गहिरो निन्द्राबाट भर्खरै मात्रै ब्युँझिएको जस्तो महसुस भएको छ।
वरिपरिका दृष्य सबै धमिला छन्। मुखमा अक्सिजनको पाइप लगाइएको छ।
हातमा सलाइन पानी र शरीरभरि प्लास्टरले बेरिएको छ।
यसो हात खुट्टा चलाउँछु, बडो मुस्किलले चल्छ। सम्पूर्ण शरीर बेस्सरी दुखिरहेको छ, उठ्ने कोसिस गर्छु। चल्न चटपटाउन पनि सक्दिनँ। मुख खङ्ग्रङ्ग सुकेको छ, बिस्तारै वरिपरि आँखा घुमाउँछु, कोठामा मैजस्ता अरू पनि धेरै बिरामी छन्।
ती सबै देख्दा म अस्पतालमा रहेछु भन्ने लाग्छ। तर कहिलेदेखि र के कारणले यो अवस्थामा यहाँ छु भन्ने कुरा मेरो सम्झनामा आउँदैनन्, शायद अझै पनि म स्मृति शून्य नै छु!
भित्रदेखि डाहा भएर होला, अचानक मेरो मुखबाट 'पानी' भन्ने शब्द निस्कन्छ ! मेरै आवाज सुनेर हुनुपर्छ शायद, एक जना नर्स दौडेर आउँछिन् र खुब आश्चर्यपूर्वक मलाई हेर्छिन्, 'आम्मै तपाईंलाई होस् आयो! कति लामो समय लाग्यो तपाईंको होस आउन पनि !'
उनले स्नेहपूर्वक दुई चम्चा पानीले मेरो ओठ भिजाई दिन्छिन्, 'डाक्टरलाई नसोधी धेरै पानी पनि पिउन दिन हुन्न तपाईंलाई, एक छिन पख्नोस् है म डाक्टर बोलाँउछुु' भनेर उनी फेरि दौडिन्छिन् ।
केहीबेरपछि नै केही डाक्टरहरू आउँछन् र भन्छन्, 'धेरै दिनको कोमाबाट बल्ल होसमा आउनुभयो ! अहिले कस्तो छ तपाईंलाई ?'
म ठिकै छ भन्ने कोसिस गर्छु, तर आवाज निस्किँदैन त्यसैले मुन्टो मात्र हल्लाँउछु।
त्यसपछि डाक्टर फेरि भन्छन्, 'हेर्नुस् तपाईंको जिउभरि गहिरा घाउचोट छन्, पहिला तपाईंको होस नआएर चिन्ता थियो! अब भने तपाईं बिस्तारै खतरामुक्त हुँदै जानु हुनेछ।'
यति भने पछि उनीहरूले मेरो हात खुट्टा चलाउन लगाउँछन्, सकिनसकी चलाउँछु। अनि फेरि डाक्टर भन्छन्, 'ल ठिकै छ... तपाईंको आमा र भाई पनि बाहिर कुनै होटलतिर सुत्नुभएको होला, अहिले त धेरै ढिला भैसक्यो, भोलि तपाईंको उहाँहरूसँग पनि भेट हुन्छ, अनि सबै कुरा थाहा पनि पाउनु हुनेछ, अहिले आराम गर्नुस्!' यति भनेर उनीहरू सबै जना फर्किन्छन्।
मेरो त्यो नाजुक शारीरिक अवस्था र 'तपाईंको जिउभरि गहिरा घाउचोटहरू छन्!' भन्ने डाक्टरका ती भनाइले म आश्चर्यमा पर्छु र मेरो मनमा अनगिन्ती प्रश्नहरू पनि खडा हुन्छन्। यतिका घाउ चोटपटकहरू कसरी भए होलान् ? भन्ने गहिरो कौतुहलता पैदा हुन्छ। मस्तिष्कमा केही दबाब दिएर सम्झन खोज्छु, तर मेरो स्मृतिपटल नै शून्य भएजस्तो लाग्छ। त्यही शून्यताको पृष्ठभूमिबाट अनगिन्ती मानसिक तरंगहरूले रातभरि नै बेचैन पारिरहन्छन्। तर मेरो चेतन अस्तित्व यथार्थको छेउछाउसम्म पनि पुग्न सक्दैन।
कठोर शारीरिक पीडामाथि थपिएको त्यो मानसिक छटपटीले खुब विचलित पार्छ र रातभरि एक झप्का पनि निद्रा पर्दैन ! केवल आमा र भाइको प्रतीक्षामा मन ज्यादै अधैर्य हुन्छ।
यसै क्रममा, जिन्दगीले कसरी अकस्मात रङ बदल्दो रहेछ भन्ने सोचेर अचम्म लाग्छ। सुदूर अतीत देखिएका घटनाहरू बग्रेल्ती दिमागमा आउँछन्। नियतिले कोरेको बाटोमा कसरी हिँड्न बाध्य हुँदोरहेछ मान्छे भन्ने कुराले निकै मर्माहत बनाउँछ।
मेरो बिहे भएदेखि अहिलेको यो मृत्युशैयामा छटपटिरहेको बेलासम्म, जीवनको कठोर उतारचढाव र समयको निर्ममताको पीडादायी अनुभूतिले निकै भावुक हुन्छु। शायद मैले विवाह नगरेको भए म यो मरणासन्न हुने स्थितिसम्म त पुग्ने थिइनँ कि भन्ने सोचेर मन भक्कानियो।
भोलिपल्ट बिहान करिब ८ बजेतिर एक जना नर्ससँगै आमा मलाई भेट्न आउनु भएको रहेछ। मैलो कपडा, जख्रक्क लट्टा परेका कपाल र कान्तिहीन थकित अनुहार ! आमाको त्यो अवस्था देखेर टिलपिलाएका मेरा आँखा र कारूणिक शारीरिक अवस्था देखेर आमा पनि भाव विह्वल हुनुभयो। असिम वात्सल्यपूर्ण हातले मेरा गाला सुमसुम्याउँदै खुब कोक्किएर रूनुभयो। हामी दुबै असैह्य पीडा मिश्रित खुसीले एकछिन निःशब्द भयौं र कोठाको वातावरण पनि एकाएक वेदनामय बन्दै गयो।
त्यो देखेर नर्सले भनिन्, ‘यतिका दिनपछि बल्लतल्ल होसमा आएको बिरामीलाई दिमागमा चोट पर्यो भने खतरा हुन सक्छ।यस्तो कुरा नगर्नुस्, बरू पछि भेट्नुहोला, अहिले हिँड्नुस्।'
त्यसपछि आमा सम्हालिएझैं गरी अवरूद्ध आवाजमा भन्नुभयो, 'नानी ! भगवान साक्षातका रहेछन्। हाम्रो ममताको निभिसकेको दीयो उनले फेरि जगाइदिए। सत्यनास होस्, तिमीलाई यो हालतमा पुर्याउने त्यो असत्तिको...धन्न तिमी बाच्यौ छोरी! तिमीलाई केही भएको भए...' आमाका शब्दमा अपार वेदना पोखिएका थिए। त्यही बेला मैले दबेको आवाजमा सोधें, 'को असत्ति आमा ? के गर्यो र त्यसले...'
'त्यही तिमीलाई काट्ने पापिष्ट! सबैले डाका भन्छन्...अझै राम्ररी थाहा भएको छैन छोरी, पुलिसले खोज्दैछ रे...' आमाका गला अझै अवरूद्ध नै थिए।
'ल भयो अब त...' भन्दै नर्सले आमाको हात समाएर बाहिर लगिन्।
आमा भने अझै सुँक्कसुँक्क गर्दै हुनुहुन्थ्यो। मेरो दयनीय हालतमा चिराचिरा परेर आहत भएको मातृवात्सल्यले धेरै बेरसम्म हिक्क हिक्क पारेको थियो उहाँलाई।
आमाका शब्दमा त्यो 'पापिष्ट डाका' को मेरो सजीव अस्तित्वसँग वैमनश्यता के हुन सक्छ? भन्ने प्रश्नमा अझै गहिरिँदै गएँ।
जिन्दगीलाई केस्राकेस्रा पारेर केलाउँदा पनि मेरो स्मृतिपटलमा त्यो घटना कसै गेरर पनि समेटिएन। तर निकै बेरको प्रयासपछि एउटा घटनाको धमिलो चित्रले भने झसंग पार्यो।
त्यो रात करिब १० बजेतिर म मोबाइलमा विशाल सरसँग कुरा गर्दै थिएँ। कसैले अचानक जोडले मेरो कोठाको ढोका खोल्यो र अकस्मात् मेरो कोठामा प्रवेश गरेर मलाई कुनै कालो कपडाले झ्याप्प छोप्यो। त्यसभन्दा पछि के भयो ? भन्ने कुरा लाखौं प्रयास गर्दा मेरो पनि सम्झनामा आएन।
तर आमाले भनेको कुरा र मैले व्यहोरेको त्यो घटनाको कतै एउटै त थिएन? भन्नेबारे केही आशंका भने मनमा उब्जिए। तर कसले? किन? र केका लागि? त्यसरी सांघातिक आक्रमण गर्यो होला भन्ने प्रश्न भने अनुत्तरित नै रहे।
अस्पतालको त्यो बसाइमा मन अत्यन्त अस्थिर र विस्मित छ! यस्तै अवस्थामा माइतीबाट भाइ भेट्न आएको रहेछ। ऊ उमेरमा मभन्दा केवल दुई वर्ष मात्र कान्छो थियो।
हामी साना-साना कुरामा पनि खुब झगडा गर्थ्यौं र एकैछिनमा माया पनि गर्थ्यौं! हुन त समान खाले उमेरका सबै केटाकटीहरू यसरी नै हुर्कन्छन् होला। तर मलाई लाग्छ हामीहरू अरूभन्दा अलि बढ्ता नै झगडालु र मायालु समेत थियौं।
मेरो हालत देखेर निमेषभरमै भाइका आँखा निथ्रुक्क भिज्छन्। भावुकतामा डुबेका हामी दुबैका मुखबाट केहीबेर कुनै शब्द निस्किँदैनन्, बडो मुस्किलले त्यो मौनता तोडेर उसले गहभरि आँसु पार्दै भन्छ, 'मर्छेस् जस्तो लागेको थियो। हामीले त आशै मारिसकेका थियौं धन्न बाँचिस्।'
आँसु आँखाको डिलसम्मै आए र छताछुल्ल भएर पोखिए। स्नेहले अवरूद्ध भएको गलाले भनेँ, 'हो र.. मलाई त केही पनि थाहा छैन बाबु...।'
केहीबेरको कुराकानीमा उसले आमाले भनेकै कुरा दोहोर्यायो। फेरि आउँछु भन्दै भारी मन लिएर बाहिर निस्क्यो।
उसको कुराले म झनझन अधैर्य हुँदै गए। पहिलेदेखिकै मेरा मनका प्रश्नले झन् तिखारिएर घोच्न थाले। मन एकैछिनमा घर, माइती सबैतिर पुग्यो, तर कसैमाथि पनि शंका गर्ने आधार भेटिएन।
लोग्ने परदेश, घरमा वृद्ध ससुरा र सासू मात्रै, कसलाई के आधारमा शंका गर्नू र ? सोचाइ बेसरी छचल्किन्थे, तर फेरि शून्यमै आइपुग्थे।
अस्पतालमा एक्लोपनले मलाई भित्रभित्रै खाइरहेको थियो। त्यसमाथि पनि बेला बेलामा मेरो बिहे हुने ताकाका अमिला सम्झनासँगै अथाह पीडा पनि उर्लिएर आउँथे।
आजभन्दा ३ महिना अगाडि मात्र मेरा विवाह भएको थियो।
बाबुआमा अमेरिकाको ग्रीनकार्ड भएको केटोसँग छोरीको विवाह गर्न पाएकोमा ठूलो सन्तोष थियो र उनीहरू मेरो सुखद भविष्यप्रति पूर्णरूपमा आश्चस्त थिए। विवाहमा आफ्नो भए भरको नगद मात्र होइन, खेतै समेत बन्धकी राखेका थिए।
ती दिनमा पक्षघातले थलिएका बुबा र सहाराविहीन आमाको चिन्ताग्रस्त अवस्था सम्झेर मन फेरि चसक्क भयो।
असिम वात्सल्यमा पुल पुल्पुल्यार हुर्काएकी छोरीलाई सधैंको लागि पराई घरमा पठाउने कुराले उनीहरू विक्षिप्त थिए।
तर जे भए पनि समय किन रोकिन्थ्यो र? आखिर हेर्दाहेर्दै विवाहको दिन पनि आयो र मलाई दुलहीको रूपमा घरबाट अन्माउने बेला भयो।
त्यतिबेलाको पन्चे बाजाको वियोगान्त धुनमा आमा, बुबा, भाइ र साथीसंगीहरूका भावुक अनुहार र टिलपिलाएका आँखाले मलाई कम्ती विचलित पारेका थिएनन्।
त्यतिबेला म स्नातकोत्तर तहको परीक्षा भर्खरै सकेर बसेकी थिएँ। अन्य पूर्णवयस्क आम युवतीहरूमा जस्तो स्वभाविक चन्चलता र कल्पनाशीलता र श्रृंगारप्रतिको मोह ममा पनि थियो। यौवनको यस मुकामसम्म आइपुग्दा मलाई पनि केटा र केटीबीच मनपर्ने र पराउने कुरा स्वभाविक नै लाग्थे।
तर मेरो नाजुक आर्थिक अवस्थाले ममा भने ती सोच पलाउने अवसर नै पाएनन्। त्यसैले मेरो कसैप्रति पनि कुनै अनुराग पनि थिएन र म परिवारले रोजेको केटासँग एक पटक भेटेर कुरासम्म पनि नगरी विवाह गर्न राजी भएकी थिएँ।
समय आफ्नै गतिमा बग्दै गयो, हेर्दाहेर्दै विवाह सम्पन्न भयो। सुहागरातको दिन विभिन्न कामकाज तथा औपचारिकताले गर्दा ज्यादै थाकिसकेको थिए। तै पनि विवाहको पहिलो रातका रंगीन कल्पना, कौतुहलता र उमंगहरूले मन चन्चल भइरहेको थियो।
हेर्दा हेर्दैरात आफ्नै हिसाबले पूर्णवयस्क भइसकेको थियो, छिट्टै यौवनका लाज, सरम र रहस्य दाम्पत्यका माधुर्यमा विलिन हुनेवाला थिए। केही डर त अवश्य पनि थियो, तर त्यसलाई रोमान्चक कल्पनाले जितेको थियो। म उसको व्यग्र भएर प्रतीक्षामा थिए। तर रात धैरै बितिसक्दा पनि नआएकाले भने मन अत्यासिन लागेको थियो।
त्यस्तै आधा राततिर एकदमै ठूलो आवाजका साथ मेरो ढोका खुल्यो। म झसंग भएँ, ऊ राम्रोसँग खुट्टा समेत टेक्न नसक्ने गरी मदिराले लठ्ठ थियो। म अचम्ममा परें। ढोका खोल्नासाथ ऊ धर्मराउँदै मेरो ओछ्यानमा पुगेर कुहिना टेकेर बस्यो र अर्ध बेहोसी हालत मै भन्न थाल्यो, 'ओई मेरी श्रीमती जी ! आज त हाम्रो सुहागरात होइन ...?'
चुपचाप रहेँ।
'कम अन बि प्राक्टिकल' फेरि भन्यो, 'उसको अवस्था, प्रस्तुति र व्यवहारले म विस्मित हुँदै थिएँ। तर म अझै पनि म प्रतिक्रयाहीन थिएँ।
'तिमी त यतिबेला अर्कै ड्रेसमा हुनु पर्ने होइन र ?... बट यु आर ईन स्टिल सारी...।'
त्यतिबेला उसको बोली र व्यवहार अत्यन्त निकृष्ट थिए कि ऊ सुहागरातका रूमानी कल्पनामा पतिको प्रतिक्षामा रहेकी नव दुलहीदँग होइन, यौन तृप्तिको लागि कुनै वेश्यालयमा छ।
एकै क्षणमा मेरो मनबाट सारा मधुर भावना गायब भइसकेका थिए र म त्यो कठ्यांग्रिदो रातजस्तै ठण्डा भइसकेकी थिएँ।
तर उसले मलाई बाजले चल्ला झम्टे जसरी झम्टी रह्यो, म सहदै गएँ , लुछ्दै गयो र म लुछिइँदै गएँ।
यसरी म सुहागरात मै अत्यन्त क्रूर र संवेदनाहीन ढंगले बलात्कृत भएँ।
त्यो रात मेरो हालसम्मको जीवन कै त्रासदीपूर्ण रात रह्यो। त्यसपछि ऊ मदिराको नशाले एकैछिनमा निदायो, तर म बलात्कृत मानसिकताले विक्षिप्त भएँ।
तर पनि नशामुक्त भएपछि ऊ फेरिएला कि भन्ने आशाको त्यान्द्रोमा झुन्डिरहे।
भोलिको उज्यालो बिहानीले एउटा नयाँ आशा र विश्वास जगाउने छ र उसले आफ्नो गल्ती महसुस गर्दै मलाई सम्झाउने छ, फकाउनेछ र जीवनले नयाँ गति पाउने छ भन्ने सोचमै रात बित्यो।
भोलिपल्ट बिहान उठेर नित्यकर्म सकेपछि ऊ पलङ अगाडिको कुर्सीमा बस्यो, मलाई गहिरोसँग हेर्यो र लामो सास तानेर बिना कुनै औपचारिकता मलाई सोध्यो 'हिजोको सुहागरात कस्तो लाग्यो ? .....'
म केही बोलिनँ, बरु उसमा मेरो अपेक्षा अनुसार कुनै परिवर्तन आउला कि नआउला भनेर जिज्ञासु बनेर बसें।
उसले केहीबेर पछि फेरि भन्यो, 'हेर म अहिले छुट्टीमा आएको थिएँ। बुबा आमाको जिद्दीले यो बिहेको लागि बाध्य भएँ। एउटा फोटो हेरेको भरमा विवाह.... ! त्यै भएर मलाई विवाहमा नै विश्वास लाग्दैन।'
पहिलो दिनमै उसको विवाहप्रतिको अनास्था र मप्रतिको चरम उपेक्षा देखेर साह्रै मन कुडियो। तर पनि चुपचाप सुनिरहें। उसले लामो सुस्केरा हाल्यो र पाकेटबाट चुरोट झिकेर सल्काउँदै फेरि भन्यो, 'मैले यो विवाह उनीहरूको लागि गरेको हुँ, अब तिमीले उनीहरूको सेवा गर्नुपर्छ .... म यसो एक दुई वर्षमा आउजाउ गरिरहन्छु...तर तिमीलाई कुनै कुराको दु:ख हुने छैन...'
त्यसभन्दा बढी मलाई मेरो धैर्यताले साथ दिएन, तर पनि मैले शान्त भएर सोधें, 'के यो काम कुनै हाउसमेडबाट हुन सक्दैनथ्यो ?'
मेरो प्रश्नले उसलाई कालो निलो बनायो र बिस्तारै बोल्यो, 'हुन त सक्थ्यो !...तर उनीहरूलाई बुहारी नै चाहिएको थियो !'
मैले शब्दमा जोड दिँदै सोधें, 'त्यसो भए यो विवाह के जीवनका सुख, महिमा र गरिमाको लागि थिएन? केबल एउटा नि:शुल्क घरायसी नोकर ल्याउने प्रपन्च मात्र थियो ?'
त्यसपछि ऊ नाजवाफ भयो र चुरोटको अर्को लामो सर्को तान्यो र बिस्तारै भन्यो, 'अझै मेरो १० दिनको छुट्टी बाँकी नै छ, कुरा गर्दै गरौंला ...' त्यसपछि ऊ बाहिर निस्क्यो।
त्यसपछि मलाई लाग्यो, अब न मैले उसबाट सुन्नुपर्ने केही बाँकी थियो, न मैले केही भन्नुको औचित्य रहन्थ्यो।
वैवाहिक जीवनको संघार मै मलाई यात्राको जटिलताको अनुभूति भइसकेको थियो। विवाह अगाडि केबल एकपटक मात्र मैले ऊ सँग कुरा गरेको भए पनि यो अवस्था आउने थिएन कि भन्ने सोचेर ग्लानी महसुस भयो।
त्यसपछिका दिनहरू निकै निरस र सकसपूर्ण रहे। बाँकी दश दिन विदेश जाने तयारीको बहानामा ऊ बिहानै निस्किन्थ्यो र साँझमा निकै ढिलोगरी मदिराले लठ्ठिदै घर आइपुग्थ्यो।
यसबीचमा हाम्रो केवल औपचारिक मात्र कुरा हुन्थ्यो। त्यसैले हामीबीच न माया पलाउन पायो, न भावनात्मक सामीप्यता नै बढ्यो।
बरू म हरेक रात उसले चाहे जसरी बलात्कृत भइरहें। यसरी हाम्रो दाम्पत्य जीवन सुरू नहुँदै त्यसका भावनात्मक आधार भत्किँदै थिए।
म छोटो समयमै शारीरिक र मानसिक रूपले ज्यादै कमजोर भइसकेको थिएँ।
तर चुपचाप मर्नु र बाँच्नुको दोसाधबाट म आफ्नै जीवनको तमासा हेर्दै थिएँ। कतिखेर त आत्महत्या गरौं जस्तो पनि लाग्थ्यो। तर फेरि पक्षघातले ओछ्यान परेका बाबु र अनेकौं हण्डर खाएकी आमाको मायाले म रोकिन्थें।
म सोच्थें, कि आफ्ना सारा इच्छा, चाहना र कल्पना सबै कुल्चिएर कहिल्यै नभेटेको, नदेखेको र नचिनेको मान्छेको पाउमा आफ्नो सारा जीवन भेटी चढाउनु पर्ने नियतिले कहिलेसम्म अभिशप्त भइरहने ?
म आफ्नो जिन्दगी सम्झेर व्याकुल थिएँ ! गलत सामाजिक मान्यताले एउटी निर्दोष नारीको जीवनमा कसरी आगो लाग्दो रहेछ ? भन्ने कुराले मर्माहत पनि।
एक मन त लाग्थ्यो कि उसको तिलहरी आफ्नो गलाबाट लुछेर उसको मुखमा हानेर बाटो लागौं। तर फेरि पनि बाबु आमामाथि पर्नसक्ने मानसिक आघातको कल्पनाले त्यसो पनि गर्न सक्दैनथें!
ऊ अमेरिका फर्कने बेला भयो। तर हिँड्ने बेलामा बेश्यालयबाट निस्किँदा जत्तिको संवेदना पनि देखाएन उसले। न सँगै रहँदाको प्रेम, न छुट्टिनु पर्दाको विरह!
कुनैपनि भावना केही थिएन उसमा । तर म भने लाचारी र किंकर्तव्यमुढ थिए ।
त्यति नै बेला आमाको फोन आएको थियो र भन्नुभएको थियो, 'आज ज्वाइँ साहब जाने हो क्यारे, तिमीलाई पनि नरमाइलो त लागेको होला ! तर धेरै पीर नदिनू है, जाने बेलामा हाँसेर बिदा गर्नू ...'
आमाको कल्पना र मेरो कारूणिक यथार्थको द्वन्द्वमा मुटु फुट्लाजस्तो भएको थियो, तर आमालाई 'हुन्छ...' मात्र भनेर फोन राखिदिएँ। त्यसपछि ऊ बाटो लागेको थियो, तर म चुपचाप नियतिलाई स्वीकार्न बाध्य भएको थिएँ।
यसैबीच ड्रेसिङ गर्न नर्सहरूको समूह आए, पहिलोपटक आफ्नो शरीरमा लागेका धेरै गहिरा घाउ देखेर म निकै आत्तिएँ। त्यही भएर होला उनीहरूले मलाई घाउ राम्रोसँग हेर्न दिएनन्।
‘उनीहरू भन्दै थिए घाउ त निकै अभानो भएछ, अब छिट्टै ठिक हुन्छ।’ त्यो कुराले खासै खुसी दिएन। खाली मलाई मार्न चाहने को होला ? भन्ने चिन्ताले सताइ नै रह्यो। एकमन लाग्यो, त्यो षडयन्त्र कतै मेरो लोग्नेले कै थिएन ? निकैबेर यसैमा दिमाग घुमिरह्यो।
अस्पतालमा एक्लै हुन्थें। मनमा विभिन्न तर्कनाहरू चलिरहन्थे। यसै क्रममा गाउँको शिक्षक विशाल सरलाई पनि सम्झिएँ।
कति सरल, सहयोगी र मृदुभाषी हुनुहुन्थ्यो। सबैतिरबाट उपेक्षित र तिरस्कृत महसुस भएको बेलामा कसैको निस्वार्थ बोली र हाँसो सुन्न र देख्न पाउँदा पनि धेरै हलुका भएको महसुस हुँदोरहेछ।
उहाँको व्यवहार मप्रति त्यस्तै थियो। कहिलेकाहीँ हाम्रो घरमा पनि आउनु हुन्थ्यो। यसै सिलसिलामा कयौंपटक मैले उहाँसँग भेटेर बेला बेलामा टेलिफोनमा पनि कुरा हुन्थे।
उहाँलाई विशाल सर नै भनेर बोलाउँथें। कहिलेकाहीँ भावना पनि बहकिँदा रहेछन्। कहिलेकाहीँ उहाँलाई मैले गर्ने गरेको त्यो सम्बोधनसँग मेरो भावनाहरू नमिलेको हो कि जस्तो पनि लाग्थ्यो मलाई। मेरा भावना अस्पष्ट भएजस्तो लाग्थ्यो।
उहाँलाई देख्न नपाउँदा खल्लो लाग्ने र देख्दा मन प्रफुल्ल हुने मरो मनोभावले हामीबीचको औपचारिकतालाई नाघ्न खोजेको हो कि जस्तो पनि लाग्थ्यो। तर उहाँको मप्रतिको भावनामा चाहिँ के थियो भन्ने कुरामा बेखबर थिएँ। तर भावना जसरी छचल्किए पनि मैले उहाँसँग विशेष सम्बन्धको कल्पना गरेको भने थिइनँ।
यसैबीच डाक्टरहरू पुनः मलाई जाँच्न आउनु भएको रहेछ, उहाँले एक दुई दिनपछि घरैमा गएर आराम गर्न सकिने बताउनुभयो। घर भन्नासाथ मैले लोग्नेको क्रूर, उही अनुहार र मेरा प्रत्येक कुरामा निगरानी गर्ने एकदमै परम्मपरागत सोच र शंकालु स्वभावको ससुरालाई पनि सम्झें , मनै जिङरिङ्ग भएर आयो।
एकाएक ससुराले भनेका एक एक कुरा सम्झें।
एकदिन घरमा सोधेरै म कलेजका साथीहरूसँग टिसर्ट र पाइन्ट लगाएर पिकनिकमा गएकी थिएँ। फर्किंदा घरको आँगनमा ससुरा भेटिनुभयो।
उहाँले मलाई तलदेखि माथिसम्म हेरेर आँखा तर्दै भन्नु भयो, 'कहाँ गएर आएकी बुहारी यतिबेला ? के कपडा लगाएर हिँडेको यस्तो ? होइन बिहे गरेका केटीहरू पनि कत्ति उत्ताउला भएका आजभोलि !'
उहाँका कुराहरूले मलाई कसैले जोडले गालामा थप्पड हानेकोजस्तो महसुस भयो।
अर्को एकदिन उहाँले मुटु छेड्ने गरी भनेको अर्को कुरा पनि सम्झें,'हेर नानी बुहारीको जातले छाडा भएको सुहाउँदैन। लोग्नेहरू परदेशमा, यता श्रीमतीहरू नानाथरिका उरन्ठेउलाहरू मस्कीमस्की कुरा गर्छन्! रातभरि पनि फोनमा गिल्लि रहन्छन्। विवाहित नारीको आफ्नो मर्यादामा नरहने हो भने ऊ र बजार की वेश्यामा के फरक हुन्छ र ? बेलैमा याद गर है ... !'
उनका कुण्ठित कर्णभेदी ती निकृष्ट शब्द यसरी बिझे कि, मैले सुन्नै सकिनँ र म दौडेर कोठामा गएर रून थालें।
कोठामा म रोएको सुनेर सासू आएर मलाई सम्झाउँदै भन्नु भएको अहिले पनि सम्झना आउँछ।
'कठै के भनेका होला नि पापी बुढाले, यति असल बुहारीलाई। बेलैमा आफ्नो छोरो तह लगाउन नसकेर सात गाउँ हँसाइ सक्यो। त्यस्तासँग पनि घर गरेर खाउँला भनेर बसेकी बुहारीलाई माया गर्नु त कता हो कता उल्टै..... नरोउ नानी यिनका बाउ छोरालाई म जानेको छु.....'
उनका शब्दमा भावना थिए कि थिएनन् त बुझ्न सकिनँ, तर तिनमा मप्रति मनग्य सहानुभूति देखिन्थ्यो। तर म आफूले धान्नै नसक्ने यो सम्बन्धको बोझलाई कहिलेसम्म बोकिरहनु पर्ने हो ? भन्ने सोचेर विचलित हुन्थें।
आजको ड्रेसिङ पनि असाध्य पीडा भयो। केहीबेर पछि एक जना प्रहरी, डाक्टर र मेरो भाइ मेरो अगाडि उभिएका देखें।
मैले केही भन्न नपाउँदै प्रहरीले मलाई नम्रतापूर्वक सोध्नुभयो, 'तपाईंको नाम कोपिला शर्मा हो ?'
मैले हो भन्ने जवाफ सुनेपछि पुन: सोधे।
'तपाईंमाथि भएको घटनाको बारेमा तपाईंलाई के थाहा छ ?'
'डाँकाले खुकुरीले काटेको भन्नेसम्म सुनेको छु। अरू मलाई केही थाहा छैन।'
त्यसपछि उहाँले भन्नुभयो, 'हेर्नुहोस् हामीले तपाईंमाथि भएको त्यो दुर्भाग्यपूर्ण घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान गर्दा त्यो घटना डाँकाले नभई तपाईंकै ससुरा बोध प्रसाद शर्माले नै गरेको देखियो। उहाँको बयान अनुसार तपाईंले कसैसँग फोनमा कुरा गरेको सुनेपछि उहाँ आवेगमा आएर तपाईंलाई खुकुरीले प्रहार गर्नुभयो। मरे जस्तो लागेपछि छोडिदिनुभयो र पछि आफैंले डाँकाले काट्यो भनेर हल्ला गर्नुभयो। गाउँलेहरू जम्मा हुँदा पनि तपाईंलाई जीवितै रहनु भएकाले उनीहरूले नै तपाईंलाई अस्पताल पुर्याई दिएपछि तपाई बाँच्न सफल हुनुभयो। त्यसैले उहाँलाई हिरासतमा लिएर कानूनी कारबाही पनि अगाडि बढाइसकेका छौं। केही कागजातमा तपाईंको हस्ताक्षर आवश्यक भएकोले हामी आएका हौं।'
उहाँको कुरा सुनेर केही समय त विश्वासै लागेन। पछि भाइले पनि मलाई आश्वास्त पार्यो र मैले सही छाप गरिदिएँ।
उनीहरू गएपछि ससुराको पटक पटकका आक्रोश सम्झँदा उहाँले नै जघन्य अपराध गरेको होला जस्तो लाग्यो। तर मार्नुपर्ने गरी आफूले कुनै पनि गल्ती गरेजस्तो लागेन।
धेरै गहिरिएपछि फेरि विशाल सर र मेरो फोनको कुराकानी सम्झें।
उहाँलाई आफ्नो छोराले मप्रति गरेको चरम उत्पीडन र तिरस्कार नाजायज लागेन, तर मेरो निस्वार्थ बोलीचाली, हाँसो र लवाईखवाईलाई अपराध देख्नुभयो। उहाँको त्यही विभेदकारी एवं कलुषित मानसिकता, अहंकार आधारहीन शंका र कुण्ठाको सिकार भएँ म !
हुर्केकी छोरीलाई माइतीको कसिङ्गर ठान्ने, अनि ग्रीनकार्ड र पिआर देखेपछि जस्तो सुकै केटालाई पनि आँखा चिम्लेर छोरी जिम्मा लगाइदिने समाजको प्रवृत्तिप्रति घृणा लागेर आयो। समाजको दृष्टि नबदलिकन कुनै पनि सृष्टि बदलिन सक्दैन भन्ने कुरा अझै बुझ्न नसक्ने समाजिक रितिस्थितिप्रति आक्रोश जागेर आयो।
मेरोजस्तै पारिवारिक विश्वास, बाध्यता र परिबन्दमा परेर मर्न बाध्य भएका र दिनदिनै मर्दै बाँचेका अनगिन्ती कोपिलाहरूप्रति असिम श्रद्धा र करूणा जागेर आयो।
त्यसपछि आफैंलाई हेरें, सोचें, आखिर के रहेछ जिन्दगी ? कुनै अमूर्त चित्र, नबुझिने कविता, बाँसुरीको वियोगान्त धुन!
खोई कस्तो हो कस्तो यो जिन्दगी! खोलाको रित्तो बगर हो कि टुक्रा टुक्रा भएर छताछुल्ला भएको बादलको अंश हो ! बिर्सिन चाहेका रात पो हुन कि आँधिबेहरी पछिको सन्नाटा हो जिन्दगी ! भावनाहरू अझै आकासिँदै थिए तर त्यसपछि धेरै अर्थ पनि खोजि रहन मन लागेन मलाई ग्रीन कार्डले अभिशप्त मेरो जिन्दगीको!
(यो लेख सेतोपाटीमा पहिलोपटक २०७८ साउन २ गते प्रकाशित थियो)