विदेशीका आँखामा काठमाडौं
विदेशीहरूका आँखाबाट हेर्दा नेपाल कस्तो देखिएला भनेर जान्ने उत्सुकताले मैले यो शृंखला सुरू गरेको हुँ।
यो शृंखलामा म काठमाडौं उपत्यकाका विभिन्न पर्यटन केन्द्रमा गएर त्यहाँ घुमिरहेका विदेशी पर्यटकसँग कुरा गर्छु र उनीहरूलाई नेपाल कस्तो लाग्यो, के राम्रो लाग्यो, के नराम्रो लाग्यो भनेर सोध्छु।
यही सिलसिलामा मैले केही दिनअघि ठमेलमा हिँड्दै गरेका एक पर्यटक दम्पतीसँग कुरा गरेँ।
सुरूमा जब मैले उनीहरूको नाम सोधेँ, दुवै मरीमरी हाँसे। नाम सोध्दा पनि किन हाँसे होलान् भनेर म छक्क परेँ। त्यसको कारण उनीहरूको नाममै रहेछ।
श्रीमतीको नाम सिल्भी, श्रीमानको सिल्भान।
'हामी नामबाटै जोडिएका हौं,' सिल्भीले भनिन्, 'हाम्रो भेट एक जना साथीको माध्यमबाट भएको थियो। उनलाई हामी दुवै राम्ररी चिन्थ्यौं। पहिलोपटक भेट्दा जब हामीले एकअर्काको नाम सुन्यौं, हामी आफै दंग परेर हाँसेका थियौं। त्यही हाँसोले हामीलाई आजसम्म बाँधेर राखेको छ।'
सिल्भीले यसो भन्दै गर्दा छेउमा बसेका सिल्भान मुसुमुसु हाँस्दै नै थिए।
उनीहरू फ्रान्सबाट ट्रेकिङ गर्न उद्देश्यले नेपाल आएका हुन्। काठमाडौंमा एक दिन बसेर अर्को दिन बिहानै लुक्ला उडेका थिए। त्यसको भोलिपल्टबाटै सगरमाथा आधारशिविरको पदयात्रामा लागे।
पदयात्रा सकेर पोखरामा केही दिन बिताएका उनीहरू अहिले काठमाडौं घुम्दै छन्।
यो उनीहरूको पहिलो नेपाल भ्रमण होइन। उनीहरू अहिलेसम्म सातचोटि आइसके। हरेकचोटि फरक फरक गन्तव्यमा पदयात्रा गर्दै आएको र लगभग एक महिना नेपालमा बिताउने गरेको उनीहरू बताउँछन्।
'नेपालका हिमाली शृंखलाको तस्बिरले हामीलाई यहाँ आउन प्रेरित गरेको थियो,' सिल्भानले भने, 'गुगलमा नेपाल भनेर खोज्दा जे-जस्ता तस्बिर देखिन्थे, त्यसले हामीलाई यो देश भ्रमण गर्न हुटहुटी जगायो। त्यही हुटहुटीले सातचोटि आइसक्दा पनि धित मरेको छैन।'
उनीहरूले नेपालका चारवटा ट्रेकिङ रूट यात्रा गरिसके — सगरमाथा आधारशिविर, अन्नपूर्ण सर्किट, कञ्चनजंघा र अन्नपूर्ण आधारशिविर।
यी चार रूटमध्ये सगरमाथा आधारशिविर र अन्नपूर्ण सर्किट सबभन्दा मनपरेको उनीहरू बताउँछन्। त्यही भएर सगरमाथा पदयात्रा तीनचोटि गरिसके भने अन्नपूर्ण सर्किट दुईचोटि।
'यहाँ ट्रेकिङ गर्दा धेरै आनन्द र शान्ति महसुस हुन्छ। नेपालको हिमाली पदयात्रामा जति मनको शान्ति संसारमा कहीँ पाएका छैनौं,' सिल्भीले भनिन्, 'हिमाली हावामा सास फेर्दा मनका विकारहरू सबै हराएर गएझैं लाग्छ। अर्कै संसारमा पुगेझैं महसुस हुन्छ।'
यसपालि तेस्रोचोटि सगरमाथा पदयात्रामा गएकाले पहिलेभन्दा सजिलो भएको र पहिलेभन्दा बढी आनन्द लागेको उनीहरू बताउँछन्।
सिल्भी र सिल्भान १४ वर्षअघि पहिलोपटक नेपाल आएका थिए। त्यति बेला एक परिचित व्यक्तिको साथ लागेर आएका उनीहरू त्यसपछि दुई जना मात्र आइरहेका छन्। उनीहरू नेपाल आउँदा एक महिनाको छुट्टी मिलाउँछन् र एकदिन पनि खेर नफाली सम्भव भएसम्मका गन्तव्य पुग्छन्।
ट्रेकिङबाहेक तपाईंहरूलाई नेपालमा के-के कुराले आकर्षित गर्छ त?
यो प्रश्नमा उनीहरूले सबभन्दा पहिला काठमाडौंको वर्णन गरे।
यहाँको प्राचीन सम्पदा, संस्कृति, जनजीवन र यहाँका पुराना गल्लीहरू एकदमै मनपरेको उनीहरूको भनाइ छ।
'हामीलाई काठमाडौंको हरेक गल्ली थाहा छ। हामी नक्सा नहेरी, गाइडको सहायताबिना एक-एक गल्ली घुम्न सक्छौं,' उनीहरूले भने, 'बरू काठमाडौंमै बस्नेहरू यहाँका सबै गल्ली घुमेका छैनन् होला, हामी भने कुनाकाप्चामा पुगेका छौं।'
हरेकचोटि पदयात्रा सकेर काठमाडौंमा बिताउँदा उनीहरूको कामै गल्ली घुम्ने हुन्छ। सुरूमा कयौंचोटि यहाँका गल्लीमा हराएको उनीहरू सम्झन्छन्।
'मलाई काठमाडौंका गल्लीहरू हाम्रो शरीरमा दौडिने रगतको नसाजस्तै लाग्छ,' सिल्भीले आफ्नो हातका नसा देखाउँदै भनिन्, 'जसरी नसामा बग्ने रगतले हामीलाई जीवित राख्छ, काठमाडौंलाई जीवित राख्ने पनि यहाँका गल्लीहरू हुन्।'
'हरेक गल्लीभित्र आश्चर्यचकित पार्ने सम्पदा र संरचनाहरू छन्। हरेक गल्लीभित्र प्राचीन र मध्यकालीन सभ्यताको केही न केही झलक देख्न पाइन्छ,' सिल्भीले अगाडि भनिन्, 'मेरो विचारमा काठमाडौं संसारकै सबभन्दा जीवित सहर हो।'
उनले यसलाई व्याख्या गर्दै थपिन्, 'संसारमा प्राचीन सहरहरू अरू पनि छन्, तर त्यहाँको प्राचीन सम्पदा र संस्कृति मृत छ। काठमाडौं भने संसारकै यस्तो सहर हो, जहाँ आज पनि पन्ध्र-सोह्र सय वर्ष पुरानो जात्रा उत्तिकै धूमधामका साथ मनाइन्छ। पन्ध्र-सोह्र सय वर्ष पुराना संरचनाहरूमा उत्तिकै आस्थाका साथ पूजा गरिन्छ। यस्तो जीवित सम्पदा भएको सहर संसारमा विरलै होला।'
पहिलोचोटि काठमाडौं घुम्दा नै यहाँका मन्दिर र स्तुपहरूले मन र आँखा दुवै शान्त बनाएको उनीहरूको अनुभव छ।
यी मन्दिर र स्तुप देख्दा उनीहरूको मनमा एउटै प्रश्न आएको थियो — यस्ता भव्य संरचना कसले बनाए होलान्? कसरी बनाए होलान्? किन बनाए होलान्?
उत्तरको खोजीमा उनीहरूले काठमाडौंको इतिहास अध्ययन गरे। जति बुझ्दै गए, त्यति नै यो सहर रहस्यमयी लाग्दै गएको उनीहरू बताउँछन्।
'हामीलाई काठमाडौंका गल्लीबाहेक स्वयम्भू, बौद्ध, कीर्तिपुर र भक्तपुर विशेष लाग्छन्,' सिल्भानले भने, 'यी ठाउँमा पनि हामी उस्तै शान्ति महसुस गर्छौं।'
काठमाडौंमा तपाईंहरूलाई मन नपरेका चिज के हुन् त?
जबाफमा सिल्भीले मुख बिगार्दै भनिन्, 'यहाँको प्रदूषण र गाडीका प्याँप्याँ पुँपुँ। यसले सहरको शोभा बिगारेको छ। जतासुकै निर्माण सामग्री थुपार्ने चलनले पनि हिँड्नेहरूलाई साह्रै असुविधा हुन्छ।'
उनका अनुसार काठमाडौंले आफ्नो जीवित सम्पदा र संस्कृति जोगाएर राख्ने हो भने यहाँका धेरै ठाउँमा सवारी निषेध गर्नुपर्छ। खासगरी सम्पदा स्थल र काठमाडौंको कोर-सिटी पैदलयात्रुहरूका लागि मात्र खुला गर्दा बेस हुने उनको सुझाव छ।
'कहिलेकाहीँ मान्छेलाई आफ्नै महत्त्व थाहा हुँदैन। काठमाडौंमा पनि त्यस्तै भइरहेजस्तो लाग्छ। यो सहर खुला संग्रहालय हो। तपाईंले संग्रहालयहरूमा होहल्ला र घन्चमन्च देख्नुभएको छ? हो, काठमाडौंलाई पनि त्यस्तै शान्त बनाउनुपर्छ, ताकि स्थानीय बासिन्दा मात्र होइन, प्राचीन सभ्यता र संस्कृतिमा रूचि राख्ने संसारभरका पर्यटकले यहाँ आएर अलौकिक आनन्द महसुस गर्न सकून्,' सिल्भीले भनिन्।
उनले यो पनि भनिन्, 'संसारका धेरै सहरले सवारी निषेधित अभियानबाट पर्यटकहरू आकर्षित गरेका छन्। त्यहाँको आर्थिक गतिविधि बढेको छ। स्थानीय लाभान्वित भएका छन्। काठमाडौंले पनि यसबाट पाठ सिक्नुपर्छ भन्ने मलाई लाग्छ।'
ट्रेकिङ र काठमाडौंबाहेक पोखरा, मुस्ताङ र चितवन राष्ट्रिय निकुञ्ज पनि सिल्भी र सिल्भानलाई मनपरेका गन्तव्य हुन्।
यी तीनै गन्तव्य काठमाडौंभन्दा शान्त लागेको उनीहरू बताउँछन्। शान्त र मनोरम दृश्यका कारण पोखरा उनीहरूको उत्कृष्ट गन्तव्यमा पर्छ। हरेकचोटि नेपाल आउँदा एक-दुई दिनलाई भए पनि पोखरा पुगेकै हुन्छन्।
सिल्भी र सिल्भानलाई नेपालीहरूको सरल आनीबानी, मिजासिलो स्वभाव र खानाले पनि हुरूक्कै पारेको छ।
'नेपालीहरूको हाँस्ने र सबैसँग मिठो बोल्ने बानी रहेछ। सबै जना एकदमै सरल र सोझो लाग्यो,' सिल्भीले भनिन्, 'यहाँका खानेकुरा पनि हामीलाई धेरै मनपर्छ। हाम्रो सबभन्दा मनपर्ने नेपाली खाना मःम हो। नेपाली दालभात पनि स्वादिलो लाग्छ।'
के तपाईंहरूको भविष्यमा फेरि नेपाल आउने योजना छ?
जबाफमा सिल्भानले आफ्नो सेतै फुलेको कपाल देखाए।
'यो हाम्रो अन्तिम नेपाल भ्रमण हुनसक्छ,' उनले हाँस्दै भने, 'हामी हेर्दा मात्र जवान हौं। उमेरले ६० नाघिसक्यौं। त्यसैले अब फेरि ट्रेकिङ जाने बल छैन। मिल्यो भने काठमाडौं र पोखरा मात्र घुम्न आउन सकिन्छ।'
सम्भवत: नेपालको अन्तिम यात्रामा आएकाले हुनुपर्छ, उनीहरू जतिसक्दो धेरै रमाइला सम्झना समेट्न चाहन्छन्। जतिसक्दो धेरै मान्छेसँग कुराकानी गर्न चाहन्छन्। नेपाल र नेपालीबारे जतिसक्दो धेरै बुझ्न चाहन्छन्। मैले यो कुराकानीको निम्ति आग्रह गर्दा पनि उनीहरूले तुरून्तै 'हुन्छ' भनेका थिए।
अघिल्ला छचोटिको भ्रमणमा नगरेको एउटा रमाइलो अनुभव उनीहरूले यसपालि गरेका छन्।
'हामीले यो वर्ष नेपालीहरूको होली चाड मनायौं। वसन्तपुर डबलीमा गएर रङहरूको पर्वमा सहभागी भएका थियौं,' सिल्भीले भनिन्, 'एकले अर्काको मुखमा रङ दलेर मनाइने यो पर्व हामीलाई निकै रमाइलो लाग्यो।'
यस्ता सांस्कृतिक पर्वहरूले नेपाललाई अरू देशभन्दा विशेष बनाएको उनको भनाइ छ।
'म त चिनेजानेका जसलाई पनि नेपाल जान सल्लाह दिन्छु,' उनले भनिन्, 'यहाँ जुन मानसिक शान्ति पाइन्छ, त्यो संसारमा कहीँ पाइन्न।'
सिल्भीको भनाइमा सिल्भानले पनि सहमति जनाए।
छुट्टिने बेला विदाइको हात हल्लाउँदै उनीहरूले भने, 'तपाईं भाग्यमानी हो, संसारकै सुन्दर सहरमा बस्न पाउनुभएको छ। मिल्यो भने फेरि भेटौंला।'
***