चितवन महोत्सवको १५ औं संस्करण पुस २५ गतेदेखि सुरू हुँदैछ। नारायणी नदीको किनारमा १५ दिनसम्म महोत्सव गर्न लागिएको हो। संघका अध्यक्ष सुमन श्रेष्ठले यसपालिको महोत्सवलाई पर्यटन विशेष बनाउन लागिएको बताए।
भरतपुर भ्रमण वर्ष २०२४ सकिएलगत्तै सुरू भएको महोत्सवले पर्यटकीय गतिविधिलाई निरन्तर राख्न सहयोग पुर्याउने उनी बताउँछन्। पर्यटनको अलावा स्थानीय उत्पादन, कला, संस्कृति, निर्माण, व्यवसाय लगायत स्टलहरू महोत्सवमा हुने उनले बताए।
'देशमा आर्थिक मन्दी छ। व्यावसायिक वातावरण त्यति राम्रो छैन। उद्योगी, व्यापारीहरू निरास बनिरहेका छन्। यो अवस्थामा गर्न लागिएको महोत्सवले आशाको किरण छर्नेछ,' अध्यक्ष श्रेष्ठले भने, 'समग्र जिल्लाको आर्थिक अवस्थालाई महोत्सवले चलायमान गराउनेछ। आर्थिक, सामाजिक रूपान्तरणका लागि चितवन महोत्सव भन्ने सुरूआतदेखिको लक्ष्यलाई साकार बनाउन हामी लागेका छौं।'
मेला, महोत्सवका आ-आफ्नै उद्देश्य हुन्छन्। विशेषतः आर्थिक उपार्जनको उद्देश्यले अचेल धेरैजसो महोत्सवहरू हुने गरेका छन्। २८ वर्षअघि उद्योग वाणिज्य संघले नेपालमै पहिलो पटक आर्थिक र सामाजिक रूपान्तरणका लागि भनेर महोत्सव सञ्चालन गरेको थियो। २०५३ सालमा पहिलो पटक भएको महोत्सव त्यसयता हरेक २ वर्षमा भइरहेको छ।
अघिल्ला वर्ष पोल्ट्री र औद्योगिक प्रदर्शनी गरेको संघले २०५३ सालमा तत्कालीन जिल्ला विकास समिति र भरतपुर नगरपालिकासँग मिलेर नारायणगढको क्याम्पाचौरमा चितवन महोत्सव सञ्चालन गरेको थियो। यसको उद्देश्य स्थानीय निकायहरूसँगको समन्वय बढाउने पनि थियो। संघका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधान पिपिपी मोडलमा संयुक्त रूपमा महोत्सव आयोजना गरेर सरकारी निकायसँग समन्वय बढाउने प्रयास गरिएको बताउँछन्।
'त्यतिखेर म संघको उपाध्यक्ष थिएँ। अध्यक्ष देशीराम प्रधानले औद्योगिक मेलाको समापन समारोहमा पिपिपी मोडलमा चितवन महोत्सव गरौं भन्ने प्रस्ताव राख्नुभयो। त्यही प्रस्तावको आधारमा छलफल अघि बढ्यो अन्ततः तीन संस्था मिलेर चितवन महोत्सव गर्ने निधो भयो,' प्रधानले भने, 'हामीले नाफा कमाउन भन्दा पनि स्थानीय निकायसँगको सम्बन्ध बढाउन भनेर महोत्सव आयोजना गरेका थियौं। यो आर्थिक र सामाजिक रूपान्तरणका लागि पनि महत्वपूर्ण सावित बन्यो।'
त्यसपछि हरेक २ वर्षमा समग्र चितवनको आर्थिक र सामाजिक रूपान्तरणका लागि भनेर महोत्सव सञ्चालन गर्ने गरिएको उनले बताए।
प्रधानका अनुसार सुरूआतको महोत्सवमा एक सय २५ वटा स्टल राखिएका थिए। जिल्लाका उत्पादनहरू, कला, संस्कृति सम्बन्धी वस्तुहरू स्टलमा राखिन्थे। मनोरञ्जनका लागि स्थानीय लोक भाकामा साँस्कृतिक कार्यक्रमहरू गरिन्थ्यो। मौलिक नृत्यहरू प्रस्तुत हुन्थे। लिंगे, जाँते, रोटे पिङहरू महोत्सव परिसरमा राखिन्थ्यो। त्यसमा अवलोकनकर्ताहरू झुम्मिन्थे।
समय अनुसार महोत्सवमा परिमार्जन हुँदै गयो। २०५९ सालमा नारायणी नदीको किनारलाई व्यवस्थापन गरी महोत्सव त्यहीँ गर्न थालियो। त्यसपछि महोत्सवबाट उद्योग वाणिज्य संघले केही आम्दानी पनि गर्न थाल्यो।
चितवन महोत्सवका हरेक संस्करणमा कुनै न कुनै विषयलाई प्राथमिकतामा राख्ने गरिएको छ। कहिले मह, कहिले कुखुरा व्यवसायको प्रवर्द्धन गरिन्छ। केरा व्यवसाय, माछा, जैविक विविधतादेखि पर्यटन प्रवर्दधनलाई मुख्य उद्देश्य बनाएर पनि चितवन महोत्सव भएका छन्। यसले सम्बन्धित क्षेत्रलाई धेरै फाइदा पुर्याएको पूर्वअध्यक्ष रमेशकुमार पिया बताउँछन्।
'केरा उत्पादन, मौरी पालनमा चितवन अग्रणी बन्नुमा चितवन महोत्सवको पनि भूमिका महत्वपूर्ण छ। चितवन पोल्ट्री व्यवसायको राजधानी नै बन्यो यसमा उद्योग वाणिज्य संघको सहयोग ठूलो छ। हामीले पर्यटन प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिरहेका छौं। यसले समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुर्याएको छ,' पियाले भने।
अर्का पूर्वअध्यक्ष डा. तिलचन्द्र भट्टराई चितवन महोत्सवले प्रदर्शन मात्रै नगरी आर्थिक क्षेत्रको अवस्था सुधार गर्न राज्यलाई सुझाव दिने काम पनि गर्दै आएको बताए। महोत्सवको अवसरमा गोष्ठी, सेमिनारहरू आयोजना गरेर त्यसबाट आएको निष्कर्ष सुझावका रूपमा सम्बन्धित निकायहरूलाई दिने गरिएको उनले बताए।
'महोत्सव भनेको प्रदर्शन गर्ने मात्रै होइन। हामीले स्थानीय उत्पादनहरूबीच प्रतिस्पर्धा पनि गराउँछौं। उत्पादन कसरी बढाउने, लगानी कसरी बढाउने भन्ने विषयमा जानकारी दिने काम गर्छौं। नयाँ पुस्तालाई कसरी प्रोत्साहन गर्ने भनेर विभिन्न गतिविधिहरू गरिन्छ,' उनले भने, 'महोत्सवको समग्र निष्कर्षलाई सुझावका रूपमा सम्बन्धित निकायमा पुर्याउँछौं।'
संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले यसपालीको चितवन महोत्सवमा सक्दो धेरै स्थानीय उत्पादनको प्रवर्द्धन गर्न प्रयास गरिएको बताए।
'महिला, अपांगता भएकाहरूले उत्पादन गरेका वस्तुहरूको प्रवर्द्धन गर्नमा पनि हामीले ध्यान दिएका छौं। सबै क्षेत्रलाई समेट्ने कोसिस गरेका छौं,' उनले भने, 'महोत्सवलाई सातै स्थानीय तह र छिमेकी जिल्लासँग समेत जोड्ने गरि पर्यटनका गतिविधिहरू सञ्चालन गर्दैछौं।'
चितवन महोत्सवमा केराको थम्बाबाट कपडा बनाउने विधिको प्रदर्शन गरिने सुवेदीले बताए। खेर गइरहेको केराको थम्बाको सदुपयोग गर्ने र यसलाई पेसा बनाएर आर्थिकोपार्जनमा प्रेरित गर्ने लक्ष्य राखिएको उनले बताए।
संघका उपाध्यक्ष राजेन्द्र ओली महोत्सवको बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्न सक्दो प्रयास गरिएको बताउँछन्।
'चितवन महोत्सव देशकै पहिलो र सबैभन्दा ठूलो महोत्सव हो। यो महोत्सवले देशकै आर्थिक विकासमा भूमिका खेल्छ,' ओलीले भने, 'महोत्सवलाई प्रभावकारी बनाउन हामीले प्रचारमा जोड दिएका छौं। विदेशी उद्योग, व्यवसायलाई पनि जोडिरहेका छौं।'
ओलीले महोत्सवमा चिनियाँ उत्पादनको छुट्टै पेभेलियन रहने जानकारी दिए। चीनका व्यवसायीहरूले नवीनतम प्रविधिहरू महोत्सवमा प्रदर्शन गर्ने उनले बताए।
'उहाँहरूले आफ्नो प्रविधिलाई यहाँ ल्याएर प्रस्तुत गर्दा हामीलाई धेरै फाइदा हुन्छ। विश्वमा आएका नयाँ प्रविधिबारे अध्ययनका लागि विदेश जान लाग्ने खर्च घट्छ। ज्ञान, सीप, अनुभव आदानप्रदानको अवसर हुन्छ,' ओलीले भने, 'अन्य देशका व्यवसायीहरूको पनि स्टल रहनेछ।'
उनले स्थानीय र विदेशी व्यवसायीलाई एकै थलोमा राखेर ज्ञान आदानप्रदानको अवसर जुराउने प्रयास गरिएको बताए।
महोत्सवमा यसपालि निर्माण सामग्रीको विशेष प्रदर्शनी पनि हुँदैछ। निर्माण सामग्री व्यवसायी संघको सक्रियतामा चितवन महोत्सवभित्र विशेष प्रदर्शनी गर्न लागिएको हो। सात वटा विशेष स्टल, डोम, कृषि परिसर, अटो परिसर महोत्सवमा हुनेछन्। घरेलु तथा साना उद्योगका लागि आवश्यक मेसिनरी सामानको स्टल, विभिन्न संघ संस्थाका स्टल, रेस्टुरेन्ट परिसर सहित ४३० वटा स्टल रहनेछन्।
महोत्सवकै अवसरमा फुड फेस्टिभल पनि गरिँदैछ। परम्परागत खानाको प्रवर्द्धन गर्ने उद्देश्यले पुस २८ देखि माघ ७ गते सम्म क्याम्पाचौर नारायणगढमा फुड फेस्टिभल सञ्चालन गरिने उपाध्यक्ष ओलीले बताए।
साथै पुस २८ गते देखि माघ ४ गतेसम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, साहित्य लगायत जिल्लाको सामाजिक, आर्थिक विकासका सम्भावनामा केन्द्रित रहेर विज्ञहरूको उपस्थितिमा राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिने संघका सदस्य विष्णु लम्सालले जानकारी दिए।
महोत्सवको अवसरमा विविध खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिहरूको वेशभूषा, कला-संस्कृति झल्किने विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारहरूको प्रस्तुति, प्रतियोगितात्मक कृषि उपजको प्रर्दशनीले निरन्तरता पाउने उपाध्यक्ष ओलीले बताए।
थप मनोरञ्जनका लागि बाल उद्यान सञ्चालन गरिने छ। महोत्सव परिसरमा हुन सक्ने दुर्घटना तथा विपदलाई मध्यनजर गर्दै महोत्सव अवधिभर एम्बुलेन्स, उद्धार टोलीको व्यवस्था, प्राथमिक उपचार केन्द्र, प्रत्येक दिन स्वास्थ्य शिविर, निःशुल्क स्वास्थ्य परीक्षण लगायत कार्यक्रमहरू आयोजना गरिने संघका सदस्य उपेन्द्र पण्डितले जानकारी दिए।
मौरी र तोरी प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव परिसरमा मौरीको प्रतिमा सहित तोरीबारीको निर्माण गरिएको छ।
महोत्सवमा उद्योग वाणिज्य संघ, नारायणी कला मन्दिर र नेपाल आदिवासी जनजाति महासंघ चितवनको समन्वयमा कला संस्कृति प्रवर्द्धन गरिने उपाध्यक्ष नारायण प्रधानले जानकारी दिए। लोप हुन लागेका गीत, संगीत, नृत्य, मौलिक लोकसंस्कृति, आदिवासी, जनजातिका वेशभूषा, रहनसहनलाई महोत्सवमा प्रस्तुत गरिनेछ। साथै हरेक दिन स्थानीयदेखि राष्ट्रिय कलाकारहरूले दिने प्रस्तुतिले दर्शकलाई भरपुर मनोरञ्जन दिने उनले बताए।
पर्यटन प्रवर्द्धन समितिका संयोजक इमान्दु बरालले महोत्सवको अवसरमा पार्टी बस सञ्चालन गर्न लागिएको बताए।
पार्टीसहितको रमाइलो गर्न पाइने पार्टी बसलाई महोत्सव स्थलबाट जिल्लाका सातै स्थानीय तहका पर्यटकीय गन्तव्यसम्म आउने-जाने व्यवस्था गार्न लागेको उनले बताए।
'पार्टी बसलाई सौराहा, पटिहानी, गोलाघाट जस्ता मुख्य पर्यटकीय गन्तव्यका साथै सातै पालिकाका पर्यटकीय गन्तव्यसँग जोड्ने छौं,' बरालले भने, 'यसले सबै गन्तव्यको प्रचार गर्नेछ। महोत्सवको पनि प्रचार हुन्छ।'
यसपालिको चितवन महोत्सवमा गेटमै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको प्रचार गरिँदैछ। साथै नारायणी नदीमा जलविहारको उचित व्यवस्थापन गरिने बरालले बताए। संघले शिवघाटमा रहेको 'क्रूज-शिप' लाई महोत्सव स्थल नजिकै ल्याएर सञ्चालन गर्ने प्रयास पनि गरेको छ।
'समग्रमा भन्दा हामीले आन्तरिक तथा बाह्य पर्यटक बढाउन महोत्सवमार्फत काम गर्नेछौं,' बरालले भने, 'पर्यटकहरूका लागि होटलहरूमा छुट व्यवस्था पनि गरिनेछ।'
यसपालि नारायणी नदीमा आएको बाढीले नारायणी नदीको किनारमा ठूलो क्षति गरेको थियो। नदी किनारलाई महोत्सव हुने अवस्थामा पुर्याउन उद्योग वाणिज्य संघले ठूलो मेहनत गरेको छ। भरतपुर महानगरपालिकासँग समन्वय गरेर नदी किनारको मैदानलाई सम्याउने काम गरेको संघका पूर्वअध्यक्ष कल्याण जोशी बताउँछन्। उनले नियमित रूपमा महोत्सव सञ्चालनका लागि स्थानको व्यवस्थापन गर्ने चुनौती बढेर गएको बताए।
'हामीले धेरै मेहनत गरेर महोत्सव हुने ठाउँको व्यवस्थापन गरेका छौं। यही अवस्थामा त अर्को साल नदीको बाढीले फेरि क्षति पुर्याउन सक्छ,' जोशीले भने, 'दैनिक २ हजार बढी पर्यटक पुगेर रमाउने गरेको नदी किनारको उचित व्यवस्थापन आवश्यक छ। यसका लागि संघले मात्रै गरेर हुँदैन। सरकारी तहबाटै अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्छ।'
यस वर्षको महोत्सवमा प्रवेश शुल्क एक सय रूपैयाँ निर्धारण गरिएको छ। विद्यार्थीहरूले ५० रूपैयाँको टिकट काटेर अवलोकन गर्न पाउनेछन्। अपांगता भएका, वृद्धवृद्धा तथा फरक क्षमता भएकाहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था छ। टिकट भौतिक रूपमा र अनलाइनबाट समेत पनि किन्न सकिन्छ।
आन्तरिक तथा बाह्य पर्यटक सहित करिब ५ लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताए। महोत्सवमा ३० करोड रूपैयाँ भन्दा माथिको कारोबार हुने अनुमान छ। प्रविधि प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको उद्घाटन रोबोटमार्फत गर्न लागिएको छ।