जति धेरै विकास हुन्छ
त्यति परिवार छुट्दै जान्छ
काम र सुविधाको खोजीमा
शिक्षाको खोजीमा
खोज्दै खोज्दै मानिस
गाउँबाट सहर
सहरबाट विदेश
जता जता विकास छ
त्यतै त्यतै
विकासमा पुग्न थाल्छ
आम्मै! ओहो! अचम्म मानेर
विकास हेर्न थाल्छ
विकासमा डुल्न थाल्छ
विकासमा रमाउन थाल्छ
विकासमा व्यस्त हुन थाल्छ
गाउँको खेतबारी बाँझै छोडी
बगाउँछ पसिना
विदेशको खेतबारीमा
सहरको स्कुल कलेज छोडी
पढ्न थाल्छ
विकासको हार्वर्ड, क्यामब्रिजमा
देशको बेरोजगारीबाट वाक्क भई
जता भेटिन्छ रोजगारी समाउँछ
विकासको माइक्रोसफ्ट गुगलमा
अनि बिर्सन्छ गाउँ
छोडिदिन्छ सहर
जेनतेन पुगेपछि विदेश
विकासको अवसर पाएपछि
छुट्छन् अनि परिवार
कोही कता कोही कता
शून्य शून्य हुन्छ घरबार
त्यसैले त
जति धेरै विकास हुन्छ
त्यति परिवार छुट्दै जान्छ।