भारतको उत्तर प्रदेशस्थित तत्कालीन इलाहाबाद हाल प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाले यतिबेला भारतको धार्मिक पर्यटनमा धूम मचाइरहेको छ।
१४४ वर्षमा लागेको महाकुम्भमा महास्नानका लागि दैनिक लाखौंको संख्यामा तीर्थालुहरू पुगिरहेका छन्। साधुसन्त, तपस्वीहरूको उपस्थिति बाक्लो छ।
माघी पूर्णिमाको अवसरमा एकैदिन दुई करोडभन्दा धेरै श्रद्धालुले महास्नान गरेको उल्लेख गरिएको छ।
४५ दिन चल्ने महाकुम्भमा ४५ करोड तीर्थालु उपस्थित हुने अनुमान गरिएकोमा ४७ करोडभन्दा धेरैले स्नान गरिसकेको उत्तर प्रदेश प्रहरीले जानकारी दिएको छ। ८० करोडभन्दा बढी तीर्थालुहरूको उपस्थित हुने देखिएको उल्लेख गरिएको छ।
महाकुम्भ पुगेका हिन्दु धर्मावलम्बी श्रद्धालुहरू प्रयागराजमा मात्रै सीमित छैनन्। त्यहाँ पुगेका उनीहरू भारतको अयोध्यास्थित राम मन्दिर, वाराणसीस्थित विश्वनाथ मन्दिर, संकटमोचन मन्दिर लगायत विभिन्न धार्मिक स्थलहरू पनि पुगिरहेका छन्। अहिले भारतका अधिकांश धार्मिक स्थलहरूमा पर्यटकहरूको भीड थेगिनसक्नु छ।
संसारकै ठूलो धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक उक्त मेलाले भारतको आर्थिक गतिविधि थप चलायमान बनाएको छ। ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ।
हवाई, रेल तथा सडकमार्गका सवारीसाधन भरीभराउ छन्। वरपरका होटल रेस्टुरेन्ट, पाल भरिभराउ छन्। डुंगा, गाडा, टेम्पो, रिक्सा लगायत लोकल सवारी साधन चलाउनेहरूको आम्दानी बढेको छ।
मन्दिर आसपासका फलफूल, पूजा सामग्री लगायत पसलहरूमा उस्तै भीड छ। व्यापार व्यवसाय चम्किएको छ।
मेलाबाट राजस्व मात्रै दुई लाख करोड उठ्ने भारत सरकारले जनाएको छ। यसले भारतको आर्थिक वृद्धिदरमै ठूलो योगदान पुर्याउने अपेक्षा लिइएको छ।
तीर्थालुका लागि कडा सुरक्षा व्यवस्था र निगरानीको व्यवस्था गरिएको महाकुम्भ २०२५ का सूचना अधिकारी गगन यादवले बताए।
त्यहाँ एआई जटित झन्डै दुई हजार क्यामेराहरू राखिएका छन्। यसले तीर्थालुको अवस्था देखाउने र व्यवस्थापन गर्न सहज हुने उल्लेख गरिएको छ। तीन हजार सिसिटिभी जडान गरिएको छ।
स्नान गर्दा तीर्थालुको सुरक्षा मध्येनजर गर्दै कोही डुबिहालेमा उद्धारका लागि ड्रोनसहित डुंगाको व्यवस्था गरिएको आयोजकले जनाएको छ। ४० हजार सुरक्षाकर्मी खटाइएको छ।
चार हजार हेक्टर क्षेत्रफल जमिनमा मेला चलिरहेको छ। यहाँ १ लाख ६ हजार पालहरू छन्। १५ हजार सफाई कर्मचारी खटाइएका छन्। पाँच लाख सवारीसाधन पार्किङ गर्न सकिने ९९ वटा पार्किङ स्थल व्यवस्था गरिएको छ।
६७ हजार स्ट्रिट लाइट जडान गरिएको छ। १ लाख ५ हजार शौचालय व्यवस्था गरिएको छ।
महाकुम्भ मेला २०२५ का सूचना अधिकारी गगन यादवले भारतमा चलिरहेको महाकुम्भ मेलाले नेपाललाई पनि फाइदा पुग्ने दाबी गरे।
उनले नेपालका केही पत्रकारहरूसँग कुरा गर्दै नेपाल र भारतका हिन्दु तीर्थस्थलहरू एक आपसमा जोडिएको बताए। जसकारण मेलाले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने उनको भनाइ छ।
महाकुम्भको गंगाजल नेपालका पशुपतिनाथ लगायत तीर्थस्थलमा जल चढाएपछि मात्रै तीर्थालुहरूको धार्मिक यात्रा पूर्ण हुने विश्वास रहेकाले पनि नेपालले महाकुम्भको लाभ पाउने उनको भनाइ छ।
'यसको लाभ भविष्यमा देखिने छ। नेपालसँगै अन्य मुलुकहरूको धार्मिक पर्यटन प्रवर्द्धनमा यो मेलाले महत्त्वपूर्ण भूमिका खेल्छ,' उनले भने।
१३ जनवरीबाट सुरू भएको महाकुम्भ मेला २६ फेब्रुअरीसम्म चल्नेछ।
भारतका प्रयागराज, हरिद्वार, नासिक र उज्जैनमा प्रत्येक १२ वर्षमा कुम्भ मेला लाग्ने गरेको छ। हिन्दुधर्मावलम्बीहरू विश्वभरबाट गंगा स्नानका लागि पुग्ने गरेका छन्।
चार सहरमा कुम्भमेला आयोजना गरिए पनि प्रयागराजमा चल्ने मेलालाई अझ धेरै महत्त्वका साथ हेरिन्छ। प्रयागराजमा गंगा, यमुना र सरस्वती नदिको संगम रहेका कारण अझ विशेष महत्त्वका साथ लिने गरिएको छ।
पौराणिक नदी सरस्वती अहिले अदृश्य भए पनि संगम त्यहि रहेको मानिन्छ। त्रिवेणी संगममा स्नान गर्नाले पाप नाश भई पुण्य प्राप्ति हुने धार्मिक विश्वास छ।
कुम्भ मेलालाई देवता तथा दानवबीच भएको युद्ध सम्बन्धी पौराणिक प्रसंगसँग जोडेर हेर्ने गरिएको छ।
पौराणिक खालखण्डमा समुन्द्र मन्थनमा अमृतको घडाका लागि देवता र दानवबीच युद्ध भएको प्रसंग कुम्भ मेलासँग जोडिएको छ।
अमृत पिउँदा अमर हुने लोभमा देवासुर संग्राम भएको किंवदन्ती छ। त्यो संग्राम १२ वर्षसम्म चलेको थियो। युद्धका क्रममा घडाबाट केही थोपा अमृत प्रयागराज, हरिद्वार, नासिक र उज्जैनमा खसेको किंवदन्ती छ। त्यही विश्वासका साथ यी स्थानलाई पवित्र मानिन्छ।
र पृथ्वीमा देववर्षको अवधि १२ वर्षसम्म हुने विश्वास गरिन्छ। र यी चार स्थानमा प्रत्येक १२ वर्षमा कुम्भमेला मनाइन्छ। दुइटा कुम्भ मेलाको बीचमा अर्धकुम्भ मेला पनि आयोजना गरिन्छ।
यो वर्ष भने १४४ वर्षमा मात्रै देखा पर्ने दुर्लभ संयोग मिलेको छ। घडाबाट अमृत छचल्किएको समय जस्तै गरी अहिले ग्रह तथा नक्षेत्र मिलेर सकेका कारण दुर्लभ संयोग मिलेको उल्लेख गरिएको छ। यस्तो उत्तम अवस्था १२ कुम्भ अर्थात् १४४ वर्षछि आएको हो।
यो पटक मेलामा हुने ६ विशेष 'शाहीस्नान' मध्ये पाँच स्नान सकिएका छन्।
अब २६ फेब्रुअरीमा शिवरात्रीका अवसरमा हुने विशेष स्नान बाँकी छ।