जब सपना, आशा, जीवन सबैतिरबाट आफू ध्वस्त भइन्छ, त्यतिखेर मात्र आफ्नो को रहेछ भन्ने चिनिन्छ। जब शैलेश अब आफ्नो मनको कुरो बुझ्ने कोही नभएको महसुस गर्थ्यो तब रत्नपार्कको बेन्चमा गएर एक्लै घोत्लिएर बस्थ्यो। मनमा धेरै कुरा खेल्थ्यो। शैलेश पनि मनलाई कुरा खेलाउन दिइरहन्थ्यो। किनकि उसले कानुनी लडाइँ त जितेको थियो तर जीवनमा नराम्ररी हारिसकेको थियो।
अदालतले शैलेश र नीलमको डिभोर्स भएको घोषणा गरिसकेको थियो। दुबै पक्षका वकिल सबभन्दा खुसी देखिन्थे। उनीहरूले हात मिलाएर बडो प्रसन्न मुद्रामा एकले अर्कोलाई बधाई दिए। फैसला सुन्न आएका नातागोताहरू पनि प्रसन्न मुद्रामा थिए। यस्तो लाग्थ्यो उनीहरूले जिते। उनीहरूलाई शैलेश र नीलमको जिन्दगी टुटेर उनीहरूको मनमा के बितिरहेछ त्यसको मतलब थिएन। शैलेश र नीलमको अनुहार फैसला सुन्नासाथ पूर्णिमाको उज्यालोबाट एकक्षणमै औँसीको अन्धकारमा परिणत भयो। दुबैको हृदयमा एक अनौठो कहिले विसेक नहुने दु:ख दुख्न थाल्यो।
कहिले नसोचेको नसम्झेको विचित्रको पल थियो। लामो सास लिएर असमन्जसमा परेर दुबैले एकअर्कालाई परैबाट भए पनि हेरिरहे। एक गहिरो हेराई। अत्यधिक पीडामा पनि प्रेम मिसिएको हेराई। शरीर छुट्टिए पनि आत्माले छुट्टिन नमानिरहेको हेराई। यस्तो लाग्थ्यो न त शैलेशले जित्यो न त नीलमले। उनीहरूको युगौँयुग सँगै बाँच्ने प्रेम भावना अदालतमा पुगेर टुङ्गिसकेको थियो। आफन्तहरूको चक्रव्यूँहमा फस्नाले आखिरमा एकअर्कासँग दुबै हारे। ती सँगसँगै बिताएका धेरै मीठा, केही तिता यादहरू सम्झनामा मात्र राखेर हारे।
बुवामुवाले कुलघरान, गोत्रजात, दशाग्रह सबै कुण्डली मिलाएर मागी विवाह गराइदिनुभएको थियो। बुवामुवाको आज्ञाकारी छोरो शैलेश। बुवामुवाको माया र सेवामा सधैं खटिरहने। हुकुम हुनासाथ जे पनि हुकुम शिरोपर गर्ने। भन्न त भनेको सुनेकी थिई नीलमले ‘बुहारी पनि छोरी सरह नै हो।’ त्यसैले त उनी आफ्नो माया गर्ने बुवाआमा सबै परिवार, बालकपनदेखि हुर्केको प्यारो घर, सँगै खेल्ने रमाउने साथीसंगी, सम्पूर्ण रमाइलोलाई नै छोडेर सरक्क लोग्नेको घर आएकी थिई। नौलो नयाँ परिवेशमा आफूलाई ढाल्दैढाल्दै जान, छोरी हुँदा पाएका माया ममता त्यागेर नीलम बुहारी बन्न आएकी थिई त्यही त्यस्तै पाउने आशा र भरोसामा।
तर शैलेशको बुवामुवाले पुरानो रूढीवादी विचार छोड्न सक्नुभएको थिएन। पुरानै चालचलनले हो कि किन हो मुवाले बुहारीलाई खुबै दल्नुहुन्थ्यो। उहाँहरूको बुहारी पनि कसैको छोरी हो भन्ने ज्ञान उहाँहरूमा पटक्कै थिएन। नीलम उहाँहरूले जे जे जस्तो जस्तो काम अह्राए पनि खुरूखुरू गर्थी। किनकी नीलम आफ्नो लोग्नेको बुवामुवा भनेर उहाँहरूको भित्रै मनदेखि आदर गर्थी। उहाँहरूलाई खुसी राख्न थकाइ लाग्यो भन्दिनथिई। मुवाले सिकाएबमोजिम राति नै उठेर नुहाइधुवाइ गर्थी। बढारकुँडार, लिपपोत, पकाउनेतुल्याउने, भाँडा माझेर आफू तयार भएर बैंकमा काम गर्न जान्थी। कामबाट फर्केपछि खाजा तयार गरी सबैलाई खुवाउथी। अनि रातिको भान्साको काम हुन्थ्यो। धन्धा सकिवरी सुत्न कोठामा जाँदा शैलेश आरामले सेलफोन हेरेर ढल्किरहेको हुन्थ्यो। एकदिन हैन दुई दिन हैन यो प्रत्येक दिनको क्रियाकलाप थियो। घडीको सुइँ सँगसँगै।
‘यसो अलिअलि काममा त हजुरले पनि सघाइदिए हुन्थ्यो नि’ भन्दै नीलम थाकेर लोथ भएको जिउलाई आराम दिलाउन शैलेशको छेउमा बस्थी।
‘अब छोरा मान्छेले घरको काम गर्यो भने बुवामुवाले पनि नामर्द भन्ने, समाजले पनि हेयको दृष्टिले हेर्ने’ शैलेशले मनमनै गुन्यो तर मुखले बोलेन। अनि नीलमको जिउ सुम्सुमाउँदै धेरै माया जतायो।
साँच्चै बुहारीलाई किन परिवार सरह नगरेको होला। नीलमले सबैलाई पहिले खुवाउनु पर्थ्यो। बिहानदेखि उभिएको उभियै भान्सामा कसलाई के चाहिन्छ थप्नुपर्थ्यो। सबैलाई खुवाएपछि जहिल्यै अन्तिममा खानुपर्थ्यो। त्यतिखेर प्राय: सबै खानेकुरा सकिसकेको हुन्थ्यो। मीठो मीठो तिहुन तरकारी त झन् कहिले बाँकी रहँदैनथ्यो। उनको पालामा सबै खानेकुरा सेलाइसकेको हुन्थ्यो। त्यतिखेर आफ्नो माइतमा बुवाआमालाई दङ्ग्याइ दङ्ग्याइ आन्नदले आफूलाई मनपर्ने मीठोमीठो खाएको याद आउँथ्यो। अनि आधी पेट नै खाएर एक्लै भान्सामा आँखाभरि आँसु लिई भाँडा माझिरहन्थी। घरिघरि शैलेश श्रीमतीको माया लागेर भान्सामा हेर्न आउँथ्यो। नीलमको आँसुले उसलाई पनि भित्री मनमा दु:ख्दथ्यो। तर आफ्नो बुवामुवासँग चुइँक्क बोल्न सक्दैनथ्यो। उसले बुवामुवालाई नीलमलाई परेको मारको यथार्थ बताउनै सक्दैनथ्यो। यसरी छोरोले केही नबोलिदिँदा त झन् नीलमलाई हेपेर दलेको दलै गर्नुहुन्थ्यो उहाँहरू।
आफ्नी छोरी बराबरकी उमेरकी बुहारीलाई ठूलै मान्छेलाई झैं कामको बोझमाथि बोझ थप्नुहुन्थ्यो। घरभरिको मैलो लुगा थुपारेको हुन्थ्यो। ती सबै नीलमले ने धुनुपर्थ्यो। त्यसमाथि तरकारी समान किन्न जानुपर्ने, बारी बगैँचामा काम गर्नुपर्ने। काम त कति हो कति। थपिएको थपियै हुन्थ्यो। तर जति गरे पनि उहाँहरू कहिल्यै नीलमले गरेको कामको सह्राहना गर्नुहुँदैन थियो। बुहारीको तारिफ कहिल्यै हुँदैनथ्यो। त्यसमाथि बुवामुवा चाहिँ बुहारीको काममा खोट लाउने, ठूलो स्वरले हकारेर बोल्ने, सधैं हैकम जमाउने मात्र गर्नुहुन्थ्यो। बिग्रेको नराम्रो जति बुहारीलाई दिने अनि राम्रो असल आफूहरू र छोरोलाई दिने गर्नुहुन्थ्यो।
बिहेपछि शैलेश र नीलम हनिमुन पनि जान पाएका थिएनन्। नीलमलाई कामबाट कहिल्यै फुर्सद हुँदैनथ्यो। उनी त घरको मेसिन मात्र हैन एआई नै भएकी थिइन्, शैलेशको बुवामुवाको लागि। भ्बाइस कमाण्ड गर्यो कि चलिहाल्नुपर्ने।
शैलेशले हनिमुन जाने कुरो बुवामुवालाई धेरै चोटि भनिसकेको थियो। तर मुवाले ‘अनि नीलम गएपछि घरको काम कल्ले गर्छ। हुँदैन।“ भनेर टारिदिनु हुन्थ्यो। अचाक्लि भएपछि शैलेशले जिद्दी गरेर हनिमुन पोखरा जान मिलायो। शैलेश र नीलम दुबैको अनुहारमा चहक आएको थियो। दुबै एकदम एक्साइटेड देखिन्थे। बसमा नीलम शैलेशसँग टाँसिएर बसेर घरमा खुलेर गर्न नसकेका कतिकति कुराहरु गरिरहन्थी। प्रेमपूर्वक यी नयाँ जोडी बात मारिरहन्थे। एकअर्काको स्पर्शमा रमाइरहन्थे। नीलमलाई बिहे गरेको महिनौँपछि बन्धनबाट खुला भएझैँ अनुभव भएको थियो।
उनीहरू होटलमा बसे। होटलमै शैलेशसँग कुरा गर्दै सँगसँगै बसेर खाँदा नीलमलाई कति रमाइलो लागेको थियो। फेवातालमा डुङ्गा चढे। तालमा माछापुच्छ्रे हिमालको छाया निकालेर श्रीमान श्रीमतीले पोज पोज दिएर धेरैचोटि सेल्फी खिचे। कतिचोटि लाइभ गरे। बल्ल नीलम र शैलेश लोग्ने स्वास्नी जस्तो भएर खुल्न पाए। रमाइलो गर्न पाए। दुई जना निस्फिक्री गिज्जिन पाए, दिल खोलेर हाँस्न पाए, माया गर्न पाए। भनूँ न त्यो प्रत्येक मीठो पलको जीवनमा स्वाद लिन पाए।
रमाइलो पोखरामा लोग्ने स्वानीले हरपल खुसी हुँदै असिम मायामा रसास्वादन गरेको प्रतिफल नीलमको बच्चा हुने भयो। त्यसपछि त बुवामुवा खुसी हुनुभयो। छोरा छोरा भन्ने हाम्रो समाज। मुवालाई छोरा नै चाहिएको थियो। नाति हुन्छ कि भन्ने आशाले मुवाले पनि नीलमलाई माया गरेको जस्तो गर्न थाल्नुभयो। तर त्यो माया धेरै दिनलाई रहेन। शैलेश र नीलमको छोरी जन्मिई। शैलेश र नीलम त खुब खुसी भएर छोरीलाई खेलाउँथे। तर मुवाको अनुहारमा खुसी देखिँदैनथ्यो। नाति नाति भन्ने मुवालाई नातिनी भएपछि त त्यस्तो भर्खरकी सुत्केरी भएकी नीलमलाई वास्तै गर्न छोड्नुभयो। मुवालाई यस्तो लाग्थ्यो नातिनीलाई जन्म दिएर नीलमले गल्ती गरी। अरूसँग कुरा गर्दा पनि ‘नाति हुन्छ भनेको, नातिनी पो भई’ भनेर भनेको सुन्दा नीलम बर! खिन्न मन पार्दथी। बररर आँसु झार्दथी। सुँक्क सुँक्क गर्दै हातले आँसु पुछ्थी।
न त सुत्केरी बुहारीको न त सानी भर्खर जन्मेकी नातिनीको, दुबैको स्याहार सुसारमा मुवाले अलिकति पनि ध्यान दिनुभएन। अझ पहिले जस्तै सम्पूर्ण काममा गराउन थाल्नुभयो। सुत्केरी शरीर कमजोर हुने नै भयो। धेरै काम र भरपेट तागतिलो खान नपाउनाले नीलमको पेट बेस्सरी दु:ख्थ्यो। हुँदाहुँदा पेटको अल्सर भयो। अनि त बेलाबेलामा बिरामी भई ओछ्यान नै पर्न थाली।
नीलमले शैलेशलाई आफ्नो पीडा सुनाई ‘अब छोरीको लागि भए पनि विचार गर्नुपर्छ। अन्तै डेरा लिएर बसौँ। दुई जना हुँदा आफ्नो हिसाबले गर्न पाइन्छ। अचाक्ली कामको बोझ हुँदैन। छोरी हुर्काउनलाई’ तागतिलो खान पनि पाइन्छ।’
शैलेशलाई पनि एकातिर नीलमको अर्कोतिर छोरीको अति नै माया लाग्थ्यो। ऊ के गर्ने के गर्ने केही मेसो नपाएर छक्क पर्थ्यो। उसले छोरीलाई काखमा राखेर मायाले हेरिरह्यो। नीलमको ढाडलाई पनि मायाले सहलाई रह्यो।
कति चोटि प्रयास गर्यो तर शैलेशले आफ्नो बुवामुवालाई डेरा लिएर बस्ने कुरा भन्न सकेन। छुट्टै बस्ने भनेपछि बुवामुवाले चित्त दु:खाउनुहोला भन्ने उसलाई लाग्थ्यो। जे भए पनि आफूलाई जन्म दिने बुवामुवा। उसलाई धेरै माया लाग्थ्यो।
नीलमको बुवामुवा परलोक भइसक्नु भएको थियो। माइतमा दाजुभाउजू हुनुहुन्थ्यो। नीलमले आफ्नो पीडा दाजुलाई सुनाई। दाजुले भाउजूसँग सल्लाह गरेर ‘अलि दिन माइतमै आएर बस्। आराम भएपछि बिरामी पनि बिसेक हुन्छ। कति दु:ख खेप्छेस्।’ भनेर आफ्नो घर लिएर जानुभयो। अलि दिन त नीलमलाई भाउजूले पनि चेपारो घसेर माया जताको जस्तो गर्नुहुन्थ्यो। ‘मैया, भुजा खान सवारी होइस्योस्। हजूर आराम गरेर बसिस्योस् अनि गाथमा आराम मिल्छ।’ भनेर बोलीले नै चिप्लो धस्नुहुन्थ्यो।
नीलमको भाउजू वकिल हुनुहुन्थ्यो। बिस्तारै बिस्तारै नीलमलाई फकाउँदै फकाउँदै शैलेशसँग डिभोर्स गर्ने सल्लाह दिन थाल्नुभयो।
‘त्यस्तो पनि भन्ने, ज्वाइँसाहेब त्यति जाति होइसिन्छ। दुबै जनालाई हामीले मिलाएर दुबै जना सँगै बस्ने पो अवस्था सिर्जना गर्नुपर्छ।’ नीलमको दाइले बैनीको मायाले भाउजूलाई सम्झाउनु हुन्थ्यो।
तर भाउजूलाई नन्दको के माया। उहाँलाई त नीलमलाई मुद्दा जिताएर, डिभोर्स गराएर, शैलेशको सम्पत्ति हत्याएर आफूले पनि कमिसनको भाग लिनुथियो। भाउजूको अगाडि दाइको केही लागेन। वकिल मान्छे दाइलाई त सजिलै टिप्पा लिएर बोल्नै दिनुहुन्नथियो।
शैलेश नीलमलाई लिन आउँदा पनि भाउजूले ‘छुट्टै डेरा लिएर बस्ने भए मेरो प्राणभन्दा पनि प्यारी नन्दलाई पठाउँछु नत्र भेट्न पाउनुहुन्न’ भनि बाहिरबाटै शैलेशलाई फर्कन बाध्य बनाउनुहुन्थ्यो।
उता शैलेश चाहिँ बुवामुवालाई छोडेर डेरा लिएर बस्न अप्ठ्यारो मानिरहेको थियो। यता मुवा पनि ‘त्यसलाई हामीले झन् त्यस्तो गरेको खुरूक्क माइत पो गएर बसी।‘ भन्दै उल्टै बुहारीलाई नै दोष दिएर छोरा र बुहारीबीच फाटो ल्याउने कोसिस गर्नुहुन्थ्यो।
आखिर भाउजू वकिल त पर्नुभयो। अनेक भाको नभाको कुरा सुनाएर डिभोर्सको दर्ता गराई फकाइफुल्याइ झुक्याएर नीलमलाई सही गर्न लगाउनु भयो। त्यसपछि फैसला भएर नीलम र शैलेशको डिभोर्स भयो।
त्यसपछि वकिलले पाउने आफ्नो फी पाएपछि र आफ्नो काम पूरा भएपछि त नीलम र नीलमको सानी छोरीसँग भाउजूलाई एलर्जी भएझैँ हुनथाल्यो। सधैँ वचन लाउनुहुन्थ्यो।
‘कतिदिन हामीले पाल्नु। अब आफ्नो बन्दोबस्त आफै गर्नू’ भनेर क्षुद्र वचन लाउनुहुन्थ्यो।
भाउजूले साह्रै नै हेला गर्नथाल्नु भयो। सासूले पहिले गरे जस्तै भाउजूले पनि घरको सबै काम गर्न लाउन थाल्नुभयो। त्यसभन्दा पनि उनीहरूलाई कहिले घरबाट लखेटौँ भन्नेमा भाउजूले अनेक प्रपंच रच्न थाल्नु भयो। नीलमलाई बिना कारण ठूलो स्वरले कराउने, बेइज्जत गर्ने, डिभोर्स भएको आइमाई भनी हेला गर्ने गर्न थाल्नु भयो। नीलमको दाजुलाई बहिनीको माया त लाग्थ्यो तर आफ्नी श्रीमतीसँग डर लाग्थ्यो। स्वास्नीको अगाडि बोल्नै सक्नुहुँदैनथ्यो।
सधैँ सधैको कचकचले नीलम वाक्क भएकी थिई। अन्तै डेरा लिएर बस्न डेरा खोज्दै थिई। तर तुरून्त डेरा पनि कहाँ पाइन्छ र! त्यसमाथि डिभोर्स भएकी एक्ली आइमाई भनेपछि डेरै दिँदैनथे।
भाउजूलाई नीलमको अनुहार देखेकी पारो चढेर रिस उठ्ने भयो। एकदिन दाजु अफिस गएको दिन वातावरण यस्तरी धमिलियो कि नन्दलाई ‘अब एकछिन यहाँ नबस, निक्लि हाल।’ भनेर भाउजूले घरदेखि निकालिदिनु भयो। नीलमको पोकोपन्तेरो पनि घर बाहिर हुर्याइ दिनुभयो। जसरी सासूलाई बुहारीको माया हुँदैन, त्यसरी भाउजूलाई नन्दको के माया? आफ्नो रगत नभएपछि।
नीलम सानी छोरीलाई च्यापेर, कुम्लो कुटुरो बोकेर पठाओ चढेर दिशाहीन गन्तव्यतिर लम्की।
‘हजुर कहाँ लगुँ, कहाँ लगुँ’ ड्राइभरले धेरै चोटि सोधेपछि पो ऊ झल्यास्स भई। नीलमलाई थाहा थिएन कहाँ जाने। शैलेशकहाँ जाउँ डिभोर्स भइसकेको छ। आफ्नो भन्ने बाँकी एक जना दाजु। तर भाउजूले नै यो हविगत बनाइदिनुभयो। उनको अब आफ्नो भन्ने, जाने ठाउँ कहीँ थिएन। उनलाई लाग्यो अब आफ्नो भन्ने नै यो संसारमा कोही छैन। अब सपना, आशा, जीवन सबैतिरबाट ऊ ध्वस्त भएकी थिइ। यतिखेर उनलाई उनको आफ्नो भन्ने कोही रहेनछ भन्ने थाहा भयो।
फेरि ड्राइभरले पटक पटक सोधेपछि ‘यहीँ रोकिदिनुस्’ भनेर छोरी च्यापेर नीलम ओर्ली। घरि कुम्लो कुटुरो घिसार्ने घरि छोरी सम्हाल्ने गर्दै यताउता हिँडिरही। अलिपर एउट बेन्च देखी। अनि गएर त्यही बेन्चमा खुइँया गरेर हरेस खाएर बसी। धेरैबेर यताउती हेरी।
‘अब के गर्ने! कसो गर्ने! राति बदमाश मान्छे आए भने के गर्ने! आफू मात्र भए पनि भागी, लुकेर जोगिन्थेँ, अब यो छोरीको के होला’ भनेर मनमनै आत्तिएर सोच्नथाली। अब त उसलाई आफूभन्दा पनि आफ्नो काखको छोरीलाई कसरी जोगाउने भन्ने चिन्ता लाग्न थाल्यो। छोरीको सानो कलिलो अनुहार हेर्दै आमाको ममताले लोतपोत भएर आँसु खसाल्दै रोइरही। धेरैबेर रोइरही।
झमक्क साँझ परेपछि उनलाई एकदम डर लाग्न थाल्यो। वरिपरिका मान्छे घट्दै घट्दै गए। बाटोमा कुद्ने गाडीहरू पनि पातलो हुँदै गए। सुनसान हुन थाल्यो। झ्याउँकिरी कराउन थाले। अँध्यारो बढ्दै गयो। परपर आकाशमा ताराहरू चम्केर मधुरो प्रकाश छर्न थाले।
त्यही सुनसानले डर लगाइरहेको बेला एकजना मान्छे जस्तो आकृति आएर अलिपर नजिकैको बेन्चमा बस्यो। नीलमले के रहेछ भनी ठम्याउन गहिरेर हेरी। त्यो त मान्छे नै पो रहेछ।
‘ला! अब के गर्ने, कता लुक्ने‘ नीलमको डरले ओठ सुक्यो। शरीरको रगत सुकेर फुङ्ग रङ्ग उड्यो। ऊ सातो उडेर डरले कालो नीलो भई। उसले ‘राम, राम’ भनेर छोरीलाई च्याप्प अँगाली। त्यो मान्छेले थाहा पाउला भनेर नहल्लिकन सास पनि रोकेर बसिरही। त्यो मान्छेले के थाहा पाउँदैन थियो र। त्यो त सुस्तरी सुस्तरी नीलम भएतिर लम्क्यो।
‘अब के होला, अब के होला’ भनी मन डराउँदा डराउँदै नीलमको त डरले होश हवास नै उड्यो। कहालिएर आँखा चिम्म गरी।
‘नीमल, तिमी यहाँ।’
नीलमलाई यो आवाज परिचित परिचित जस्तो लाग्यो। अनि कहालिन छोडी। यो सपना हो कि विपना हो जस्तो पनि लाग्यो। मनमा झिनो आस पलायो।
‘राम, राम,’ पुकार्दै सुस्तरि दुबै आँखा उघारी। उसलाई पत्यारै लागेन।
‘ए, हजुर। यति बेला यहाँ।’
‘हो। नीलम म तिम्रो मायाले, छोरीको मायाले सधैँ त्यही बेन्चमा त घोत्लिएर बस्छु। कति पटक तिमीलाई लिन आएँ। तिम्रो भाउजूले तिमीलाई भेट्नै दिनुभएन।’
अनि नीलमले दाजुभाउजूको घरबाट निस्केर कसरी त्यहाँ आउनु पर्यो भन्ने वृत्तान्त सुनाई। घरी रुँदै, घरि आँसु पुछ्दै। बोल्दाबोल्दै घरिघरि छोरीलाई अँगाल्थी। घरिघरि एकदम भक्कानिँदै रून्थी। अनि शैलेशले नजिकै बसेर खुब मायाले नीलमलाई अँगालिरह्यो। नीलमले पोखेका प्रत्येक दर्दभरि दु:खेसो मन दु:खाइ दु:खाइ सुनिरह्यो। उसको हृदय छियाछिया भएर दुबै आँखा रसाइरह्यो।
शैलेशले सानी छोरीलाई धेरैपछि देख्न पाएकोले छोरीलाई खुब मायाले हेरिरह्यो। त्यसपछि शैलेशले छोरीलाई काखमा लियो। अनि नीलम शैलेशको छातीमा टाँसिएर शैलेशको मायाको न्यानोमा लुटपुटिएर धेरैबेर रोइरही।
‘नीलम अब डेरा जाऊँ। अँध्यारो भइसक्यो। यहाँ डर हुन्छ।’ भनेर छोरी बोकेर शैलेश सामान घिसार्न थाल्यो।
‘कसको डेरा।’ नीलमले अचम्म मानेर सोधी।
‘मैले डेरा लिएको छु। डेरा लिएर तिमीलाई लिन कतिचोटी गएँ। तिम्री भाउजूले अब डिभोर्सको केश चलिसकेको छ। तपाईंले भेट्न पाउनुहुन्न भनेर तिमीसँग भेट्नै दिनुभएन।’ शैलेशले खुब दु:ख मानेर सुनायो।
त्यसपछि डेरा जाने भनेर नीलम आँसु पुछदै दङ्ग परी। डिभोर्स गरेकोमा नीलमलाई धेरै पछुतो लागेको थियो। शैलेश र नीलम शैलेशको डेरातिर लागे।
डेरामा पुगेपछि नीलम खुब रमाई। छोरीलाई दुध खुवाई। छोरी पनि आज बुवाआमा दुबैको मायाको न्यानो स्पर्श पाएर आनन्दले सुती। नीलम र शैलेश रातभरि माया गर्दै, एकले अर्कालाई भित्र हृदयदेखि नै प्रेमले व्याकुल भएर च्याप्प अँगाल्दै, गुनगुन कुरा गरिरहे। धेरैपछि उनीहरूको मनमा सन्तुष्टि छाएको थियो। परिवार एक भएको थियो। परिवारको महत्व बुझेका थिए। आफ्नो भन्ने त लोग्नेको स्वास्नी र स्वास्नीको लोग्ने मात्र पो रहेछ भन्ने ज्ञात भएको थियो।
यसरी कैयौं महिनापछि पुन: मीठो माया र रमाइला रहरहरू सारफेर गर्दागर्दै उनीहरू बिहानै कतिखेर हो भुसुक्कै मस्त निदाएछन्। एक अर्काको अँगालोमा बाँधिएर।
अब भोलि शैलेश र नीलम पुन: विवाह दर्ता गर्न जाँदैछन्। त्यही नजिकैको कार्यालयमा।