नेपालको पर्यटन क्षेत्र लयमा फर्किएको छ। कोभिडका कारण केही वर्ष सुस्ताएको पर्यटन क्षेत्र अहिले भने पुरानै अवस्थामा फर्किएको पर्यटन आगमनको तथ्यांकले देखाएको छ।
पर्यटन बोर्डका अनुसार यसपालि सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल घुम्न आएका छन्। यसअघि सन् २०२३ मा ४ लाख १६ हजार ८४५ पर्यटक घुम्न आएका थिए।
सन् २०२३ को तुलनामा यसपालि विदेशी पर्यटकको आगमन १३.१ प्रतिशतले बढेको छ। सुरूवाती महिनादेखि नै आगमनमा वृद्धि भइरह्यो र वार्षिक आगमनको संख्या ११ लाख नाघेको बोर्डले जनाएको छ।
कोभिडअघि पनि नेपाल घुम्न आउने पर्यटकको संख्या यही हाराहारीमा थियो। विभागको तथ्यांक अनुसार सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक घुम्न आएका थिए।
यसरी हेर्दा अब पर्यटन क्षेत्र साच्चै नै पुरानै लयमा फर्किएको देखिन्छ। यसले पर्यटन व्यवसायी साथै समग्र पर्यटन उद्योगमै सकारात्मक ऊर्जा दिएको बोर्डका निर्देशक मणि लामिछाने बताउँछन्। युएन टुरिजमको तथ्यांकअनुसार ग्लोबल टुरिजम रिकभरी ९६ प्रतिशत भएको र यसलाई सकारात्मक रूपमा लिनुपर्ने लामिछानेले बताए।
'एसिया प्रशान्त क्षेत्रको रिकभरी ८५ प्रतिशत भएको अवस्थामा हाम्रो स्थिति सन्तोषजनक नै मान्नुपर्छ,' उनले सेतोपाटीसँग भने, 'यसमा अझै राम्रो गर्न सकिन्थ्यो तर जहाज र पटक-पटक बस दुर्घटनाले पर्यटक आगमन सोचेभन्दा कम भएको हो।'
गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटना, भारतीय पर्यटक बोकेको बसको दुर्घटना र दसैंअघि भएको बाढी पहिरोको कारण पनि यसवर्ष सोचेअनुरूप पर्यटक भित्र्याउन नसकेको उनले बताए।
यतिबेला मुलुकभरका होटल र रेस्टुरेन्ट पर्यटकको पर्खाइमा छन्। आगमनमा केही वृद्धि देखिए पनि यो संख्याले नपुग्ने होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह बताउँछन्। कोभिडले थला परेका अन्य मुलुकको तुलनामा हामी अझै पनि निकै तल रहको उनले बताए।
'धेरै पर्यटकहरू प्रकृति हेर्नै पुग्छन्। हाम्रा जस्तै अन्य मुलुकहरू श्रीलंका, इन्डोनेसिया, म्याल्दिभ्स लगायतका मुलुकहरूको पर्यटक आगमन उल्लेख्य बढाइसके,' उनी भन्छन्, 'हामी भर्खरै पुरानो लयमा आउँदै छौं। त्यसकारण हामीले गर्नुपर्ने काम थुप्रै छन्।'
उनका अनुसार अहिले मुलुकभर सुविधा सम्पन्न होटलको संख्या बढिरहेको छ। होटलमा पूर्वाधार थपिए पनि पर्यटक आगमनले उत्साह ल्याउन नसकेको उनले बताए।
पर्यटकका लागि नेपालमा कनेक्टिभिटी नै भरपर्दो नभएको बताउँदै शाहले भने, 'कनेक्टिभिटी मात्र होइन नेपाल आइसकेपछिको आन्तरिक आवागमन पनि झन्झटिलो छ यस्तो सेवा लिन पर्यटक किन आउँछ त?'
यद्यपि सन् २०२५ मा थप काम गरेर पर्यटक आगमन दोब्बरले बढाउन सबै क्षेत्रले काम गर्नुपर्ने उनको भनाइ छ। यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५-२०३४ लाई भ्रमण दशकको रूपमा अघि बढाउने बताइसकेका छन्।
यसलाई निजी क्षेत्रले पनि आत्मसात गरेर पूर्वाधार र अन्तर सरकारी संयोजन बलियो बनाएर पर्यटन प्रवर्द्धन गर्नुपर्ने उनी बताउँछन्। 'यसो गर्न सकियो भने यो वर्ष जति पर्यटक आगमन छ त्यसलाई दोब्बर बनाउन सकिन्छ,' शाहले थपे, 'यसका लागि सरकार र निजी क्षेत्र दुबै हातोमालो गरेर अघि बढे सम्भव छ।'
चीनले उच्चस्तरीय भ्रमणका क्रममा सन् २०२५ लाई 'भिजिट नेपाल इयर' मनाउने तयारी गरेको छ। यसले पनि सन् २०२५ मा चिनियाँ पर्यटक बढ्ने अपेक्षा गरिएको छ।
मुलुकभरका होटलमा १६ लाख रूम छन् जसमा २२ लाख बढीलाई एकसाथ खाना खुवाउन सक्ने क्षमता छ। त्यसैले पूर्वाधारअनुसार पर्यटक आगमन बढाउनै पर्ने शाहको भनाइ छ।
विभिन्न दुर्घटनाले पनि यो वर्ष पर्यटक भित्र्याउने लक्ष्यमा केही धक्का पुगेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का पूर्व उपाध्यक्ष प्रदिप पण्डित बताउँछन्। यसका बाबजुत पनि सन् २०२४ मा पदयात्रा र पर्वतारोहणमा विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा बढेको देखिन्छ।
'नेपालको पर्यटनको महत्त्पूर्ण बजार भारतबाट आउने हवाई भाडा अत्यन्त महँगो हुनाले पनि भारतीय पर्यटक जति मात्रामा आउनुपर्ने हो त्यति आएनन्,' उनले भने, 'विभिन्न कारणले चिनियाँ पर्यटकको संख्या पनि खुम्चिएको देखियो।'
यद्यपि २०२४ मा विभिन्न अन्तर्राष्ट्रिय चेन होटेलहरू सञ्चालनमा आएका छन् जसले पर्यटनलाई आगामी दिनमा टेवा पुर्याउने अपेक्षा रहेको उनले बताए।
यसपालि सार्क देशहरूबाट समग्र आगमनमा पनि राम्रो वृद्धि देखिएको छ।
२०२३ को तुलनामा ५.९ प्रतिशत वृद्धि भई लाख १७ हजार ८४५ पर्यटक आएका छन्। यसमध्ये, बंगलादेश, भुटान, र श्रीलंकाबाट आगमन क्रमशः ३३.९ प्रतिशत, ४२ प्रतिशत र ३८.३ प्रतिशतले वृद्धि भएको छ। तर, भारतबाट आगमन तीन लाख १७ हजार ७७२ मा सीमित रहँदा ०.७ प्रतिशतले कमी देखियो।
त्यसैगरी, २०२४ मा एक लाख एक हजार ८७९ चिनियाँ पर्यटक नेपाल आए, जुन २०२३ को तुलनामा ६७.३ प्रतिशतले बढी हो। यस्तै, थाइल्याण्ड, जापान र दक्षिण कोरियाबाट आगमन क्रमशः १९.७ प्रतिशत, ३८ प्रतिशत र १४ प्रतिशतले वृद्धि भएको छ।
युरोपबाट आगन्तुकहरूको आगमनमा पनि उल्लेखनीय वृद्धि भएको छ।
बेलायत, जर्मनी, फ्रान्स, इटाली, स्पेन, र नेदरल्यान्डबाट क्रमशः ५७ हजार ५५४, २९ हजार ८०१, २५ हजार १२६, १४ हजार ४७४, १३ हजार ९६८, र ११ हजार ३९३ पर्यटक आएका छन्।
यी सबै देशहरूबाटको आगमनमा क्रमशः ८.९ प्रतिशत, १०.५ प्रतिशत, ८.५ प्रतिशत, ११.८ प्रतिशत, १२.७ प्रतिशत र ६.३ प्रतिशत वृद्धि भएको छ।
२०२४ मा कुल युरोपेली आगमन दुई लाख ६ हजार ८४१ पुगेको छ, जसले १०.४ प्रतिशत क्षेत्रीय वृद्धि देखाएको छ।
त्यस्तै, अमेरिका बाट एक लाख ११ हजार २१६ आगन्तुक आएका छन्। जसमा १०.८ प्रतिशत वृद्धि देखिएको छ।
क्यानडाबाट आगन्तुकहरूको संख्या १६ हजार ७४ थियो, जुन ९.४ प्रतिशतले बढेको हो।
अस्ट्रेलिया र न्यूजिल्याण्डबाट क्रमशः ४३ हजार ९८० र ४ हजार २३१ आगन्तुक आएका छन् जसमा १३.४ प्रतिशत र १८.४ प्रतिशत वृद्धि भएको छ।