सूचना प्रविधिको क्षेत्रमा लैंगिक विविधता अभिवृद्धिमा जोड दिँदै एडब्लुएस वुमन समिट नेपाल, २०२५ सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा एडब्लुएस युजर ग्रुप वुमन इन टेक नेपालले काठमाडौं मोडल कलेजमा आयोजना गरेको सम्मेलनमा क्लाउड प्रविधिमा महिलाहरूको सहभागिता बढाउँदै डिजिटल युगमा समावेशिता र नवीनता प्रवर्द्धनमा जोड दिइयो।
त्यस अवसरमा बोल्ने अधिकांशले सूचना तथा प्रविधिको क्षेत्रमा महिलाको पहिचान, अवसर र नेतृत्व बढाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका थिए।
सम्मेलनमा क्लाउड प्रविधिमा नवीनतम प्रयोग, व्यावसायिक अवसर र समावेशीकरणका विषयमा बृहत छलफल भएको थियो। सम्मेलनमा देश तथा विदेशका प्रविधि विज्ञ, क्लाउड विशेषज्ञ, उद्यमी तथा विद्यार्थीको उपस्थिति थियो।
सम्मेलनमा एडब्लुएस एसिया प्रशान्त तथा जापान क्षेत्रका डेभलपर रिलेसन प्रमुख मौना निलकण्ठाले क्लाउड प्रविधिको बढ्दो प्रभाव, नवीनता र समावेशीको महत्व र आवश्यकताका विषयमा चर्चा गरिन्। उनले प्रविधिमा महिलाको उपस्थितिलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
नेपालमा ब्लकचेन स्टार्टअपमा महिलाहरू विषयक सत्रमा रुमी सिंहले आफ्नो अनुभव राख्दै यस क्षेत्रमा महिलाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिइन्।
साथै क्लाउडका नवीनतम प्रविधि, व्यावसायिक अवसर र प्रविधि क्षेत्रमा समावेशीकरणलाई बढावा दिने गरी विभिन्न विषयमा कार्यशाला आयोजना समेत गरिएको थियो।
बुस्ट प्रडक्टिभिटी एण्ड ह्याप्पीनेस विथ एडब्लुएस जेनएआई शीर्षकको कार्यशालामा एडब्लुएस जेनेरेटिभ एआईले कसरी कार्यालयको क्षमता बढाउन सहयोग गर्छ भन्ने विषयमा चर्चा गरियो। साथै एडब्लुएस क्लाउडः बिल्ड एनिथिङ, स्केल एभ्रिवेयर, इनोभेट फास्टर शीर्षकको कार्यशालामा स्टार्टअप, व्यापार र डेभलपरको क्षेत्रमा एडब्लुएसले कसरी असीमित अवसर सिर्जना गरिरहेको छ भन्ने विषयमा छलफल गरियो। साथै, स्केलिङ युअर, स्किल्सः एडब्लुएस क्लाउड एज अ प्लेटफर्म फर कन्टिनियस लर्निङ शीर्षकको कार्यशालामा एडब्लुएस प्रमाणपत्र र स्रोतको उपयोग गर्दै करिअर निर्माण गर्न सकिनेमा जोड दिइयो।
सम्मेलनका आयोजक तथा एडब्लुएस वुमन इन टेक नेपालका वर्षा भण्डारीले सम्मेलन प्रविधि शिक्षा र अवसरमा मात्रै केन्द्रित नभई समावेशी प्रविधि समुदाय निर्माण गर्न महत्वपूर्ण अवसर भएको बताइन्।
‘प्रविधिमा महिला सहभागिता बढाइ डिजिटल परिवर्तन सबैका लागि समान योगदान पुर्याउन आवश्यक छ,’ उनले भनिन्।