी।
‘सपना अधूरा नै छन्,’ उनले भनिन्।
‘साथीहरूले पनि बोलाउँदैनन्,’ उनले थपिन्। बोल्दा आँखामा आँसु टलपलाएर खस्नै आँटेका थिए।
मैले जिस्काउने पारामा भनेँ- ‘उनीहरू तिमीलाई देखेर डराउँछन्। तिमी राम्री देखिन्छौ, कतै उनका श्रीमान् तिमीप्रति आकर्षित नहुन् भनेर!’
मञ्जु लजाउँदै बोलिन्- ‘ए! हो है!’
म पनि अलि गम्भीर बनेछु। बोली अड्किएर गला अवरुद्ध भयो।
त्यसपछि हाम्राे प्रेम जीवन सुरु भयो। सजग, समझदार, गहिरो मित्रताबाट विकसित परिपक्व प्रेम। जहाँ आदर थियो, अपनत्व थियो र अधूरा सपनाहरू पूरा गर्ने नयाँ सुरुवात थियो।