नमस्कार! मेरो नाम धनबहादुर हो। गाउँतिर मलाई सबैले धने क्षेत्री भन्छन्। अहिले म नेपाल-भारतको सीमा जोडिएको गौरीफन्टा नाकामा लाइन लागेको छु।
मभन्दा अगाडि डेढ-दुई सय बढी मान्छे होलान् पछाडि पनि त्यत्ति नै छन्। यो सडकको किनारमा हामीजस्ता मान्छे दिनहुँ उधो फर्केर लाइन लाग्छन् रे।
लाइनमा मजस्ता ३५ कटेकाहरू मात्र छैनन्, माथि टिमिक्क चोलो र तल गुन्यु लगाइएकी अनि काखमा दूधे बालख च्यापेकी महिला, भर्खर स्वर धोध्रो हुन लागेका केटाहरू अनि ड्रेस लगाएर स्कुल जानु पर्ने बच्चाबच्ची पनि उभिएका छन्।
लाइनको अगाडिपछाडि जता उभिएका भए पनि सबैका खुट्टामा जुत्ता-चप्पल उस्तै देखिन्छन्- खिइएर पातला भइसकेका।
सक्नेले सामानको झोला आफैं बोकेका छन्, नसक्नेले छेउमै राखेका छन्। लाइन सरेसँगै उनीहरू झोला सार्छन्।
मास्कले कोरोनाबाट बचिएला भन्ने भर कसैलाई छैन तर एसएसबीले सीमा कट्न नदेला भन्ने डर सबैलाई छ। त्यही भएर हरेकले मुखमा मास्क झुन्ड्याएका छन्।
हामीले लगाएका लुगा फरक छन्। फरक भन्नाले ब्रान्ड नसम्झनु होला। तिनको रङ र बनावटमात्रै फरक हो, नजिकै गएर सुघ्नुभो भने सबैका शरीरबाट पसिनाकै गन्ध आउँछ।
हाम्रा अनुहार फरक छन्। फरक भन्नाले चमक नबुझ्नु होला। छालाको वर्ण र आकारमात्र फरक हो, नियालेर हेर्नुभो भने सबैका आँखामा एउटै सपना, उस्तै डर, उही पीडा, अभाव र बाध्यताको सागर टिलपिल टिलपिल भइरहेको देखिन्छ।
सायद उस्तै नसिब भएकाहरू नजिकै-नजिकै जन्मिन्छन् वा एउटै भूगोलमा जन्मेकाहरूको नियति उस्ताउस्तै हुन्छ।
हेर्नुस् न हाम्रो नियति! काठमाडौंबाट सरकारले अत्यावश्यक नपरी घरबाहिर ननिस्कनू, निस्किनै परे भीडमा नजानू भनेको छ। हामी भने देश छोड्ने लाइनमा उभिएका छौं, भीडभाडको त कुरै छोड्नुस्। यस्तो महामारीका बेला पनि हामीले आफ्नो देशको सरकारले भनेको मानेनौं, उसलाई सहयोग गर्न सकेनौं!
पारि भारतमा एकैदिन झन्डै लाख कोरोना संक्रमित थपिन्छन्, हजारजति मर्छन् रे। छिमेकी देशमा कोरोनाको गोलो छ भन्ने जान्दाजान्दै त्यहीँ नगई नहुने पुर्पुरो नेपालीबाहेक संसारका अरू कुनै देशका नागरिकको छैन होला। सम्झिँदा मेरो सास त्यसैत्यसै लामो हुन्छ।
मेराअगाडि उभिएको एउटा केटो घरिघरि उभो फर्किरहेको छ। ऊ धनगढीभन्दा माथि अत्तरियातिर हेरिरहेको छैन। लाग्छ- ऊ अत्तरियाभन्दा पनि माथि चुरेले छेकेको अर्को कुनै पहाड हेर्न खोजिरहेको छ। त्यस्तै कुनै पहाडमा होला उसको गाउँ।
आजभन्दा १२ वर्षअघि पहिलो पटक इन्डिया जाँदा मैले पनि यसै गरी हेरेको थिएँ पहाडतिर।
घरमा बस्दा 'साला पहाडमा क्या है' जस्तो लाग्थ्यो।
'भारतमे आपका स्वागत है' भन्ने बोर्डमुनिबाट फर्केर हेर्दा त्यो पहाडको आकृति मलाई यति आफ्नो लागेको थियो कि आँखाबाट बररर आँसु झर्लानजस्तो भएको थियो।
उसले मुन्टो बटारीबटारी उभो हेरेको देखेर मैले लख काटें- सायद पहाडको त्यो गाउँमा उसकी प्रेमिका पनि उधो फर्केर टोलाइरहेकी होली।
'भाइ, घरको धेरै याद आयो कि क्या हो?' मैले आफूलाई थाम्न नसकेर सोधें।
उसले कानबाट निकाल्नुको साटो मोबाइलबाट एयरफोन झिकेर सोध्यो-हजुर?
'भाइलाई घरका मान्छेको धेरै याद आएजस्तो छ?' मैले दोहोर्याएँ।
'पहिलोचोटि इन्डिया जान लागेको दाइ, मन कस्तो कस्तो...' उसले वाक्य पूरा गरेन।
अनुहार हेरेरै थाहा हुन्थ्यो-वाक्य पूरा गर्न खोजेको भए शब्द निस्कनुभन्दा पहिला उसका आँखा चुहिने थिए।
एकछिन हामी दुबै जना मौन बस्यौं।
'बम्बै जाने हो भाइ,' मैले मौनता तोडेर सोधें।
'नाइँ सिमला,' उसले भन्यो।
मंगलसैनको एक बोर्डिङ स्कुलमा पढाएर ऊ आफू ब्याचलर्स पढिरहेको रैछ- इन्स्पेक्टर बन्ने सपना पछ्याउँदै। लकडाउनले ऊ पढ्ने कलेज र उसले पढाउन बोर्डिङ दुबै बन्द गरिदियो। अब कहिले खुल्छन् पत्तो छैन।
'खेतीपाती गर्न आफ्नो जग्गा छैन दाइ। मजदुरी गरे यहाँभन्दा सिमलामा कमाइ राम्रो हुन्छ रे,' उसले भन्यो।
सिमलामा अहिले स्याउ टिप्ने, माछा मार्ने काम छ। वर्षौंदेखि त्यो काम नेपाली मजदुरले गर्थे। कोरोनाले सीमा बन्द गरिदियो। वारिका नेपाली पारि जान पाएनन्।
नेपाली नगएपछि ठेकेदारले नाकासम्मै बिचौलिया पठाए। पारिका बिचौलियाले वारिकालाई खबर गरे।
यो महामारीमा पनि कोही मालमाल भइरहेको छ भने तिनै बिचौलिया हुन्।
त्यस्तै बिचौलियाले खबर गरेपछि ऊ पनि रिजर्भ गाडी चढेर मंगलसैनदेखि धनगढी पुगेको रहेछ।
लाइन अलिकति सर्यो। अगाडिको भाइले फेरि एक पटक पहाडतिर फर्किएर हेर्यो।
मैले सुरूमै भनेको थिएँ नि, मेरो नाम धनबहादुर हो तर धेरैले धने क्षेत्री भन्छन्। गाउँमा मलाई चिन्ने अर्को पनि नाम थियो- बम्ब्यालाको छोरो।
त्यतिबेला मध्य तथा सुदूर पश्चिमका पहाडका प्राय: हरेक गाउँमा एउटा-एउटा बम्ब्याला हुन्थे। मैले पनि ठूलो भएपछि थाहा पाएको- तिनीहरू गाउँका कोलम्बसजस्ता रैछन। सुदूर पहाडका गाउँबाट समुद्री किनारमा रहेको उति बेलाको बम्बै सहर पुगेर आउने कोलम्बस।
सबैभन्दा पहिला बम्बै गएर फर्किनेलाई गाउँलेले मान राखेर बम्बैवाला भनेछन्। बम्बैवाला बम्बैवाला भन्दाभन्दै पछि त्यही शब्द बम्ब्याला भयो। हाम्रो गाउँका बम्ब्याला मेरा बा थिए।
मान्छेहरू भन्छन्- डाक्टरको छोरो डाक्टर, मास्टरको छोरो मास्टर, व्यापारीको छोरो व्यापारी, कर्मचारीको छोरो कर्मचारी हुन्छ। उनीहरू ठीकै भन्दा रहेछन्- बम्ब्यालाको छोरो म पनि बम्ब्यालै भएँ।
कर्णाली र सुदूरपश्चिमका पहाडमा बम्ब्यालाका छोरामात्रै होइन भाइभतिजासँगै सबै खानदान बम्बै गएका अहिले पनि कत्ति भेटिन्छन् कत्ति।
मैले बम्ब्यालो हुने नसिब बदल्न नखोजेका चाहिँ होइन। मेरो लक्ष्य गाउँको स्कुलमा मास्टर हुने थियो। बा पनि आफ्नो छोरो बम्बै नजाओस् भन्ने चाहन्थे।
बम्बैबाट फर्केकाहरूसँग आमालाई पठाएको चिठीमा बाले सधैं लेखेका हुन्थे-प्यारो छोरा धनबहादुर, राम्ररी धेरै पढ्नू।
मैले बाले पठाएको चिठी पढ्दा आमा खुसीले गदगद हुन्थिन्। बाको मात्रै होइन हाम्रो टोलमा बम्बैबाट आएका सबै चिठी पढ्ने म नै त थिएँ।
म आठ क्लास पढ्दाताकाको कुरा हो एकदिन रातो धागोले बाँधेर चिठी आयो। चिठी बाँधेको धागाको रङ पो रातो थियो तर त्यसले आमाको सिउँदो र मेरो सपना एकैछिनमा फिक्का बनाइदियो।
बम्ब्याला मेरा बा बम्बैमै बिलाए।
'तपाईं केही टेन्सन नलिनू। पारि पनि हाम्रा मान्छे हुन्छन्। धनगढीमा बस्ने-सस्ने सब व्यवस्था हुन्छ...,' अघिदेखि तलमाथि गरिरहेको एउटा मान्छे फोनमा बोल्दाबोल्दै नाकातिर गयो। त्यो पक्कै बिचौलिया होला।
मैले लाइन सरेको पत्तै पाइनँ।
अहिले म उभिएको ठाउँबाट अलि अगाडि नेपाल प्रहरीको बिट देखिएको छ। लाइन लागेकाहरू दशगजा टेक्नुअघि प्रहरी बिटमा केहीबेर रोकिन्छन्। प्रहरीले उनीहरूको नाम ठेगाना टिप्छजस्तो छ। सायद धनगढी हुँदै काठमाडौं पठाउँछ होला। देशमै बाँच्ने वातावरण बनाउन नसके पनि नाकामा देश छोड्नेको नाम सोध्छ हाम्रो सरकार। नसोधेको भए पनि कसले के भन्थ्यो र!
अँ, म भन्दै थिएँ- बम्ब्याला मेरा बा बम्बैमै बिलाए।
बा बिते पनि मैले हिम्मत हारेको थिइनँ। दुई वर्षपछि एसएलसी पास गरिहाल्छु त्यसपछि स्कुलमा पढाउन पाइहाल्छु भन्ने थियो। तर जन्मिँदै लेखिएर आउने मान्छेको किस्मत हिम्मत गरेरमात्र बदलिँदो रैनछ। एसएलसीमा म फेल भएँ।
त्यति हुँदा पनि म बाजस्तो बम्ब्यालो हुन मन्जुर भइनँ। बरू कोही पनि बम्बै जानै नपर्ने व्यवस्था ल्याउने क्रान्तितिर लोभिएँ। तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा लागें। पार्टीले मलाई वडा जनसरकार प्रमुख बनायो।
त्यतिबेला हामी स्कुल, स्वास्थ्य चौकी र घरका भित्तामा लेख्थ्यौं- अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद- मुर्दावाद! जनताको जनवादी क्रान्ति- जिन्दावाद!
पार्टीको निर्देशन थियो-विस्तारवादी भारतसँग जुनसुकै बेला पनि युद्ध हुन सक्छ। भारतसँग सुरूङ युद्ध लड्ने तयारीका लागि जनसरकारले सबैका घर छेउमा दुई-दुइटा खाल्डा खन्न लगाएका थियो।
त्यतिबेला मलाई साँच्चै लाग्थ्यो- कुनै न कुनै दिन क्रान्तिले एउटा यस्तो बिहानी ल्याउने छ, त्यसपछि सबै मान्छे समान हुनेछन्, कसैलाई दुई छाक खान र एक सरो लाउन चिन्ता लिनु पर्ने छैन। मनभित्रैबाट मेरोजस्तै सोचेरै त हो हजारौं मान्छे लडाइँमा होमिएको।
तर हाम्रो त्यो सोच पानीको फोकाजस्तै रैछ। केही वर्षमै फुटेर गयो।
तपाईंहरूलाई थाहै छ- सात दल र माओवादीबीच विस्तारवादी भारतको राजधानी नयाँदिल्लीमा १२ बुँदे सम्झौता भयो। जनआन्दोलनपछि माओवादीले जनयुद्ध रोकेर शान्ति सम्झौता गर्यो।
क्रान्ति बीचैमा रोकिएर सम्झौता भएकाले हो कि काठमाडौं गएका नेताहरूले बिर्सेर हो हाम्रो गाउँमा कोही बम्बै जानु नपर्ने अवस्था कहिल्यै आएन।
पहिला क्रान्ति अनि पछि पार्टीको राजनीति गर्दागर्दै मलाई घर खर्च चलाउन मुश्किल पर्यो। खाडी जाने डेढ-दुई लाख रुपैयाँ नभएपछि २०६५ सालमा बम्बै जान म यहीँ गौरीफन्टा नाका पुगें।
बम्ब्यालाको छोरो म त्यसपछि बम्ब्यालै भएँ। अचेल लाग्छ, कोही-कोही मान्छेको नसिबमा केही-केही कुरा ढुंगामा खोपेझैं लेखिएका हुने रैछन्- मेट्नै नसकिने।
'यो देखायो भने जान दिन्छ नि होइन दाइ?' मेरो अगाडि उभिएको केटाले खल्तीबाट एउटा कागज निकाल्यो। म पुरानो कुराबाट ब्युँझें।
'दिन्छ होला,' मैले पनि वडा कार्यालयले दिएको सिफारिस सर्टको गोजीबाट निकालेर हेरें। त्यो सिफारिसलाई नागरिकता बराबर जतन गरी प्लास्टिकले बेरेर सँगै राखेको छु।
जनसरकार प्रमुख हुँदा दुस्मनका सुराकी सजिलै गाउँ नपसून् भनेर गाउँबाहिर जाने मान्छेलाई मैले पनि यस्तै सिफारिस दिन्थें, बाहिरबाट आएकाहरूसँग पनि सिफारिस छ कि छैन भनेर हेर्थें।
अस्ति वडाध्यक्षसँग भारत जाने सिफारिस माग्न जाँदा मैले सोधेको थिएँ- २० वर्षअघि क्रान्ति गर्दा म पनि यसरी नै सिफारिस दिन्थें। २० वर्षपछि चुनाव जितेर वडाध्यक्ष भएको तपाईं पनि उस्तै सिफारिस दिइरहनु भएको छ, फरक के भयो त?
उनी हाँसेमात्र जवाफ दिएनन्।
त्यो पत्र खल्तीमा हालेपछि मलाई आफ्नै विगत सम्झेर दिक्क लाग्यो- साम्यवाद ल्याउने सपना देखेर क्रान्तिमा होमिएकाहरूले चलाएको सरकार महामारीका बेला परदेशमा मजदुरी गर्न जान्छु भन्दा आफ्ना नागरिकलाई खुसीखुसी सिफारिस पत्र थमाइदिन्छ। दुनियाँभरि यस्तो निष्ठुरी सरकार नेपालमा मात्रै छ होला!
'तपाईंको नाम के हो?' बिटमा पुगेपछि रजिष्ट्ररमा केही लेखिरहेका पुलिसले सोधे।
'धनबहादुर बुढा क्षेत्री सर।'
ठेगाना?
'मोहन्याल गाउँपालिका, कैलाली।'
'काँ जान लाग्नुभएको?'
'बम्बै सर।'
'एक्लै हो?'
'हो सर।'
'सिफारिस-सिफारिस छ नि हैन?'
'छ सर।'
'ल राम्ररी जानुस् है। उता झन् धेरै कोरोनाको महामारी छ।'
ती प्रहरीले भनेको अन्तिम वाक्य मेरो कानमा होइन मुटुमा ठोक्कियो। यस्तो लाग्यो- मलाई एउटा बर्दी लगाएको पुलिसले होइन भर्खरै चुच्चे नक्सा बनेको नेपाल देशले नै बिदाइ गरिरहेको छ।
अहिले म दशगजामा हिँडिरहेको छु। मन यति चिsssसो भएको छ कि एसएसबीलाई देखाउन हातमा समाइरहेको नागरिकता र सिफारिस पनि झर्लाजस्तो भइरहेको छ।
म अघि उभिएको र अहिले हिँडिरहेको माटो उस्तै छ तर खुट्टा पनि आफ्नै देशको माटोमा मात्रै ढुक्कसँगले उभिन र हिँड्न सक्दा रहेछन्।
तपाईंहरूलाई थाहा छ नि-भारतमा दिनदिनै लाख जना कोरोना संक्रमित थपिन्छन्। कुनै दिन तिनै लाखमा म पनि पर्न सक्छु। मभन्दा अघि गएका वा पछाडि आइरहेका जोकोहीलाई कोरोना हुन सक्छ। कोरोनाले मरेका मान्छेको शव घर पठाउनु त परको कुरा छुँदै नछोई जलाइदिन्छन्।
मलाई शंका लागिरहेको छ- कतै मेरो नसिब पनि मेरा बाको जस्तै त छैन।
अहिले म एसएसबीको पोष्टमा पुगेको छु।
'नागरिकता देखाओ।'
पोष्टमा बसेको जुँगे एसएसबीले मेरो नागरिकता हेरिरहेको छ।
उसले 'ठीक है जाओ' भन्नुअघि म उभो फर्किएको छु।
के थाहा- फेरि आफ्नो मातृभूमि हेर्न पाउँछु कि पाउँदिनँ। तपाईंहरूलाई आफ्नो कथा सुनाउन फर्केर आउँछु कि आउँदिनँ!