पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ।
यो नयाँ प्लेटफर्मले नीतिनिर्माताहरू, पर्यटन व्यवसायी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन योगदान पुर्याउने बोर्डले जनाएको छ।
‘पर्यटनको वर्तमान स्थिति र पुनरुत्थान रणनीतिहरू’ विषयमा पर्यटनका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग आइतबार काठमाडौंमा आयोजित ‘मीट एण्ड ग्रीट’ कार्यक्रममा ‘टुरिजम इन्साइट्स’ सार्वजनिक गरिएको हो।
बोर्डका अनुसन्धान विभागका अधिकृत कविन्द्र भट्टका अनुसार प्रकाशनमा आगन्तुक संख्या, मुख्य स्रोत बजार, क्षेत्रगत आगमन, विदेशी मुद्रा आम्दानी र प्रत्यक्ष विदेशी लगानीका तथ्यांकहरू समेटिएका छन्।
साथै, संयुक्त राष्ट्र पर्यटन संगठन र विश्व यात्रा तथा पर्यटन परिषद् जस्ता अन्तर्राष्ट्रिय निकायका तथ्यांक र प्रवृत्तिहरू पनि समावेश गरिएको छ।
कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘टुरिजम इन्साइट्स’ले नेपालको पर्यटन क्षेत्रलाई दिगो विकासतर्फ लैजान आवश्यक तथ्यांक र रणनीतिक दिशानिर्देश प्रदान गर्ने विश्वास व्यक्त गरे।
साथै उनले हालको संकटपछि पर्यटन क्षेत्रको सुरक्षामा बोर्डले गरेका प्रयासहरू र नेपाललाई सुरक्षित गन्तव्यको रूपमा विश्वसामु प्रस्तुत गर्न चालिएका कदमबारे जानकारी दिए।
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले निजी क्षेत्रसँगको सहकार्यमा थप समन्वय आवश्यक रहेको र सरकारलाई पर्यटनको महत्त्वबारे थप प्रष्ट पार्नुपर्ने सुझाव दिए।
त्यसैगरी, पाटाका महासचिवसमेत रहेका बोर्ड सदस्य नरेन्द्र भट्टले संकटको समयमा दीर्घकालीन रणनीति निर्माण गरी पर्यटन क्षेत्रलाई कमजोर हुन नदिन पहल थाल्नु पर्नेमा जोड दिए।
कार्यक्रममा सम्बन्धित सरोकारवालाहरूले नेपाललाई सुरक्षित गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा प्रवर्द्धन गर्नुपर्ने सुझाव दिए।
साथै विदेशी इन्फ्लुएन्सरलाई आमन्त्रण गर्न र सरकारसँग टास्कफोर्स गठन गरी संकट सामना गर्न सुझाव दिए।