कविता
खोई के हो मृत्यु ?
निरपेक्ष र शाश्वत,
सत्य हो रे मृत्यु ! ,
थाहा छैन यो ,
आदि हो कि अन्त्य हो ?
संहार हो कि सृजना हो ?
या दृष्य मात्रै हो कि,
दृष्टि पनि हो मृत्यु !
सृष्टिदेखि नै सधैं
अनुभूति र चेतनामा,
कहिल्यै प्रकट नहुने,
कुन रहस्य हो मृत्यु !
यो पूर्ण मोक्ष हो कि ?
योनी परिवर्तन मात्र हो ?
समय सँगै बदलिइरहे ,
मानक हीन उत्तरहरू,
तर बदलिएन मृत्यु !
बरु यसमै समाहित हुँदै आए,
अनगिन्ती जीवनहरू उसै गरी,
अनि सधैं भयभित भई रहे,
सारा जीव जीवात्माहरू ,
नबुझेर सायद खोई के हो मृत्यु ?