कविता
क्षितिजमा हेरेर कल्पना गरेका सपनाहरू
यथार्थमा असरल्ल परेर आफैलाई घुमाइदिन्छन्
र पनि त मान्छे हुँ म तिमीलाई हेरेर बाँचिदिन्छु।।
आँखाहरू हेरेर कल्पना गरेका जीवनहरू
यथार्थमा विषाक्त भई आँसु बनी बगिदिन्छन्
र पनि त मान्छे हुँ म आँसु पिएर बाँचिदिन्छु।।
खुट्टाहरू हेरेर कल्पना गरेका गोरेटोहरू
यथार्थमा अनेकौं काँडाहरू बनेर घोचिरहन्छन्
र पनि त मान्छे हुँ म त्यही गोरेटोहरूमा बाँचिदिन्छु।।
हातहरू बुझेर कल्पना गरेका विश्वासहरू
यथार्थमा आफैलाई प्रतिघात बनेर आइदिन्छन्
र पनि त मान्छे हुँ म हातहरू बुनेर बाँचिदिन्छु।।
भाकाहरू बुझेर कल्पना गरेका गीतहरू
यथार्थमा आफैलाई सम्झाउने कथा बनिदिन्छन्
र पनि त मान्छे हुँ म गीतहरू संगालेर बाँचिदिन्छु।।
सपनाहरू संगालेर जीवन कोरेका डोबहरू
यथार्थमा सियो बनी मुटुलाई घोचिरहन्छन्
र पनि त मान्छे हुँ म अधुरा डोबहरू बोकेर बाँचिदिन्छु।।
मान्छे जस्तै बनेर बुनेका सपनाका महलहरू
यथार्थमा आफैलाई क्रमशः चपाइ रहन्छन्
र पनि त मान्छे हुँ म उस्तै बनेर बाँचिदिन्छु।।