उसको नाउँ त रमा हो, तर म उसलाई सूर्यमुखी भनेर नै बोलाउँथेँ। हाम्रो पहिलो भेटा एउटा नाट्यशालामा भएको थियो र छुटानाम पनि नाट्यशालाबाट नै।
अचेल सूर्यमुखी मलाई देखेर पनि देख्दिन, चिनेर पनि चिन्दिनँ। तर मभित्र भने रही-रही एउटा सूर्यमुखी फक्रिन्छ-ओइलिन्छ-झर्छ, फक्रिन्छ-ओइलिन्छ-झर्छ। कहिलेकाहीँ यस्तो लाग्छ, बाटामा गइरहेकी सूर्यमुखीका दुवै पाखुरा समातेर भनूँ - 'सूर्यमुखी, तँ अझै मेरो हृदयको गमलामा ताजै छेस्। नमार् आफ्नो प्रतिभालाई!'
तर म त्यसो गर्न सक्दिनँ। मेरी सूर्यमुखी अचेल सहरभरिका ठिटाहरूकी रमा मात्र शेष रहन गएकी छ। ऊ जुन सडकबाट हिँड्छे, सडक नै उचालिदिन्छे। होटलमा काम गर्ने ठिटाहरूदेखि लिएर रिक्सावाल, ट्याक्सी ड्राइभर र बाह्रमासेहरूसम्म सुसेली हाल्दै अनेकवली भनेर गिज्याउन लाग्छन् उसलाई। कति पल्ट यस्ता घटना आफ्नै आँखाले देखेको हुँ र ऊप्रति असाध्य घृणा उब्जेको थियो मेरो मनभरि। उसलाई चटक्कै बिर्सिदिने चेष्टा पनि गरेँ तर सकिनँ। रही-रही ऊ फक्रिरही-ओइलिरही-झरिरही।
वास्तवमा ऊ त्यस्ती थिइन, न त्यस्ती होली भन्ने नै चिताएको थिएँ। मलाई राम्रो थाहा छ, उससँग मैले पहिलो नाटक 'राम वनवास' खलेको थिएँ र त्यसमा ऊ सीता भएकी थिई र म चाहिँ राम भएको थिएँ नाटकमा ऊ नायिका हुन्थी, आवश्यक पर्दा नाच्थी र बेला-बखतमा गाउँथी पनि। यसरी उसले हाम्रो टोलीमा प्रसिद्धि कमाइसकेकी थिई।
म अझै त्यही नाट्यशालामा काम गरिरहेको छु। अब नायकको अभिनय गर्न छोडेर म बूढो मान्छेको अभिनय गर्न लागेको छु। वैँश ढल्किसकेकाले पनि होला, अचेल कसैले मलाई नायक बनाउने प्रसंग पनि उठाउँदैन। कथकङ्कदाचित् त्यस्तो कुरा चलिहाले पनि केटीहरू हच्किन्छन्। सायद उनीहरूका लागि म अब नसुहाउने भइसकेको छु। अचेल नाट्यशालामा धेरै नयाँ-नयाँ कलाकारहरू थपिएका छन् र अघिभन्दा दोब्बर चहलपहल पनि बढेको छ। तर मलाई कता-कता ती जम्मै अनुहारहरूभन्दा पर सूर्यमुखीको अनुहारको सम्झना भइरहन्छ।
यस्तो लाग्छ, हामी चाहिँ अझै नाट्यशालाभित्र कल्पित नाटक खेल्नैमा व्यस्त छौँ र ऊ चाहिँ त्यो परिधि नाघिसकेर यथार्थ नाटक खेलिरहेकी छ। एक पल्ट उसले भनेकी थिई - 'सुन्नुभो दाइ, हाम्री आमाको बिहे नहुँदै म जन्मेकी रे! मेरो बाबु म नजन्मिँदै गाउँ छोडेर भागेको रे! लोग्नेमान्छे कति निष्ठुर हुन्छन् हो कि? कहिले त जम्मै लोग्नेमान्छेसँग प्रतिशोध लिऊँ जस्तो लाग्छ मलाई।'
सोच्छु - कतै ऊ प्रतिशोध त लिइरहेकी छैन? दिनहुँ कति लोग्नेमान्छे उसको पछि लागिरहेका हुन्छन्। कतिले आफ्नो दिनभरिको कमाइ नै फुकिदिन्छन् उसका लागि। सायद ऊ धेरैलाई बिगारेर आमाको इज्जत लुट्नेहरूसँग प्रतिशोध नै लिन लागिरहिछ।
उसलाई नाट्यशालाबाट निकाल्नमा पनि मेरै प्रमुख हात थियो। रहँदा-बस्दा ऊभित्र गुम्सिरहेको ज्वाला नाट्यशालाभित्रै दन्किन लागेको थियो। बिस्तार-बिस्तार हाम्रो टोलीका धेरै केटाहरू त्यस ज्वालाको लप्कामा परिसकेका थिए र नाट्यशाला नै जल्ने सम्भावना देखिन लागेको कुरा मैले स्पष्ट बुझिसकेको थिएँ। एकदुई पल्ट चेताएको पनि हुँ, तर काम लागेन र अन्त्यमा नचाहँदा-नचाहँदै पनि उसलाई नाट्यशालाबाट बिदा दिनै परेको थियो।
यी जम्मै कुरा हुँदाहुँदै पनि सूर्यमुखी मेरा आँखामा एउटा बेग्लै मूल्य लिएर उभिन्छे। ऊभित्र रहेको कलाकार मलाई सधैँ भनिरहेको हुन्छ - 'दाइ, जस्तै रोल दिनुहोस्, म खेल्न सक्छु।'
साँच्चै, ऊ जस्तै रोल पनि खेल्न सक्दी रहिछ भन्ने कुरा नाट्यशाला छोडेपछि सडकभरि, सहरभरि खेलेर देखाइरहेकी छ।
एकान्तमा बसेको बेला मभित्र जब ऊ फक्रिँदै जान्छे, अनि एउटा चिसो आशङ्काले मलाई अँचेट्छ– सूर्यमुखीको भविष्य के होला?
(कवि एवं कथाकार हरिभक्त कटुवालकाे यस कथा उनकाे एकमात्र कथासंग्रह ‘स्पष्टीकरण’बाट साभार गरिएकाे हाे।)