सन् २०२४ मा देशभरका ३३ वटा विमानस्थलबाट एक करोड ६२ लाख बढीले यात्रा गरेका छन्।
नागरिक उड्डयन प्राधिकरणको 'फ्लाइट मुभमेन्ट डेटा २०२४’ अनुसार जनवरीदेखि डिसेम्बरसम्म एक करोड ६२ लाख ७८ हजार २६३ यात्रुले यात्रा गरेका हुन्।
यो संख्या अघिल्लो वर्षको तुलनामा २२.४५ प्रतिशतले बढी हो। सन् २०२३ मा अन्तर्राष्ट्रिय र आन्तरिक गरी एक करोड ३२ लाख ९३ हजार ६८४ जनाले यात्रा गरेका थिए।
यसमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या सबैभन्दा धेरै छ।
सन् २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ विभिन्न वायुसेवाले ३० हजार ६३० वटा अन्तर्राष्ट्रिय उडान गर्दा ४४ लाख ४५ हजार २३९ ले यात्रा गरेका छन्।
सन् २०२३ मा यो विमानस्थलबाट ४३ लाख २९ हजार ४०० ले यात्रा गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै आन्तरिकतर्फको उडान हेर्ने हो भने अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले वृद्धि भएको देखिन्छ।
प्राधिकरणका अनुसार आन्तरिक उडानतर्फ सन् २०२३ को नोभेम्बरसम्म ७७ लाख यात्रुले यात्रा गरेकोमा २०२४ को नोभेम्बरसम्म यो संख्या ८६ लाख ६० हजार ३०२ पुगेको छ।
जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा करिब १३ प्रतिशतले वृद्धि भएको देखिन्छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय र आन्तरिक दुबै गरी ९ हजार ५५८ वटा उडान भएका छन्। जसमार्फत ५ लाख ५० हजार ७०४ जनाले यात्रा गरेका छन्। त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ हजार ३९२ वटा उडानमार्फत नौ लाख ३० हजार ६२ जनाले यात्रा गरेका छन्।
तथ्यांक हेर्दा अहिले हवाई यातायातमा यात्रुको आकर्षण बढेको देखिन्छ।
अन्तर्राष्ट्रियतर्फ हेर्ने हो भने नेपालीहरू पनि पछिल्ला केही वर्षयता विदेश भ्रमणमा निस्किरहेका छन्। वैदेशिक रोजगारी, अध्ययनका लागि जानेको संख्या वृद्धि साथै विदेश घुम्न जानेको संख्या बढेसँगै समग्र हवाई यात्रु बढेको प्राधिकरणले जनाएको छ।
आन्तरिकतर्फ पनि कोभिडपछि हवाई यात्रुको संख्यामा बर्सेनि वृद्धि हुँदै आएको छ। यसपालि भने वर्खायाममा बाढी पहिरोका कारण सडकमार्ग अवरूद्ध हुनाले पनि हवाई यात्रुको संख्यामा वृद्धि भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन्।
'बाढी पहिरोको समयमा त्रिभुवन विमानस्थल २४ सैं घन्टा चल्दा पनि यात्रु संख्या बढेको देखिन्छ त्यस्तै विमानस्थलको क्षमता अभिवृद्धि भइरहेको छ,' उनले सेतोपाटीसँग भने, 'नेपालीहरूको आम्दानी पनि बढेकाे र छिटो र सहज हुने हुँदा पनि अहिले हवाई यातायात रोज्न पनि थालेका छन्।'
त्यस्तै विगतमा बन्द भएका कतिपय विमानस्थलहरू प्राधिकरणले यस वर्ष सञ्चालनमा ल्याएको छ। वायुसेवा कम्पनीहरूले वायुयान बढाइरहेका छन्। जसले गर्दा हवाई यात्रु बढेको उनी बताउँछन्।
कुन विमानस्थलबाट कतिले गरे यात्रा?
सन् २०२४ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै यात्रुले उडान गरेका छन्।
यो विमानस्थलको आन्तरिकतर्फ उडान गर्ने यात्रु झन्डै दोब्बरले बढेका छन्। तथ्यांक अनुसार यस अवधिमा ९४ हजार ८५५ वटा उडान हुँदा ७४ लाख ले यात्रा गरेका छन्। सन् २०२३ मा यस विमानस्थलबाट ४३ लाख २९ हजार ४०० ले यात्रा गरेका थिए।
नेपालगञ्ज विमानस्थलबाट ११ हजार ३७२ वटा उडान भएका छन्। जसमा चार लाख ५९ हजार ४७७ जनाले यात्रा गरेका छन्। विराटनगर विमानस्थलबाट १० हजार ६८६ वटा उडान हुँदा ६ लाख ११ हजार ४५७ जनाले यात्रा गरेका छन् भने धनगढीमा चार हजार २७४ उडान हुँदा दुई लाख ६२ हजार २७६ जनाले यात्रा गरेका छन्।
यी तीनवटा विमानस्थल हबका रूपमा सञ्चालनमा छन्।
यससँगै चन्द्रगढी विमानस्थलबाट तीन लाख ३८ हजार ३८९ जनाले यात्रा गरेका छन्। अन्य विमानस्थलहरू क्रमश: भरतपुरबाट दुई लाख १४ हजार ३१९, जनकपुरबाट दुई लाख ७१ हजार ६४, तेन्जिन हिलारीबाट एक लाख ९६ हजार ८७६, सिमराबाट दुइ लाख ५३ हजार ७४९, सुर्खेतबाट एक लाख ४७ हजार ५९९, जोमसोमबाट २४ हजार ७६०, सिमिकोटबाट १४ हजार ८३२ जनाले यात्रा गरेका छन्।
त्यस्तै तुम्लिङटारबाट २९ हजार ४९, जुम्लाबाट १० हजार ५७०, डोल्पाबाट चार हजार ६८१, बाजुराबाट ८ हजार २१८, रामेछापबाट ४६ हजार ६३, भोजपुरबाट ५ हजार २९९, फाप्लु तीन हजार ८२७, राराबाट सात हजार ७९९, रूकुम सल्लेबाट दुई हजार १३०, ताप्लेजुङबाट दुई हजार ४९४ जनाले यात्रा गरेका छन्।
राजविराजबाट ३३ हजार ३२४, खानीडाँडाबाट ६८७, साँफेबगरबाट ६९५, दाङबाट ७०६, थामखर्कबाट ५४८, बझाङबाट ४५१, इलामको सुकिलुम्बाबाट ५५१ र गुल्मीको रेसुङ्गाबाट एक हजार ६५७ ले यात्रा गरेका छन्।