सर्वत्र,
मृत्युको सन्त्रासदेखि,
भयभित र आतंकित हुँदै ,
एकमुठ्ठी सास जोगाएर ,
फगत एउटा जीवन बाँच्न,
हजारौं पटक मरी रहन्छ मान्छे !
खै किन निर्मम भयो समय
र लाचार भयो मानवता पनि !
आज आफ्नै अस्तित्वको संघर्षमा,
आदिम युगको कुनै प्राणी झैं,
संवेदनाहीन हुँदै गएको छ मान्छे।
त्यसैले अचेल,
अरुको छटपटीले उस्को पोल्दैन छाती ,
न जल्छ मुटु दन्कि रहेको चिता देखेर !
बरु एकनाश आफ्नै मृत्युकै सन्त्रासले ,
निरन्तर विक्षिप्त भई रहन्छ मान्छे !
त्यसैले आजभोलि,
मान्छे मान्छेहरू बीच मै ,
स्वार्थका पर्खालहरू ठडिएका छन्,
आत्मीयताका रंगहरू उडि रहेछन्,
सम्बन्धका मिठासहरू रित्ति रहेछन् !
र पो त नियतिले अभिसप्त
लाचार अनि निरीह मान्छे,
हत्केलाका रेखाहरूमा आयु नाप्दै,
कयौं सुनसान गल्लीहरूमा,
कयौं अस्पतालका शय्याहरूमा,
कयौं दूर दराजका बस्तीहरूमा,
निहत्था र एक्लै मृत्यु सँग लड्दै,
फगत एउटा जीवन बाँच्न,
हजारौं पटक मरी रहन्छ मान्छे !