जंगलमा गुराँसहरू फुलिरहेछन्
मयलका फूलहरूमा भुनभुनाइ रहेछन् मौरीहरू
चराहरू चिरबिराइरहेछन् यत्रतत्र
यताउति हेर्दै
मन यही सुन्दरतामा विचरण गरिरहेछ।
मन सुन्दरताको तीर्थयात्रामा निस्किएको हो
या त मनको थकान मेट्न
गुराँसको फेदमा बसेको हो
थाहा छैन
तर पनि प्रकृतिको छेउमा बसिरहँदा
हेरिरहँदा
हाँसिरहँदा
सुन्दरताको स्पर्श हृदय सम्मै फैलिएको हो।
गाउँको कुनै एक कुनाको एकान्तमा
एक कवि बोकिरहेछ प्रकृतिको सुन्दरतालाई
उसको विशाल हृदयमा
बुनिरहेछ बखानहरूको डोरी
विरासतदेखि भविष्यसम्मको स्वेर कल्पनामा!
सम्झिँदै आफ्नी प्रेमिकालाई
देखिरहेछ उसका आँखाहरूलाई गुराँसका फूलहरूमा
सुनिरहेछ कानले उसले फुसफुसाइरहने मधुर शब्दचित्रहरू
देखिरहेछ प्रेमको नक्सा
हृदयको क्यानभासमा।
बुढो मान्छे
जिम्मेवारीको जलनले फुलेका उसका सेता कपालहरू
हेर्दै मुस्कुराइरहेछन्
प्लमका फूलहरू खोजिरहेछन्
उसका आँखाहरूको एक नजर
वसन्तको बतासको वेगमा।