चितवनमा जंगल सफारीमा बढ्दो प्रतिस्पर्धाले दुर्घटना बढेको छ। सौराहाबाट पर्यटक बोकेर चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती वनहरूमा जाने सफारी गाडीहरूबीच तीब्र प्रतिस्पर्धा हुने गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार शुक्रबारयता मात्रै दुई पटक सफारी गाडी दुर्घटनामा परेका छन्। दुर्घटना भएका दुबै गाडीमा कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने पर्यटक चढेका थिए।
सोमबार बिहान पर्यटक बोकेर सफारीका लागि गुडेको केही मिनेटमै गाडी पल्टिएको थियो। ना ४ च ३३५५ नम्बरको गाडीमा १० जना चढेका थिए। गाडी पल्टिँदा ३ जना घाइते भएका छन्। घाइते भएका लमजुङको मस्याङ्दी–८ का ३५ वर्षीय विष्णु तामाङ, २७ वर्षीय अर्जुन घले, २७ वर्षीय मनोज गुरूङ घाइते भएका हुन्। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। चालक गंगाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत शुक्रबार दिउँसो पनि सौराहाबाट पर्यटक बोकेर गएको ना ३ च १८६१ नम्बरको गाडी दराई बोटे ताल नजिकै दुर्घटना भएको थियो। उक्त दुर्घटनामा गाडीमा सवार ८ जना पर्यटकहरू घाइते भएका थिए। दुर्घटनापछि फरार भएका चालकलाई पछि प्रहरीले नियन्त्रणमा लिएको थियो। गत वर्ष पनि कुमरोज वनमै गाडी दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी राविन्द्र खनालले ‘ओभरस्पिड’ का कारण दुर्घटना भएको पत्ता लागेको जानकारी दिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माले तीब्र गतिमा रहेको गाडी मोडमा घुमाउन नसक्दा दुर्घटना भएको बताए।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगर कुमरोज मध्यवर्ती सामुदायिक वनमा पर्यटक बोकेर गएका गाडीहरू दुर्घटना बेला–बेलामा दुर्घटना भइरहेको बताउँछन्। यस विषयमा सफारी गाडीका सञ्चालक, चालक र वनका पदाधिकारीलाई सचेत गराइने उनले बताए।
चितवनमा ढुवानीका लागि प्रयोग गरिने गाडीहरूलाई ‘मोडिफाइ’ गरेर जंगल सफारीका लागि प्रयोग गर्ने गरिएको छ। कानुनी रूपमा चालकसहित दुई जना र चार जनामात्रै चढ्न मिल्ने गाडीमा १० वटा सिट थप गरेर सफारीमा प्रयोग गरिँदै आएको छ।
कुनै गाडीले त १४ जनासम्म चढाउने गरेका छन्। कानुनअनुसार मोडिफाइ गरेपछि यातायात व्यवस्था कार्यालयबाट प्रमाणित गराउनुपर्छ। तर यहाँका सफारी गाडीहरू प्रमाणित नगरि चलिरहेका छन्।
सौराहाबाट विभिन्न वनहरूमा पर्यटकलाई घुमाउने सफारी गाडी एक सय बढी छन्। कुमरोज वनमा मात्रै दैनिक ६० वटा गाडी पर्यटक बोकेर प्रवेश गर्छन्। दैनिक सयौं पर्यटकले सफारी गर्ने गरे पनि मोडिफाइ गरेको प्रमाणित नगरेका गाडीहरूले यात्रूको बिमा पनि गर्ने गरेका छैनन्।
चितवन निकुञ्जले केही वर्षअघि सफारीमा प्रयोग हुने गाडी दर्ताको प्रक्रिया अगाडि बढाए पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेको छैन। यस विषयमा कुनै पनि निकायले अनुगमन र नियमन गरेको पाइँदैन। निकुञ्जले मापदण्ड विपरीत चलेका गाडीहरूबाट राजश्व भने उठाउँछ।
यातायात व्यवस्था कार्यालय चितवनका अधिकृत सुरेशकुमार चपाँईले सफारी गाडी सञ्चालकहरूको आग्रहपछि मन्त्रालयले यस विषयमा निर्णय गर्ने भनेर फाइल उठाएको भए पनि अहिलेसम्म कुनै निर्णय भएको जानकारी नआएको बताए।
‘यो अवस्थामा जति सिट कानुनी रूपमा कायम छ त्यतिको मात्रै बिमा गर्न मिल्छ। अन्य सिटमा जोखिम मोलेरै यात्रा गर्ने हो,’ चपाँईले भने।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख शर्माले सवारी ऐनमा सवारी साधनहरू मोडिफाइ गरेर चलाउन नपाउने व्यवस्था रहेको बताए। तर सौराहामा पर्यटन क्षेत्रलाई भनेर विशेष सुविधा दिइँदै आएको उनले बताए।
चितवन नेचर गाइड एसोशिएसनका अध्यक्ष अनिल गुरूङ चालकको लापरबाहीका कारण सफारी गाडीहरू दुर्घटनामा पर्ने गरेको बताउँछन्। ‘गाडी द्रूत गतिमा चलाउने, लागु पदार्थ सेवन गरेर चलाउने, मोबाइल चलाउँदै चलाउने, चालकको अर्धदक्षतालगायतका समस्या धेरै देखिन्छ। चालकको लापरबाही बढ्दा दुर्घटनाको जोखिम बढेको छ,’ गुरूङ भन्छन्।
चितवन निकुञ्ज र सामुदायिक वनहरूमा सफारी गाडीहरू तीब्र गतिमा हुइँकी रहेको भिडियो बेला–बेलामा सामाजिक सञ्जालमा पनि पोष्ट हुने गरेको छ।
अध्यक्ष गुरूङले मापदण्ड विपरीतका सवारी साधन, मोडिफाइ गरेर बनाइएका असुरक्षित सिट, क्षमता भन्दा बढी सवारी, धेरै कमाउने लालच, समयको पावन्दी पनि दुर्घटनाको जोखिम बढाउने कारण रहेको बताए।
‘गाइड र चालकका बीचमा समन्वय नहुनु पनि दुर्घटनाको कारण देखिएको छ। यस्ता लापरबाहीले पर्यटहरूको भ्रमण जोखिमपूण भइरहेको छ। यसलाई रोक्न सम्बन्धित निकायहरूले प्रयास गर्नुपर्छ,’ गुरूङ भन्छन्।
सौराहाबाहेक अन्य क्षेत्रमा पर्यटकलाई जंगल सफारी गराउन सिट थपेर, उचाइ बढाएर गाडीको स्वरूप परिवर्तन गर्ने गरिएको छ। सिट कायम गरिएको सफारी गाडी निकै कम होटलसँग मात्रै छ।