कविता
आफैंलाई खोज्दा-खोज्दै
आफैं भित्र पो हराएछु
आफ्नामात्र खोज्दा-खोज्दै
आफ्नै भित्र पो हराएछु
सुखहरू खोज्दा-खोज्दै
पीडाहरूको भारी बोकेछु।
आफैंभित्र आफ्नै यात्रा
शून्यतामा खोज्दै छु
आफैं भित्र आफ्नै कथा
मनभरी लेख्दै छु
आफैंलाई खोज्दा खोज्दै
आफैं भित्र पो हराएछु
खुसीहरू खोज्दा खोज्दै
पीडाहरूको भारी बोकेछु।
कसलाई लिनु कसलाई छोड्नु
आफैं भित्र आफ्नै व्यथाहरू
नअटाउने गरी उम्लिरहन्छन्
कस्को व्यथामा कथा लेखौं
आफ्नै कथाहरू आफैंमाथि
अनेकौं रूपमा अड्किरहन्छन्
खुसीहरू खोज्दा-खोज्दै
पीडाहरूको भारी बोकेछु।
अरू कसैलाई खोज्दा खोज्दै
आफूले आफैंलाई भुलिसकेछु
अरू कसैको सिको गर्दा गर्दै
आफ्नो आदर्श भुलिसकेछु
आफूलाई खोज्दा खोज्दै
अरू कसैमा हराइसकेछु
खुसीहरू खोज्दा खोज्दै
पीडाहरूको भारी बोकेछु।
जीवनलाई आफ्नै यात्रा भित्र
अनेकौं कथामा मिलाउन खोज्छु
जीवनलाई आफ्नै व्यथा भित्र
अनेकौं मोडमा मिलाउन खोज्छु
मनहरू घरि घरि दुखिरहन्छन्
अनेक रूपमा आफैं माथि
खुसीहरू खोज्दा खोज्दै
पीडाहरूको भारी बोकेछु।
आफैं भित्र अनेकौं रूपहरूमा
आफैंलाई विभाजन गर्छु
यता दिन्छु उता लिन्छु
उचाइलाई मिलाउन खोज्छु
कोही कथामा आउन खोज्छन्
कोही कथाबाट भाग्न खोज्छन्
बीचमा म जीवन खोजिरहन्छु
खुसीहरू खोज्दा खोज्दै
पीडाहरूको भारी बोकेछु।