राम्रोलाई नराम्रो देखिदिन्छन्
नराम्रोलाई राम्रो देखिदिन्छन्
आफैमा भ्रम सिर्जना गरिदिन्छन्
दोषी छन् आफ्नै आँखाहरू।
आकाश हेर्छन् कल्पिदिन्छन्
कल्पनामा क्रमशः घुमाइरहन्छन्
सत्यलाई असत्य देखिदिन्छन्
असत्यलाई सत्य देखिदिन्छन्
समयलाई भ्रम सिर्जना गरिदिन्छन्
दोषी छन् समयका आँखाहरू।
चन्द्रमा सँगसँगै रोइदिन्छन्
आँसुहरू आफैमा लुकाइदिन्छन्
भ्रम सिर्जना गरिदिन्छन् आफैमा
दुखभित्र जीवन देखाइरहन्छन्
सुखलाई बहाना बनाइरहन्छन्
दोषी छन् आँसुहरूका आँखाहरू।
समयलाई झुक्काई झुक्काई
समयमै द्वन्द्व सृजना गरिरहन्छन्
आफ्नै जालो आफै बनाइरहन्छन्
जालो भित्र व्यथाहरू बनाइरहन्छन्
व्यथाहरूमा जीवन बुनिरहन्छन्
दोषी छन् जीवनका आँखाहरू।
आफ्नाहरू मात्र देख्छन्
आफ्नाहरू मात्र बनाउँछन्
विभेद सृजना गरिरहन्छन्
समाजमा स्वार्थ बनाइरहन्छन्
स्वाभिमानलाई घोकाइरहन्छन्
दोषी छन् समाजका आँखाहरू।