रोजगार बजारमा दक्ष जनशक्ति बढाउन भन्दै आइएमई ग्रुप र आइएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा ल्याइएको छ।
मंगलबार काठमाडौंको धुम्बाराहीस्थित काठमाडौं टेक्निकल स्कुलमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरदसिंह भण्डारीले उक्त स्कुलको उद्घाटन गरेका हुन्।
आइएक्सआई ग्रुपका अनुसार यो स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिमहरू सञ्चालन गर्नेछ।
स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ।
आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रुपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौ उद्योग तथा परियोजनाहरू सञ्चालन गरिसकेको छ।
आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरूमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्।
त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ।
आइएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सिप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए।
उनले सिप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए।
उनले यस स्कुलले थप हजारौँ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
'नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,' उनले भने।
'हामीले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरू उत्पादन गर्ने लक्ष्य लिएका हौँ। यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरूमा तालिमहरू सञ्चालन गर्नेछ,' उनले भने।
अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती बेरोजगारी तथा युवा शक्तिको पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सिप विकास नै यसको समाधान रहेको बताए।
'स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सिप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ। अहिले देशले प्राप्त गरेको रेमिटेन्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्नेछ। यस्ता कुरामा हस्तक्षेप गरी युवाहरूलाई सिपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,' उनले भने।
काठमाडौं टेक्निकल स्कुल (केटिएस) का अध्यक्ष मनोज पौडेलले आगामी दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तिमा यो स्कुलको महत्त्वपूर्ण भूमिका रहने बताए। उनले केटिएसले युवाहरूलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको जानकारी गराए।
'यस स्कुलले केबल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरू सिर्जना गर्नेछ,' उनले भने।
केटिएसले आफ्ना विद्यार्थीहरूलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्ने नीति लिएको उनले बताए।