लामा सम्लक्क परेका डाँडा, ओल्लो-पल्लो पाखो खोच्, थुम्कामा थुप्प-थुप्प परेका वस्ती। हिँउद्को समय अनि खडेरी पर्दा रातो उराठिलो देखिए पनि बर्खा याममा हरियाली देखिने पाखो बारी। डाँडाको थुम्कोमा बसेर हेर्दा सार्है मन लोभ्याउने दृष्य, त्यसमाथि सिर्-सिर् चलेको चिसो बतासको झोकले शरीर नै शितल बनाउने।
रातो माटोले लरक्क पारेर लिपेका कतै खर त कतै जस्ताले छाएका घरहरु खिया लागेर राता-राता देखिन्छन्। सबै घरको पछाडि साना-साना गोठहरु त कतै दाउरा राख्न बनाएका कट्कुराहरु।
गाउँको जिन्दगी साच्चिकै आनन्दको। न कसैको लोभ लालच्, इर्ष्या, न त सम्पत्ति, जागिरको पिर चिन्ता, न त कुनै देखासिकी नै। भुटुन्, तिउन, अन्नपातदेखि सबै घर-घरमा नै उत्पादन हुन्थे। तिनलाई प्रशोधन गर्न, कुट्न पिस्न, उत्पादन गर्न आफै बनाएका ढिकी, जाँतो, कल्, ओखल्, हलो, जुवा, कुटो, कोदालो। न वैज्ञानिक प्रविधिको आवश्यकता न त कुनै पैसाको लगानी गर्नु पर्ने, न त अरुमा निर्भर रहनु पर्ने नै। सबै परिवर आ-आफै आत्मनिर्भर भएर रमाएको रमाइलो गाउँ।
कहिलेकाहीँ नुन, चिनी सकिए मात्र पसलसम्म जानु पर्थ्यो। त्यही पनि महिनासम्म पुग्नेगरी बन्दोवस्त गरेर राख्ने चलन कहिलेकाहीँ त ओल्लो-पल्लो घरमा ऐँचो-पैँचो गरेर नै चल्थ्यो। बर्खामा गाँउभरीका सबै मिली अर्म-पर्मा गरेर खेतिपाती लगाउने, भित्र्याउने भएर होला कहिले थाकेनन्। हिउँदमा दाउरा काट्ने, अरु सबै आवश्यक चिजको जोहो गरेर राख्ने बानिले सधैको व्यस्त देखिन्थ्यो वस्ती।
घर-घरका छानामा मकैका झुत्ता सुकाएका हुथ्यो। आँगनभरी अन्न विस्कुन सुकाएर चरा चुरुङ्गी, बाख्रा पाठा पाठीले खान्छन्, बिठ्याइ गछन् भनेर कुरेर बस्थिन् घरकी बुढी आमै, नाती नातीनइलाई पिठ्यौमा पछौरिको भरमा अडयाउँदै।
खेतबारी जोत्न एक हल गोरु, दशैँ मनाउन भनेर पालेर राखेका पाठापाठी, कहिले गोरस नछुटाउन पालेका २-२ वटा लैनो भैँसिले गोठ भरिभराउ हुन्थ्यो। कट्कुरो भरी चिर्पटे दाउरा हुन्थे।
घरको करेसा, आँगनमा केटाकेटीले चुङ्गि, डन्डिबियो, गुच्छा खेल्न बनाएका खोपी र धुलो उस्तै। स्कूल बिदा हुने बित्तिकै एउटा हातले (गँहु, मकै, कोदोको) आधा पाकेको आधा काचै रोटी हतार-हतार खाँदै अर्को हातले तलसम्म लत्रक परेको सिँगान लुगाको बाउलाले पुस्दै खेल्न दौडिन्थे।
कलाठी परेका कालो मैलो कपडा, नपरुन् पनि त कसरी? सधैँ धुलो मैलोमा खेलेपछि। कती त स्कूलको ड्रेस नखोली दौडिन्थे। आमा पछि-पछि हातमा सिरेठो लिदै चिच्चाउथिन् 'ए कुलङ्गार, कपडा फेरेर त जा।'
सूचना प्रवाहको लागि मोबाइल, टिभि केही पनि थिएन। कता कतिले लेख्न जान्नेले चिठी लेख्थे तर पुग्नै महिनौ लाग्थ्यो। कोही बिरामी भयो भने मान्छेले नै खबर लिएर जान्थे, भेट्ने मान्छे आइपुग्दासम्म स्वर्गवास भैसक्थे।
कुनै पनि प्रबिधि बिनानै कति सुखि, खुशी अनि सुन्दर थियो गाउँघर। आपसी सहयोग, मेल मिलापत भन्नै परेन। ४-५ घरहरु फाट्टफुट्ट भएता पनि केटाकेटीको चिच्चाइ, गाइ भैँसिको कराइ, चरा चुरुङ्गीको चिर्बिर-चिर्बिर आवजले गुन्जिन्थ्यो गाउँ।
तर आज मानिसको असिमित इच्छा, रहर र उत्सुकताले गर्दा मानिसहरु गाउँदेखि सहर, सहरदेखि परदेश पलाएन् हुन थाले। जसरी गुणका बचेराहरु पखेटा पलाएपछि रात दिन आहारा खोजेर खुवाउने बाबु-आमा अनि त्यो गुणलाई छोडेर उडेर विचित्र संसारमा हराउछन्, त्यसरी नै मानिस पनि आ-आफ्नो गाउँलाई छाडेर हराउन थाले।
कति रहरले त कति बाध्यताले, कति सुन्दर भविष्यको कल्पनाले। जसरी छाडे पनि आखिर गाउँलाई रित्तो अनि खाली बनाएर नै गए। अहिले आएर केटाकेटी र बुढा भएका बा-आमा मात्र गाउँमा रहे। अन्न बालीले भरी-भराउ भकारी, मकैको झुत्तोले भरिने बलिन पनि खाली हुँदै गए।
ढिकी जाँतोमा धमिरोले घर बनाए। पाखो बारीलाई पनि बनमासा र बन्सोले ढोक्यो। घाँस काटेर हाल्न नसकेपछि गोठको बाख्रा भैसी पनि बेच्नु पर्ने स्थिति आयो। भरी-भराउ गोठ पनि रित्तै भए। आँगनमा पोखिएको मकैका दाना खान नपाएपछि परेवा पनि बसाइ सर्यो। गौँथलिले माटो बोकेर घर बनाउन छोड्यो। कमिलाका ताँती कता हराए कता।
करेसा र आँगनमा बनाएका खोपीहरु पुरिदै गए। बिस्कुन सुकाउने, बाख्राका पाठा-पाठी उफ्रिने, केटाकेटी खेल्ने आँगनलाई मोथेले ढाक्यो। सबैको आवाजले गुन्जिने गाउँमा सन्नटा छाएर कोइलीको एकोहोरो कुहु-कुहु आवाज मात्र सुनिन थाल्यो।
पर-पर घरका छानाबाट धुँवाको मुस्लो बुङ-बुङ्ती पुत्ताएको देखिन्छ। बुढी भएकी आमैले दाउरा चिर्न नसकेर होला कि दाउरो राख्ने कुट्कुरो चुहिने भएर होला धुँवा मात्र देखिन्छ। बुढा-बुढी कहिलेकाही लौरी टेकेर तल-माथि गर्छन्।
लौरीको साहारामा ४-५ पाइलो सार्दै सुइसुइ सुस्केर हाल्दै पछ्याउरीको टुँडोले पसिना पुस्दै छोरा बुहारीले ठेक्का लगाइदिएको पसलबाट सामान ल्याउने, गाग्रीमा खेप हालेर पानी बोक्ने शक्ति सकिएर जर्किनमा ५-६ पटक खेप गरेर पानी बोक्दै बाँचेका छन्।
बिहान उठ्यो दैलो चिसो बनायो, जर्किन बोक्यो, पेटिकोट र धोती काँधमा हालेर पँधेरा जाने पानी ल्याएर कालो कित्लीमा दुई मुठी पानी, चिनी, चियापत्ती हालेर भुलुक्क पारेर बुढा-बुढी ओल्लो-पल्लो पिँढीमा बसेर सुरुप-सुरुप पार्द दिनको सुरुआत गर्छन्। छोराले दशैँमा भरिदिएर छाडेको ग्याँसको घैंटो, चुलो पनि ध्वासोले रंगिएको छ। तीनै आउँदा दाउरा बाल्न जान्दैनन्, अल्छी गछन् भनेर नचलाई जोगाएर राखेर।
वर्षको एकपटक मुस्किलले भए पनि ४-५ दिनलाई बिदा मिलाएर दशैँ मनाउन गाँउमै आउछन्। बिचरी आमै नाति-नातीनालाई आघाउन्जेल हेर्ने र पिठ्यौमा बोकेर डुलाउने रहर पूरा गर्न नपाउँदै फेरि उही सन्नटा अनि एकान्त बास सुरु हुन्छ। फेरि यो दिन आउन पूरै एक वर्ष कुर्नु पर्ने लामो पर्खाइ।
विकासले गाउँ-गाउँमा सुस्त-सुस्त गतिमा पाइला चाले पनि अहिले थोरै भए पनि परिवर्तन भएको छ। कहिलेकाही बाइक हिड्छन्। बिजुली बत्तिले झलमल्ल देखिन्छ। मोबाइलको सुबिधा भएर केही मात्रामा सन्नटालाई चिरेको छ, अलिकती भए अनि जिउने आधार बनेको छ। त्यसैमा सुनेको आवाजले पनि धेरै न्यास्रो मेटाएको छ, आड भरोसा दिलाएको छ बुढाबुढीको लागि।
छोरोले पहिलो जागिर खाएर किनिदिएको त्यही मोबाइल साथी भएको छ एकान्तबासको। उसैले नै सिकाएको थियो हरियो दाबेर बोल्ने, रातो दाबेर राख्ने, स्पीड डायल को १, २, ३, ४, ५ दबाएर जेठो, माइलो, कान्छो छोराछोरी अनि माइतीलाई फोन हान्न। न्यास्रो लागे कहिलेकाहीँ आफै फोन हान्ने भएकी छिन्।
जतन गरेर पटुकीमा पोको पार्छिन्। ३-४ दिन फोन बजेन भने पल्लो घरकि बुहारीलाई लौन हेर्देउ बज्दै बज्दैन भनेर देखाउन पुग्छिन्। जाँहा-जाँदा पनि भिरेर हिँड्ने, जनै जस्तै भएको छ मोबाइल र लौरी त जिवनको साहारा सरी।
आज ४-५ दिन नै भयो आमैको फोन नकराएको। के भयो बिग्रियोकी भनेर यता-उता ठोक-ठाक पार्छिन् कुनै बत्ती बल्दैन। फोन पनि आएन। छोरोले सिकाए जसरी नम्बर दाब्छिन्, कानको नजिकै लगेर ठनास्दै 'हेल्लो हेल्लो' गर्छिन्। केटी मान्छेको आवाज सुनेर सधै छोरोले उठाउने फोन आज बुहारीले उठाइछ भन्दै 'नानी सन्चै छौ किन हो फुन पनि गरेनौ, जाद्रै नास्रो लाइछ नि' बोलिरहन्छिन।
तर उताबाट सोधेको कुरोको जवाफ नआएर एक्नासले 'कोभिड १९ का मुख्य लक्षणहरु जोरो आउने, थकाइ लाग्ने, सुख्खा खोकी लाग्ने आदि हुन्' भन्दै बोलेको एउटै आवाज मात्रै सुन्छिन्। लौन को बोल्छ मेरो छोरोको मुबाइलमा आफू मात्रै बोल्छे भन्दै भुट्भुटाउँदै, एउटा हातमा मोबाइल र आर्को हातले तलसम्म लत्रेको पटुकी समाउँदै तीनै पल्लो घरकी बुहारीलाई देखाउन जान्छिन्।
सधै एकान्त बास बसेका बुढा बा-आमैलाई के थाहा कोरोनाले लाखौ मान्छे मरे। नेपाल पनि त्यसको अछुतो नभै रहेन भन्ने कुरो।
'कोरोना भन्ने रोग आयो रे आमै, सबै बन्द भयो। सबै घर घरमै बस्ने रे, नेपाल सरकारले पनि सबै स्कूल पसल गाडी बन्द गर्न लागो। भोलिदेखि सबै सहर बाजार छोडेर गाउँ हिँडे रे। कतै हजुरका छोराहरु पनि हिँडेकी फोन नलाग्दा' भनेर तीनै नानीले भनेपछि मनभरी कुरा खेलाउदै घर फर्किन्छिन्।
साँझ झिसमिसेको आध्यारो नजिकैको मान्छे नदेखिने, घरको पिँढीभरी पोको र मान्छे मात्रै छन्। त्यसै त धमिलो भैसकेको आँखा, ठम्याउन नसकेर अनुहार नजिकै गएर हेर्दा त आफ्ना सन्तान पो सबै भरिभराउ रहेछन्। हर्षले गद्गद् भएर थोता राता गिँजा देखाउदै हास्छिन् बुढी आमै।
१०-१५ वर्ष पहिले गाउँ छोड्न लर्को लागेको देउरालीमा अहिले गाउँ झर्नेको ताँती देखिन थाले। वर्षौ वर्ष चाबी लागेर बन्द घरमा पिर्ली-पिर्ली बत्ती बल्न लागे। गोरु नारेर जोत्ने चलन हराए पनि हाते ट्याक्टर लगेर बारी जोतेर लगाएको मकैले पाखाबारी पनि हरियो भएर आयो।
लगाएका झ्याल पातका लहराहरु पनि झ्याक्रामा गएर फल्न थाले। खाली र चुहिने भएको दाउरोको कट्कुरो पनि रुप फेर्यो। दशैँ मनाउन भनेर बाधेँका खसी र बाख्राले पनि गोठ चाहलपहल भएर आयो। केटाकेटी जम्मा भएर फेरि करेसामा खेल्न सुरु गरे, आँगनको झार पनि हराउँदै गयो।
नाति-नातिनीलाई गोरस खुवाउन भन्दै बा लौरी टेकेर भैँसी खोज्न गाउँ लागे। कुहु-कुहु सुनिने एकनासको कोइलीको आवाज पनि मन्द हुँदै गए।
लौरी र मोबाइललाई साथी बनाएकी आमै पनि फुर्तिली भएर नातिनी पिठ्यौमा बोक्दै 'हाय यो कोरोना कि के जातिले हो थुप्रै मान्छे मार्यो रे, धेरैलाई दुख दियो भन्छन् तर मुलाई त मेरा सन्तान घर फर्काइ दिएर जाद्रै नाम्रो पो लागेको छ' भन्दै थोता गिँजा देखाउँदै मुजा परेका अनुहारमा झन् मुजा पार्दै लौरी बिना नै खुशी हुँदै ओल्लो-पल्लो घर डुल्न थालेकी छिन्।