चितवनको सौराहामा मंगलबारदेखि फुड फेस्टिबल सुरू हुँदैछ।
रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल सौराहा चितवन (रेवान) को आयोजनामा सौराहा फुड फेस्टिबलको १९ औं संस्करण हुन लागेको हो।
प्रणय दिवसको अवसर पारेर हरेक वर्ष हुने फुड फेस्टिबल नजिकिँदै गर्दा सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ। व्यवसायीले सौराहालाई श्रृंगारेका छन्।
रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले चितवनको पर्यटन विकासको लागि फेस्टिबल आयोजना गरिएको बताए।
सौराहास्थित पर्यटक बसपार्क जाने बाटोको उत्तरतर्फको खाली स्थानमा फेस्टिबल हुँदैछ।
समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासंस्कृति/वेशभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रूपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउने उद्देश्य रहेको उनले बताए।
प्रवेश टिकटबाट भएको आम्दानीले सौराहाको पर्यटन मार्गको सौन्दर्यीकरण गर्ने उद्देश्य रहेको अध्यक्ष गिरीले बताए।
फेस्टिबलका कारण सौराहामा पर्यटक आगमनमा ४० प्रतिशत पर्यटक वृद्धि हुने अपेक्षा पर्यटन व्यवसायीहरूको छ।
![food-festival-1739258855.jpg](https://www.setopati.com/uploads/posts/food-festival-1739258855.jpg)
फागुन ३ गतेसम्म चल्ने फेस्टिबलमा विभिन्न जातजातिहरूको झाँकीका साथै सिन्धुलीको कर्ने मगर बाजाको प्रस्तुति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, स्थानीय जनजातिका खानाको प्रदर्शनी तथा प्रतियोगिता, वेटर/वेटरेसबीच प्रतियोगिता, तान डोरी प्रतियोगिता, प्रथम रेवान कप महिला फुटवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता हुने फेस्टिबलका संयोजक शम्भुप्रसाद मालीले जानकारी दिए।
९० लाख खर्च हुने अनुमान गरिएको फेस्टिवल अवधिभर सौराहा क्षेत्रभित्र करिब ३ करोड रुपैयाँ कारोबार हुने अपेक्षा गरिएको छ।
फेस्टिबल अवलोकनका लागि सौराहामा दैनिक ५ हजार स्वदेशी तथा विदेशी पर्यटक भित्रिने अपेक्षा गरिएको रेवान सौराहाका महासचिव नविन नेपालले जानकारी दिए।
रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजक रेवान महिला समूह, क्षेत्रीय होटल संघ सौराहा र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन्।
फेस्टिबल अवधिभर सौराहाका व्यवसायीहरूले आवास र खानामा १० प्रतिशत छुट सुविधा उपलब्ध गराउने सहसंयोजक कृष्ण भट्टले जानकारी दिए।