कविता
सपनाहरू!
केही म आफैंले देखेका,
केही माता पिताले सजाएका,
प्यारा सपनाहरू मेरा जिन्दगीका।
जीवन यात्रामा
संघर्षका कैयौँ कठिन रातहरूले
खुसीको एउटा बिहानीसम्म नभेटेपछि
मेरा तिनै सपनाहरू
बाका आँखाबाट रसाउन थालेका थिए
पछि आमाको मुटुमा पनि ती गाँठो पर्दै गए
हुँदा हुँदै मेरै आफ्नै छातीमा छुरा झैं धसिए।
सहँदै जानु थियो
एउटा रूग्ण आशामा अल्झिनु थियो।
यही मेसोमा
नियतिको कुटिलताले मलाई
शकुनीहरूको दैलो दैला सम्म पुर्यायो
दया र करूणाको अनन्य भिखारी बनायो
स्खलित स्वाभिमानले मरेतुल्य बनायो
पर्खंदै जानु थियो
एउटा रूग्ण आशामा अल्झिनु थियो।
तर जब एक दिन
श्रीमतीको फाटेको धोतीमा
मेरो निकम्मा पुरूषार्थ बिम्ब देखियो
दमले सिकिस्त आमाले
खोकेको आवाजले आफ्नै छाती चर्कियो
अनि
बाले सुटुक्क झारेका आँसुले
म बाँचेको सार माथि नै प्रश्न उठायो
तब बाँकी रहेन केही
मेरा सबै
धैर्यताका सिमानाहरू मेटिए
आशाका त्यान्द्राहरू पनि चुँडिए
र
त्यही
रातको अन्तिम प्रहर
धरतीमा उज्यालो नपोखिँदै
मैले
पढेर आर्जेका
कागजका अर्थहीन खोस्टाहरू
सप्तकोशी नदीको भेलमा बगाएँ
अनि बगाएँ त्यसैमा
जिन्दगीका सबै अभागी सपनाहरू पनि !
व्यथित भएँ!
लाचार भएँ!
भावहीन भएँ!
अनि
असीम वेदना बोकेर
भासिएँ म खाडीको मरूभूमिमा
बाँच्ने र बचाउने
एउटा निश्छल र सार्थक विपनाको लागि।।।