भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथराइजेसन रिक्वायर्ड) प्रणाली लागु भएको छ।
विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालनका लागि भारतले अनुमति नदिएपछि नयाँ विकल्पका लागि आरएनपी–एआर प्रणाली लागु गरिएको हो। यससँगै अब यो विमानस्थलमा कम भिजिबिलिटी हुँदा पनि नियमित उडान हुने भएको छ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अब यो विमानस्थलमा ९ सय मिटरभन्दा कम भिजिबिलिटीमा पनि उडान गर्न मिल्छ।
यसअघि विमानस्थलमा जहाज अवतरणका लागि एक हजार आठ सयदेखि दुई हजार मिटरभन्दा बढिको भिजिबिलिटी आवश्यक पर्थ्यो।
'जाडोयाममा हुस्सु लाग्दा भिजिबिलिटी कम हुने र आन्तिरक/अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भइरहेको थियो,' महाप्रबन्धक तिवारीले भने, 'अब यो प्रणालीले त्यो समस्याको समाधान गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थलमा हुनुपर्ने सुविधा जडान भइसकेको छ।'
तर, यो प्रणाली कार्यान्वयनमा आउन भने समय लाग्ने उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अहिले आरएनपी–एआर प्रणालीमा जहाज अवतरण भइरहेको छ। त्रिभुवन विमानस्थलमा अहिले एक हजार १ सय मिटरको भिजिबिलिटीमा जहाज अवतरण भइरहेको छ।
यद्यपि यो प्रणाली जडान गरेपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाले यो विमानस्थलमा धमाधम जहाज अवतरण गर्न पाउने भने होइन। यसका लागि पनि निश्चित मापदण्डहरू छन्।
सबैभन्दा पहिले सम्बन्धित वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आरएनपी–एआर प्रणालीमार्फत उडानका लागि अनुमति लिनुपर्नेछ।
प्राधिकरणले बिहीबारदेखि लागु गरेको 'आरएनपी–एआर' प्रणाली कसरी कार्यान्वयनमा आउँछ र यसले के फाइदा पुग्छ त?
जसअनुसार हाल उडान गरिरहेका र आगामी दिनमा उडान गर्ने सम्बन्धित वायुसेवाहरूले आफ्नो देशको विभागिय मन्त्रालयसँग अनुमति लिई आफ्ना पाइलटलाई तालिम दिएर परीक्षण उडान गरे पछि मात्रै यो विधि व्यवहारमा कार्यान्वयन हुनेछ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अब भैरहवामा कम भिजिबिलिटीमा पनि उडान गर्न वायुसेवाले कम्पनीले सुरूमा प्राधिकरणसँग अनुमति लिनुपर्नेछ। कुन जहाजलाई कुन पाइलटले अवतरण गराउने हो भन्ने कुरा प्राधिकरणसँग अनुमति माग्नुपर्ने उनी बताउँछन्।
प्राधिकरणले अनुमति दिइसकेपछि मात्र पाइलटले जहाज अवतरण गर्न पाउनेछ।
'अन्तर्राष्ट्रिय वायुसेवाको हकमा सम्बन्धित वायुसेवा कम्पनीले अनुमति माग्नुपर्छ। प्राधिकरणले अनुमति दिएको जहाज र पाइलटले कम भिजिबिलिटीमा उडान गर्न पाउनेछ,' सूचना अधिकारी भुलले सेतोपाटीसँग भने, 'अहिले अन्तर्राष्ट्रिय वायुसेवाहरू प्रक्रियामा छन्। फ्लाइ दुबइले यही प्रणालीबाट उडानका लागि अनुमति मागिसकेको छ।'
यो विमानस्थलमा कम भिजिबिलिटीमा जहाज अवतरणका लागि बिस्तारै आन्तरिक वायुसेवाले पनि अनुमति लिन सक्नेछन्।
यद्यपि हाल आन्तरिक उडानमा खासै समस्या नभएको र यसले अन्तर्राष्ट्रिय उडानमा भने फाइदा पुर्याउने भुल बताउँछन्।
'भिजिबिलटी कम भएकै कारण आन्तरिक उडानमा त्यति ठूलो समस्या छैन किनकी उनीहरूले समयतालिका फेरेर पनि दिनभर उडान गर्न सक्छन्,' उनले भने, 'तर अन्तर्राष्ट्रिय उडानमा त्यो हुँदैन। उडानकै समयमा जहाज अवतरण गराउन सकिएन भने समस्या हुन्छ त्यसैले आरएनपिएआर प्रणालीले अन्तर्राष्ट्रिय उडानमा अब सहज बनाउनेछ।'
यो प्रणाली सञ्चालनमा ल्याउनका लागि जहाजमा विशेष उपकरण जडान हुनुपर्छ। जहाजले पनि यो प्रणालीसँग 'कपलिङ' गर्ने व्यवस्था हुनुपर्ने भुल बताउँछन्।
यसका लागि पाइलटलाई तालिम पनि दिनुपर्छ। पाइलटले सिमुलेटर मार्फत नै तालिम लिन पाउने उनले बताए।
'फ्लाइट र ग्राउन्ड भ्यालिडेसन गरिसके पछि यो प्रणालीमा जहाज अवतरण गर्न ती पाइलट क्यापेबल हुने र उडान गर्न पाउनेछन्,' सूचना अधिकारी भुलले भने।
भुलका अनुसार पाइलटहरूलाई यो विधिमा अवतरण गराउन तालिम (टेस्ट फ्लाइट) चाहिन्छ। यी सबै प्रक्रिया पूरा गर्न समय लाग्छ।
'यी सबै सिस्टम अनलाइनमै हुने हुँदा फिल्डमा आएर गर्नुपर्दैन। तर परीक्षण उडानका लागि पहिलो उडान हुँदा दुबै देशका नियामक निकाय र अन्य सम्बन्धित निकायका कर्मचारीहरू हुन्छन्,' उनले भने, 'त्यही उडानमा चेक हुन्छ र सबै ठिक भएपछि नियमित यही प्रणालीबाट अवतरण गर्न पाउँछ।'
आरएनपिएआर प्रणालीको मुख्य फाइदा भनेको कम भिजिबिलिटीमै जहाज अवतरण गर्न पाउनु नै हो। यसले नियमित उडानलाई सहज बनाउनेछ। भिजिबिलिटीकै कारण उडान रद्द हुने र ढिले हुने समस्याको समाधान हुनेछ।
त्यस्तै आर्थिक रूपमा पनि सहज हुने भुल बताउँछन्।
'सबै सेटलाइट बेस भएकाले अर्बौ खर्च गरेर इन्स्ट्रुमेन्टहरू ग्राउन्डमा जडान गर्नु पर्दैन,' उनले भने, 'सेटलाइट हुन्छ र जहाजमा त्यहीअनुसारको सिस्टम जडान भएको हुन्छ। त्यसैले यो इकोनोमिकल सिस्टम पनि हो।'
यो विमानस्थलमा यसअघि भिजिबिलिटी र अन्य कारण देखाउँदै मंसिर पहिलो सातादेखि उडान सुरू गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिरा एयरवेजले एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका थिए।
आगामी फ्रेबुअरीबाट जजिरा र फ्लाई दुबईले नियमित उडान गर्ने गरी प्राधिकरणसँग अनुमति लिएका छन्। नेपाल एयरलाइन्सले भने काठमाडौं– भैरहवा–दुबई साताको चार दिन उडान गर्दै आएको छ। अब यो प्रणाली कार्यान्वयनमा आएपछि अरू वायुसेवाले पनि उडान थाल्ने उनले बताए।
सरकारले विमानस्थललाई दीर्घकालीन हिसाबले सञ्चालनका लागि अत्यावश्यक श्रम स्वीकृति, मेडिकल जाँच, भिसा, म्यानपावर कम्पनीका शाखा, एयरलाइन्स कम्पनीका सम्पर्क कार्यालय भैरहवामा स्थापना गर्न सकेमा नियमित उडान हुने व्यवसायीहरू बताउँछन्।