मुलुकभरका घरजग्गा व्यवसायीहरू भैरहवामा भेला हुने भएका छन्।
चैत ९ गते हुने रूपन्देही घरजग्गा व्यवसायी संघको तेस्रो साधारण सभा तथा अधिवेशनमा सहभागी हुन मुलुकभरबाट लगानीकर्ताहरू रूपन्देही आउन लागेका हुन्।
संघका अध्यक्ष दशरथ पौडेलले रूपन्देही र बाहिरका गरी २ सय २५ घरजग्गा व्यवसायी साधारण सभा तथा अधिवेशनमा सहभागी हुने जानकारी दिए।
पौडेलका अनुसार साधारण सभा तथा अधिवेशनमा विनोद चौधरीदेखि दीपक मलहोत्रासम्मका रूपन्देही बाहिरका २५ जना ठूला लगानीकर्ताहरू आउँदै छन्।
पौडेलले अधिवेशनमा जिल्ला भित्रका २ सय लगानीकर्ता सहभागी हुने जानकारी दिए।
यो साधारण सभा तथा अधिवेशनले रूपन्देही लगानीका लागि उत्कृष्ट गन्तव्य हो भन्ने मुलुकभर सन्देश पैदा गर्ने उनले दाबी गरे।
घरजग्गा व्यवसायी संघको साधारण सभा तथा अधिवेशन भनिए पनि रूपन्देहीमा लगानीको वातावरण बनाउनु र लगानी भित्र्याउनु आफूहरूको मुख्य उद्देश्य रहेको उनले बताए।
‘रूपन्देहीलाई काठमाडौं पछिको सबभन्दा सुरक्षित र सभ्य ठाउँ मानिन्छ, त्यसैले पनि यहाँ लगानीका लागि लगानीकर्ताहरू आकर्षित भइरहेका छन्,’ उनले भने, ‘यहाँको लगानीले मात्र रूपन्देहीलाई पुगेको छैन। बाहिरका लगानीकर्ताहरूलाई कुनै कुनै माध्यमबाट ल्याएर उनीहरूलाई आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो।’
यो कार्यक्रमले रूपन्देही लगानीका लागि सुरक्षित छ भन्ने सन्देश बाहिर जाने र शिथिल भएको अर्थतन्त्रलाई केही भए पनि माथि उठाउन सकिने उनले बताए।
‘रूपन्देहीमा पर्यटन क्षेत्रमा लगाएको लगानी सबभन्दा सुरक्षित छ, त्योसँगै उद्योग, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी बढिरहेका बेला देशका ठूला ठूला आयोजनामा लगानी गरिरहेका उद्योगी व्यवसायीलाई रूपन्देही ल्याउन सके उनीहरू पनि आकर्षित हुन सक्छन्,’ पौडेलले भने।
घरजग्गा व्यवसायी चन्द्रमणि अधिकारीले राज्यले लगानीको वातावरण बनाउन नसके पनि व्यवसायीहरूले लगानी गरिरहेको बताए।
निजी क्षेत्रबाट लगानी भित्र्याउन प्रयास भए पनि सरकारी नीति नियमले केही उल्झनहरू आइरहेको उनले बताए।
१० धुर जग्गा बेचेर यो क्षेत्रको विकास हुन नसक्ने भन्दै उनले सयौं बिघा जग्गा एकत्रित गरेर उद्योग, व्यवसाय, आवास लगायतको क्षेत्रका लागि व्यवस्थित प्लानिङ गर्ने उनले बताए।
अधिकारीले आर्थिक मन्दीको सबभन्दा मारमा घरजग्गा व्यवसायी परेको बताए।
संघका महासचिव धिरज घिमिरेले तीन तहका सरकार भए पनि जग्गाको वर्गीकरण गर्न नसकेको बताए।
घिमिरेका अनुसार जिल्लामा घरजग्गामा १ खर्ब बढी लगानी भएको छ। एक सय बढी रियल स्टेट कम्पनी दर्ता भएर रूपन्देहीमा व्यवसाय गर्दै आएको उनले बताए।