अमेरिकी चेम्बर अफ कमर्श एमच्याम नेपालले एसियाली विकास बैंक एडिबी र विश्व बैंकसँगको सहकार्यमा १५ औं सदस्य प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा नेपालमा आर्थिक वृद्धि, लगानी र निजी क्षेत्रको विकासका बारेमा छलफल भएको थियो।
कार्यक्रममा एसियाली विकास बैङ्क एडिबीका देशीय अपरेसन प्रमुख अर्नोड हेकम्यानले नेपालका लागि आगामी २०२५–२०२९ सम्मको चार वर्षे रणनीतिक कार्ययोजना प्रस्तुत गरेका थिए।
कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारमूलक हरित आर्थिक रूपान्तरणको प्रवर्द्धन, समावेशी र गुणस्तरीय मानव पुँजी विकास, र सार्वजनिक सेवा प्रवर्द्धनलाई प्राथमिकता दिएको छ। साथै, योजनामा वातावरणीय दिगोपन र जलवायु सहनशीलता अभिवृद्धि पनि समावेश गरिएको छ।
हाल नेपालमा एडिबीले विभिन्न ३२ वटा परियोजना सञ्चालन गरिरहेको छ। ती परियोजनामार्फत निजी क्षेत्रको विकास, कृषि, शिक्षा, ऊर्जा, वित्त, उद्योग तथा व्यापार, सार्वजनिक क्षेत्र व्यवस्थापन, यातायात, शहरी विकासजस्ता क्षेत्रमा काम भइरहेको एडिबीको भनाइ छ। त्यस अवसरमा एडिबी नेपालका लागि आवासीय निर्देशक अर्नोड काउचोइसले एडिबीको नेपालमा गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए।
नेपालका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बैङ्कले नेपालको विकासमा निजी क्षेत्रलाई विकासको प्रमुख साझेदारको रूपमा व्याख्या गर्दै सूचना प्रविधि आइसिटी, ऊर्जा तथा पर्यटन क्षेत्रमा विशेष ध्यान दिइरहेको उल्लेख गरेको गरे।
उनले बैङ्कमार्फत नेपालमा पूर्वाधार विकास र खर्च बढाउँदै आर्थिक समृद्धिको आधार भएको उल्लेख गरे।
यद्यपि सन् २०१८ यताका वर्षहरूमा खर्चमा उल्लेख्य कमी आएको उनको भनाइ थियो। बैङ्कले आर्थिक वर्ष २०२३ र २०२४ मा खर्च कार्यान्वयन दर ८० प्रतिशतभन्दा तल झरेको र यो प्रवृत्ति आर्थिक विकासमा चुनौती हुनसक्ने उल्लेख जनाएको छ। पर्यटन, घरजग्गा, व्यापार जस्ता सेवा क्षेत्र आर्थिक वृद्धिका प्रमुख चालक बन्ने पूर्वानुमान गरिएको उनको भनाइ छ ।
कार्यक्रममा अमेरिकी दूतावासका आर्थिक तथा व्यापारिक अधिकृत ड्यारिन क्रिस्टेन्सेनले एमच्याम नेपालद्वारा आयोजना गरिएको यो शृङ्खलाले अमेरिकी कम्पनीलाई नेपालमा व्यवसाय विस्तार गर्न उत्प्रेरित गर्ने बताए।
एडिबी र विश्व बैङ्क समूहका परियोजनाहरूले नेपालका सूचना प्रविधि, ऊर्जा तथा पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने भन्दै उनले यी संस्थाहरूको उपस्थितिलाई प्रशंसा गरे।