कविता
उस्तै रूप रंग आवरणमा
तर फरक फरक
सोच, गति र गन्तव्यका,
हजारौं मानव मेसिनहरू,
जिन्दगीको म्याराथुनमा,
आए,गए र हराई रहे ,
र पनि हजारौं वर्ष देखि ,
उसरी नै मौन छ यो सहर ।
कयौं कलियुगका,
राम, रावण र युधिष्ठीरहरू,
अनि कर्ण, अभिमन्यू र शकुनीहरू,
निरन्तर परेड खेल्छन् छातीमा,
र पनि चुपचाप सधैं उसै गरी
मौन छ यो सहर !
कतै बन्द हुन्छन् ढुकढुकीहरू,
कति गिडगिडाउ छन् यत्र तत्र ,
कतै मग्न छन् रति र कामदेवहरू,
कतै पोखिन्छन् जवानी यत्र तत्र,
विभेद छैन कसै माथि,
निरपेक्ष उसरी नै,
मौन छ यो सहर मौन छ।
कतै भोकले रुन्छन् आत्माहरू ,
कतै लिलाम चढ्छन् स्वाभिमान,
कतै ऐय्यासीको उन्मुक्त हाँसोमा,
दबिन्छन् चित्कार र आर्तनाद,
भोगेर पनि सृष्टिको अनेक रंग,
अविचलित सधैं उसरी नै ,
मौन छ यो सहर ।