भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारसँग नेपालमा कति सवारी साधन छन् भन्ने यकिन तथ्यांक नरहेको बताएका छन्।
मंगलबार मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सातै प्रदेशका यातायात संवद्ध मन्त्री र सचिव सहितको विषयगत समितिको बैठकमा बोल्दै मन्त्री दाहालले नेपालसँग कति सवारी साधनहरू छन् भन्ने यकिन तथ्यांक नहुँदा अन्तर्राष्ट्रिय सम्मेलनमा समेत अनुमानित तथ्यांक दिनु परिरहेको गुनासो गरे।
उनले अनुमानित ५०/६० लाख सवारी साधनहरू रहेको बताए।
वैशाखसम्ममा नेपालभर रहेका सवारी साधनहरूको यकिन तथ्यांक संकलन गर्ने बताए।
उनले भने, ‘अहिलेसम्म हामीसँग कति भेहिकल छन् भन्ने कुरा एउटा राज्यसँग यकिन तथ्यांक छैन। कति छन् भन्ने कुरा थाहा छैन भनेर भनिरहनुपर्ने कुरा त्यत्ति शोभनिय कुरा होइन। तर भनिरहेका छौं। कसैले ६० लाख भन्छन्, कसैले ५० लाख छन् भन्छन्। यो वैशाखसम्ममा जसरी पनि यकिन तथ्यांक ल्याउनुपर्छ। अब हामी अन्तर्राष्ट्रिय गोष्ठीमा जानुपर्ने छ। तर त्यहाँ पनि हामीले यस्तै-यस्तै डाटा भन्छौं। कहिले ५० लाख, कहिले ६० लाख भन्छौं भन्ने चाहिँ गरेका छौँ। त्यसमध्येको ८० प्रतिशत मोटरसाइकल भनेका छौँ।’
मन्त्री दाहालले कुल सवारी साधनमध्ये ८० प्रतिशत मोटरसाइकल रहेको पनि बताए।—न्युज एजेन्सी नेपाल