भदाको बिहे छ। सबै दिदीबहिनी माइती घरमा जम्मा भएका छन्। निकै मन थियो। मलाई पनि बिहेमा जान। तर अशक्त सासूको सेवामा खटिनुपर्यो। सम्भव भएन।
आफ्नो रहर र इच्छाहरूलाई मार्दै कर्तव्यको भारीले थिचेको मन लिएर उदास र हतास हुँदै ओछ्यानमा खुइय सुस्केरोसँगै गहिरो सोचमा डुबेँ।
दिदीबहिनीलाई कस्तो मस्ती छ। कति स्वतन्त्र छन्। जतासुकै जान पाएका छन्। देश, विदेश, बिहे, ब्रतबन्ध, पिकनिक नपुगेको ठाउँ छैन।
कुनै कार्यक्रम छोड्दैनन्। आफूलाई भने कहिल्यै फुर्सद भएन।
(मोबाइल चलाउनु पर्यो बरू) आजको फोटो पनि हालिसकेछन्। कहिलेकाहीँ त डाहा नै लाग्छ। राम्रा पनि कति साह्रै देखिएका। आम्मामा ! साइपाटो पनि एघार वटा लगेछन्!
फोटो जूम गरेरै हेर्छु। पहिरन पनि कति सुहाउँदो लगाएका। आफू भने उमेरै नपुगी बूढी भएँ। सबै जना उमेरभन्दा दस वर्ष कान्छा जस्ता देखिएका छन्।
म भने उमेरभन्दा पनि दस वर्ष बढी नै देखिन्छु।
ऐना नजिकै गएर अनुहार नियाल्छु। फुस्रो र चाया आएको गाला हेर्दै दिक्क मानेका आँखाले आफैंलाई हेरेर, आफैंसँग बोल्न पुग्छु।
मेरोजस्तो जीवन भोग्नु परेको भए देख्थे बाउको बिहे!
भन्छन् पनि फेरि- तैंले जस्तो त हामी गर्न सक्दैनौं, बाबै! तैंले जस्तो गर्नुपर्यो भने त, हामी पागलै हुने थियौं।
बौलाएर समस्याको समाधान हुन्छ र ? परेपछि शक्ति आफैं आउँदो रहेछ। जिम्मेवारी निभाएकाहरूले मात्र बुझ्छन् यो पीडा। भुक्तभोगी नहुनेहरू त खोक्रो आदर्श मात्र छाँट्छन्।
सात वर्षसम्म ससुरा बाको गुहुमुत ओछ्यानमा सोहोरेँ। के गरिनँ मैले ? सेवाको मौका हो भन्दै आफूलाई सान्त्वना दिन्थें!
कति अप्ठ्यारा दिनहरू आए भनेर साध्य छैन। दु:ख पो देखाउँदिनँ त! दु:ख त कति छन् कति गनेर सकिँदैन।
दु:ख हुनु र दुखी हुनु फरक रहेछ। म दु:ख भएर पनि दुखी नहुने मान्छे परेछु!
जेठी बुहारी परेंँ ,कसलाई देखाउनु दु:ख! ससुरा बिरामी हुँदा नर्स राख्न सल्लाह दिनेको कमी थिएन। खर्च कसरी पुग्थ्यो कसलाई सुनाउनु।
के भाको होला मरिगए निन्द्रा लाग्दैन। कि मलाई तनाव छ भित्रभित्र?
पीडा कसैलाई पोख्दिनँ, सबैको अगाडि हाँस्छु, खुसी छु, दु:ख छैन् त भन्छु। तर मलाई भित्र किन यस्तो छट्पटी हुन थालेको हो? निन्द्रा लाग्न छोडेको पनि निकै दिन भयो। हे प्रभु! बाटो देखाऊ।
सबै कुरा बुझ्दाबुझ्दै पनि किन यस्तो औडाहा भएको।
छिमेकीको घरमा अस्ति दाजुभाइको लडाइँ नै भयो। बाँचुञ्जेल फर्केर कोही आएनन् रे।
मरेपछि डोकोजत्रो मुख बाउँदै आएका दाजुभाइलाई लाससम्म छुन दिएनन्। ती छिमेकी भन्दै थिए।
‘जिन्दगीभर सेवा मैले गरेँ किरिया पनि मै गर्छु। बाआमा गुमुतमा डुबेर बस्दा पर्यटक बनेर आउँथे। गन्द सहन नसकेर लजमा गएर बस्थे। उनीहरूलाई गनाउने, के मलाई चाहिँ बास्ना आउँथ्यो? उही सन्तान होइन? कोही चाहिँदैन,बाबै। दागबत्ती पनि म आफैं दिन्छु’, रन्किँदै थिए ।
ती दाइको दु:ख साँच्चै मैले पनि देखेको थिएँ।
गाई र माईको गुमुत एकै थियो। मलाई पनि चित्त बुझ्यो। सद्दे बुढाबूढीको सेवा गर्न त मान्छेहरूलाई हम्मेहम्मे पर्छ। अझ थला परेर वर्षौं ओछ्यान परेको घरमा कस्तो वातावरण हुन्छ होला। भोग्नेलाई मात्र थाहा हुन्छ। दाजुभाइ भएकाहरूले त्यो पीडा बुझ्नुपर्छ नि!
एउटामात्र सन्तान हुने को त कुरै भएन, मनोविज्ञान नै फरक हुन्छ सबैको।
अप्ठ्यारो अवस्थामा जिम्मेवारी लिन किन गाह्रो भएको होला सबैलाई? मर्दापर्दा मात्र हो त आफ्नो चाहिने? प्रतिकूल अवस्थामा सबैले पालो दिनुपर्छ नि। अनि पो भाइचाराको महत्व हुन्छ त।
यस्तै पारिवारिक समस्याले गर्दा होला दाजुभाइबीच हिजोआज मनमुटाव बढेको पनि।
होइन सरकारले पनि बाध्यकारी नियम नै बनादिए हुने बरू।
बाआमाको अंश खान चाहिँ जहाँ भए पनि आइपुग्छन् त! बरू केही नहुनेले बाआमाको राम्रोसँग सेवा गरेका छन्। सम्पत्ति हुनेले त जोखेका हुन्छन् सम्पत्ति र बाआमालाई।
तर धेरै सन्तान हुनेले पालैपालो बाआमाको सेवा गर्नुपर्ने हो। अनि जहाँ भए पनि अनिवार्य बाआमासंँग बस्नैपर्ने नियम भैदिए कस्तो हुन्थ्यो?
बाआमाको सेवामा पनि प्रभावकारिता र जवाफदेहिताको नियम लगाउनुपर्ने बरू।
जसका धेरै सन्तान छन् त्यस्तै अभिभावक वृद्धाश्रम पुगेको घटना सुन्नु परेको छ। साँच्चै पुरानो संस्कार परिवर्तन गर्न सके वृद्ध बाआमाले वृद्धाश्रम जानुपर्ने पो थिएन कि?
(निद्रा लागेन फेरि मोबाइल हेर्छु) भगवान! यी आँखाले पनि के/के देख्नु परेको। बाँचेको भए त सुनको तारा नै खसाल्थ्यौंझैं गरेका छन् त, हो गाँठे! लु हेर! फेसबुकमा फोटो हालेर उधुम नै गरेछन् ती छिमेकीका दाजुभाइले।
बाँचुन्जेल एक कल फोन पनि नगर्ने सन्तानहरूले मरेपछि ‘मिस यु ::मिस यु ::’ भन्दै फेसबुके माया पोस्ट्याएको देख्दा वाक्क लाग्छ।
(ऐना अगाडि उभिँदै) गाला पनि चाउरी पर्न आँटी सक्यो। कपाल पनि सेताम्य भैसक्यो। किताब पढ्न खोज्यो आँखा धमिला हुन्छन्। चस्मा खोज्नुपर्छ।
हे भगवान ! धेरैबेर उभिएर काम गर्नु हुँदैन। पिटिक्कै भाँचिएलाझैं हुन्छ यो कम्मर आज पनि दुखेर उल्का ( कम्मरमा दल्नु पर्यो ) खोइ कहिले आउला मेरो दिन।
बिहे गरेर भित्रिएको दिनदेखि यही छ चाला। उबेला घुम्न जान्छु साथीहरूसंँग भन्दा बिहेपछि घुम्लिस् तेरै पोइसँग भन्नुहुन्थ्यो हजुरआमाले।
पच्चिस वर्ष भयो यही घरमा फन्नफनी घुमेको। कस्तो घुमाई हो, कहिल्यै नसकिने। बाहिरको संसार त ‘आँखाको फल आँखा तरि मर’, नै भयो।
अब त आश पनि मरिसक्यो। फोटो खिच्दा पनि चाउरी परेको अनुहार। जोडले हाँस्दा पनि बत्तीस मुजा परेको गाला र थितरा दाँत देखिन्छ कि भनेर हातले मुख छोप्नु पर्छ। गएछ बाबै! अब फोटो खिच्ने दिन पनि।
(घडी हेर्दै ) एघार बजिसक्यो निन्द्रा लाग्दैन त! उफ! आहा ! चन्दाका दिदी बहिनी कति भाग्यमानी। समझदार छोरा बुहारी र विवेकी सासूससुरा हुँदा त्यो परिवार कस्तो आदर्श छ।
दिदीबहिनीझैं छन् देउरानी जेठानी। कति मिलेका हुन्। घरको समस्या देउरानी जेठानी मिलेर समाधान गर्छन् रे। दाजुभाइको कानमा त सानातिना कुरै पर्न दिँदैनन् रे। निकै जटिल समस्या भयो भने मात्र सल्लाह गर्छन् रे।
पुरानो पुस्ता भएर पनि समयको मागलाई कति बुझेका हुन् चन्दाका सासूससुराले।
के पढ्नु पर्दो रहेछ र? ज्ञान त आफ्नै भित्रको खजाना हो भन्थे हो रहेछ। पालैपालो दुई दिदीबहिनी मिलेर आमाबाको सेवा गरेका छन्। सबैले जिम्मेवारी लिँदा सबैलाई सजिलो भएको छ। सबै स्वतन्त्र हुन पाउने। सबभन्दा ठूलो सम्पत्ति त समय रहेछ। समयमा खान,लाउन र घुम्न पाउँदा पो कसैलाई तनाव हुँदैन।
भन्नेले त भन्छन् - आफ्नो सुत्ने ओछ्यान नछोड्नु। बिरालोले झैं डेरा नसार्नु, एकै ठाउँमा दीगो भएर बस्नु। हाम्रो संस्कार नै यही छ। कसलाई दोष दिने? अब परिवर्तनको साँच्चै जरूरी छ।
अस्ति भर्खर मनोविश्लेषकले भन्दै थिए। हिजोआज बुढाबूढीहरू धेरै डिप्रेसनको शिकार भएका छन्।
हतास, उदास र निरास हुने समस्या बढ्दो छ। जिन्दगीको लक्ष्य, उद्देश्य सबै सकिएर उजाड भएका हुन्छन्।
एकै ठाउँमा बस्नु पर्दा वाक्क लाग्छ। धेरै सन्तान हुदाहुँदै पनि बाँचुन्जेल एउटा सन्तानसंँग मात्र बस्नुपर्ने नियमले बुढाबूढीहरू बाँधिए।
धेरै मानसिक तनाव झेल्नुपर्यो। ठाउँ फेरेर बस्दा डिप्रेसनको समस्या धेरै ठिक हुन्छ भन्नुहुन्थ्यो।
साँच्चै एकै ठाउँमा बस्नु पर्दा मान्छे वाक्किन्छन्। कसैलाई बन्धक बनाउनु अपराध होइन र?
एउटै तरकारी त दस दिनसम्म खायो भने गनाउँछ। मान्छेलाई पनि एकै ठाउँमा जरो गाडेर बस्दा बस्दा दिक्दार लाग्नु स्वाभाविक नै हो नि।
नौलो परिवेश र वातावरणमा मान्छे घुमिरह्यो भने बढी बाँच्छ।
तनावमुक्त हुनुका साथै खुसी, सुखी र स्वस्थ हुन्छन्। मानसिक शान्तिको लागि ठाउँ परिवर्तन नौलो प्रयोग हुन्छ। सबै वर्गलाई सजिलो, हलुको र रमाइलो अनुभूति हुन्छ रे।
अरू सन्तानहरू हुँदाहुँदै, वर्षौंसम्म एक जना सन्तानले मात्र बाँधिएर सेवा गर्नु पर्दा धर्म पनि पाप बन्न पुगेको छ।
डाक्टरका कुरा त हाम्रो समाजले पनि पक्कै मान्छन् होला नि।
सकारात्मक काममा नौलो संस्कृति अवलम्बन गर्न समाज पनि तयार हुन्छ होला।
नौलो प्रयोगले जटिल बन्दै गएको यस्ता पारिवारिक समस्याको समाधान पो हुन्छ कि?
म पनि अचेल अलि झर्कोफर्को गर्ने भएकी छु। मलाई थाहा छ। जेष्ठ नागरिकको सम्मान गर्नुपर्छ, सेवा गर्नुपर्छ। यतिका वर्ष भयो गरेकै छु।
तर बुद्धले दिएको विषको परिभाषाले निकै मन छुन्छ। अमृत पनि विष समान हुन्छ रे, धेरै प्रयोग भयो भने।
माइलो र कान्छो छोरासँग बस्न अघोर मन छ। तर समाजले के भन्ला भन्ने पीर ज्यादा ‘पालोपालो बस्छु भन्नुपर्ने रहेछ। ऊ बेला बुद्धि पुगेन।’ सधैं भन्नुहुन्छ।
मलाई कर गर्नुहुन्छ ‘पुर्याइदेऊ न माइलाको घर, दुई चार महिना बसेर आउँछु। ठाउँ फेरिँदा यो उराठलाग्दो मन पनि रमाउँथ्यो कि? के गर्नु आमाको मन हो सबै सन्तानको माया उत्तिकै लाग्छ त नि!
तर आफूभन्दा पर भएको सन्तानको ज्यादै याद आउँछ, बाबै! यहाँ बसेर उनीहरूलाई खुलेर माया गर्न पनि त सक्दिनँ।
रातो दिन तिमीहरू मेरो सेवामा खटेका छौ तर सम्झना उनीहरूको मात्र आउँछ। दैवले पनि आमाको मन किन यस्तो बनाएका होलान्। हे दैव!’
कहिले रूँदै भन्नुहुन्छ, 'तिमीलाई मात्र सास्ती भयो। मेरी आमा रहिछ्यौ ऊ जुनीकी। कहिले कपाल कोरेर राम्री भएर हिँडेको देख्या छैन्। त्यत्रो वर्ष बुवाको सेवा गर्यौ, मेरो बाबु! कहिले सुखका दिन आएनन् तिम्रा!' आँखाभरि आँसु पार्दै भक्कानिनु हुन्छ।
कसरी लैजानु मैले पनि आमालाई दुई चार महिना राख भनेर।
मलाई पनि उही समाजको डर छ, के भन्लान् भन्ने।
घाँटी सुक्यो (अम्खोराको पानी एक सासमा पिउँदै )।
हाम्रो समाज देख्दा पनि वाक्क लाग्छ।
श्रवणकुमार जस्ता सन्तान पनि यहीँ छन्। आमाबालाई वृद्ध आश्रम पुर्याउने सन्तानहरू पनि यहीँ छन्।
दोष कसलाई दिनू! को ठिक को बेठिक भन्ने प्रश्न भन्दा माथि उठेर फरक धारबाट एकचोटि सोच्ने पो हो कि? आज दिनप्रतिदिन घर-घरमा जेष्ठ नागरिकहरूको समस्या विकराल बन्दैछ। के यो सामाजिक समस्यामात्र होला त? मलाई त यो सामाजिकभन्दा पनि मानसिक समस्या बढी होजस्तो लाग्न थालेको छ।
कतै हाम्रो परम्परालाई परिमार्जन गर्नुपर्ने समय आएको त होइन? धेरै सन्तान हुनेले पालैपालो बाआमाको सेवा गर्दा आमाबा हेलाको पात्र बन्नुपर्ने थिएन कि? सबै सन्तालले अरूलाई देखाउनकै लागि भए पनि बाआमालाई राम्रो व्यवहार पो गर्ने थिए कि?। एकचोटि सोचौं न।
बाआमाको पनि विकल्प हुन्थ्यो, मन कुँड्याएर एकै ठाउँमा बस्नु पर्दैनथ्यो, समय कटाउन सजिलो पो हुन्थ्यो, आजीवन कारागारको सजाय भोगेको जस्तो संस्कार फेर्दा के चाहिँ लछारपाटो लाग्ला त?
छोराछोरी बराबर हुन भन्ने मानसिकता बढ्दो छ।
अझ छोरीहरूलाई पनि बाआमाको सेवा गर्ने अवसर दिनुपर्छ अनि बल्ल सासूससुराप्रति सम्मानका साथ सेवा गर्ने थिए कि!
आफ्ना बाआमालाई गर्ने व्यवहार र सासूससुरालाई गर्ने व्यवहार फरक त हुने थिएन कि ? साँच्चै मस्तिष्क परिवर्तन आवश्यक छ।
परिवर्तन नै समाजशास्त्रको आधार हो।
एउटा उत्तम विचार र सकारात्मक सोचले असम्भव केही छैन।
(विश्वासको गहिरो श्वास लिँदै कोल्टे फेर्दै ) देउरानी जेठानीहरू मिलेर हामी पनि छलफल गर्नुपर्ला। देवरहरूलाई पनि शनिबार खाना खान यही बोलाउँछु। मस्तिष्कमा कुरा खेलाएरमात्र काम छैन। बेकार निन्द्रामात्र बिथोलिन्छ। दाजुभाइहरू पनि एक ठाउँमा बसेर छलफल गर्छन्। सम्बन्ध बिग्रिएपछि बनाउन निकै गाह्रो हुन्छ।
जे भए पनि देवरहरूले मेरो मान राख्छन्। यतिका वर्ष बाआमाको सेवा गरेर बसेकी भाउजू पो हुँ त!
मेरो कुरा पक्कै काट्दैनन् म पनि केही वर्ष जिम्मेवारीबाट छुट्टी लिन चाहन्छु सासू आमाको पनि इच्छा पूरा हुन्छ।
अरू बुहारीहरू घुमेकोजस्तै म पनि घुमेको हेर्न चाहनुहुन्छ मेरो सासूआमा! म कति भाग्यमानी।
सबैका सासूआमा मेरीजस्ती विवेकी भैदिए यो समाज कति सुन्दर हुने थियो। यस्तो बदलिँदो परिवेश कसरी सिर्जना होला? समाज परिवर्तनको मीठो कल्पना गर्दै भुसुक्कै निदाएछु।