शनिबार बिहान विराटनगरबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा डाइभर्ट भएको छ।
काठमाडौंमा मौसम खराबीले गर्दा विमान अवतरण गर्न नसक्ने अवस्था देखिएपछि उक्त विमान पोखरा डाइभर्ट भएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त जहाज बिहान ९ः२२ मा अवतरण भएको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राती आएका यती र बुद्ध एयरलाइन्सका एक/एक वटा जहाज काठमाडौं फर्किएका थिए।
त्यसपछि विराटनगरबाट आएको यती एयरलाइन्सको जहाज पोखरा अवतरण भएको थियो। त्यसयता मौसम खराबीका कारण कुनै पनि विमान उडान तथा अवतरण नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले बताइन्।
उनका अनुसार विराटनगरबाट आएको जहाज अवतरण भएपछि पोखराबाट कुनै पनि जहाज उडान तथा अवतरण भएका छैनन्।
भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको पनि प्रवक्ता रेग्मीले बताइन्।
'मौसमले गर्दा वरिपरिका डाँडाहरू देखिँदैनन्, अहिले विमानस्थल बन्द छ,' उनले भनिन्, 'आज पोखराबाट २ वटा विमान मात्र काठमाडौं गए। विराटनगरबाट डाइभर्ट भएर आएको एउटा जहाज मात्र पोखरा अवतरण भएको छ।'
गण्डकी प्रदेशमा शनिबार साँझदेखि नै पानी परिरहेको छ। पानीसँगै लागेको हुस्सु र कुहिरोले गर्दा विमानस्थल सञ्चालन गर्न आवश्यक भिजिबिलिटी नपुगेको प्रवक्ता रेग्मीले बताइन्।