आउन त आउँछौ तिमी
कोही उपहार बोकेर सस्तोमस्तो
कोही लन्ठङ लन्ठङ
रित्तो हात हल्लाएर
कस्तो हौ? जस्तो हौ
हुन त हौ पाहुना
तिम्रो खातिरदारीमा
कति कति मेरो समय खायो
सेवामा तिमीसँगै दौडँदादौडँदै
कति कति खर्च सकिएर गयो
भैगो जे भए पनि
हुन त हौ पाहुना
तिम्रो सत्कार गर्नै पर्ने ठानेर
बिन्ती बिसाइ कति छुट्टी लिएँ
आराम माया मारेँ, निद्रा हराएँ
भई नभई विशेष मिठो-मिठो ख्वाएँ
जसो त्यसो जे होस्
हुन त हौ पाहुना
तिमीले घुमाउन लग भन्दा
नाइँ भन्न मैले नसक्ने
तिमीले सामान छानेर ङिच्च हाँस्दा
क्रेडिट कार्ड मैले घोट्नु पर्ने
महँगो ब्रान्डेड जस्तो किने नि
हुन त हौ पाहुना
तिम्रो कुरामा उत्साह नभए नि
होमा हो मिलाएर सुनिदिनु पर्ने
आफूलाई परेको कष्ट खपी खपी
तिमीलाई हरपल खुसी पारिराख्नु पर्ने
के हो? के हो? अतिथि देवो भव:
हुन त हौ पाहुना
लिन जाऊ छोड्न जाऊ
फुटेको कौडी खर्च नगर्ने
आफ्नै बख्यान आफ्नै फुर्ती
उपरखुट्टी लाएर फुलेर बस्ने
कुनै जुनीको ऋण नखाए पनि
हुन त हौ पाहुना
पाहुना रहुन्जेल हुन्छौ
आफ्नै जस्तै साख्य
बिदा भई गएपछि
एक चोटि फर्केर नहेर्ने
लाए जति सबै गुण बिर्से पनि
हुन त हौ पाहुना
तिमीलाई फेरि आउन परे
घरीघरी कन्ट्याक्ट गर्ने
न स्थिति न बेला मनै नलागी
‘हुन्छ आऊ न त’ भन्नु पर्ने
समय बेसमय टुप्लुक्क टुप्लुकिने
हुन त हौ पाहुना।