कविता
बा, ए बा!
आज बाको मुख हेर्ने दिन
विगतमा जस्तै आज पनि आयो
तर मलाई खास लागिरहेको छैन
आठ दशक पार गरेको
हजुरको शरीरले आराम खोजिरहेको होला
मांसपेशीहरू कमजोर भएका होलान्
जोर्नीहरूमा हुनुपर्ने लचकता कम भएको होला
आरामदायी बिस्तारामा सुताएर
हजुरको शरीरभरि तेल लागाएर
आज मात्र होइन दैनिक मालिस गर्न चाहन्छु।
बुढेसकालमा जन्माएको कान्छो सन्तान
मलाई रोगले शिथिल बनाउँदा
कहिले काख, कहिले पिँठ्यू त कहिले काँधिकुरी
गरी मेरो पीडा भुलाएर
नेपालभरिका अस्पतालमा डुलाउँदा
कहिल्यै नगलेका हजुरका पिँडौलाहरू
आज काँप्ने भएका होलान्
त्यही छोरोको खुसी र सुख हेर्न आतुर भएर
पर्खिरहेका हजुरका आँखाले त्यो अझै देख्न पाएनन्।
घरका भित्ताहरू, प्रविधिका पर्खालहरू
हजुरका तस्बिरले रङ्गाएर
बनावटी जीवन जिउन नचाहने मान्छे म
संघर्षको मैदानमा निरन्तर लडिरहेछु
हजुरले बनाएको ढुङ्गे घर पनि हजुरजस्तै बुढो भएको छ
हजुरलाई खुसी दिन, सुखी बनाउन
आरामदायी रूपमा
दिनहरू बिताउन मिल्ने गरी
सानो कुटी बनाएर
हजुरलाई लिन आउँछु भनेर
मनभित्रै सुर्केगाँठो पारी बाँधिराखेका
मेरा रहरहरू आफै अतासिएर
आज अनायसै बाहिरिएका छन्।
नैतिकताको कसीमा आफूलाई बाँधेर
सफलताको चाहना बोकेर हिँडिरहँदा
चारैतिरबाट जन्जिरले बाँधिएर
जीवित छु या छैन, थाहा छैन मलाई
तर पनि आजसम्म सास फेरिरहेकै छु
हजुर पर्खिएर बस्नुहोला
सधैंभरि हजुरको मुख हेर्ने गरी
खुसी बोकेर म हजुरलाई लिन आउनेछु
बा, मलाई पर्खिराख्नुस् है!
मैले आशा र विश्वास गुमाएको छैन।