नेपाल पर्यटन बोर्डले जेनजी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ।
नेपाल पर्यटक बोर्डले सो आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नेपालको पर्यटक क्षेत्रको मनोबल घटाएको जानकारी दिएको हो।
विश्व पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सो आन्दोलनका क्रममा तत्काल गत वर्षको तुलनामा पर्यटकको आगमनमा ४५ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक गरे।
उनले गत वर्ष असोजको पहिलो हप्ता पर्यटकको संख्या ३३/३४ सय भएकोमा यस वर्ष जेनजी आन्दोलनको कारण त्यो संख्या घटेर १६ सय पुगेको उल्लेख गरे। तर अब थप अरू दुर्घटना नभएको त्यसमा सुधार आउने पर्यटन बोर्डको आँकलन छ।
प्रमुख कार्यकारी अधिकृत जोशीले भने, ‘यो भदौ २३ र २४ गते जुन आन्दोलन भयो, आगजनीका घटनाहरूका कारण पर्यटक आगमनको संख्यामा कमी भयो। त्यसले ठ्याक्कै सिजन सुरू हुँदै गर्दा हामीलाई अलिकति मनोबल खस्काएको अवस्था छ। यहाँहरूलाई जानकारी गराउन पर्दाखेरी सेप्टेम्बरमा हाम्रो एभरेजमा करिब करिब ३३/३४ सय पर्यटकहरू प्रतिदिन आगमन हुन्थ्यो । र, यसको पहिलो हप्ता करिब करिब ३ हजार माथि नै हाम्रो पर्यटकको आगमन संख्या थियो। यो घटनाको दौरान यो हप्तामा त्यो घटेर १६ सय जस्तो पुगेको छ। जुन चाहिँ करिब ४५ प्रतिशतले डाउन देखिन्छ।’
पर्यटन बोर्डले नेपालमा पर्यटन भित्र्याउनका लागि सही सूचना दिने प्रणालीलाई प्रभावकारी बनाइएको पनि दाबी गरेको छ।
प्रमुख कार्यकारी अधिकृत जोशीले सूचना प्रणालीको राम्रो व्यवस्थापन गरेर पर्यटकलाई दिगो रूपमा नेपाल भित्र्याउने कामलाई सघन ढंगले अघि बढाइएको बताए। त्यसका लागि सरकारी र निजी क्षेत्र दुवैले संयुक्त रूपमा पहल गर्नुपर्ने उनको भनाइ छ।–न्युज एजेन्सी नेपाल