'यहाँ वाग्नर कोदाली खनिरहेका छन्, शेक्सपियर हलो जोत्दा हुन्, टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्।'
यो भनाइ महाकवि लक्ष्मीप्रसाद देवकोटाको हो।
देवकोटाको समयभन्दा अहिले धेरै थोक फेरिइसक्यो। तर अहिले पनि अवसर नपाएकै कारण नेपालका कुनाकन्दरामा थुप्रै स्टिभ जब्स, मार्क जुकरबर्ग र एलन मस्कहरू भौंतारिरहेका हुँदा हुन्!
एउटा सानो अवसरले मान्छेको जीवन फेरिन सक्छ। उसले आफ्नो क्षमता प्रमाणित गर्ने मौका पाउँछ। त्यसैले अवसर कसैको भाग्यमा सीमित हुनु हुँदैन।
यही उद्देश्यका साथ इस्लिङ्टन कलेजका अध्यक्ष सुलभ बुढाथोकी र उनको टिमले विभिन्न कारणवश उच्च शिक्षा पढ्न नपाएका युवाहरूलाई ल्याएर अवसर दिइरहेका छन्। उनीहरूले सिन्धुपाल्चोक, चितवन लगायत जिल्लाका विद्यार्थीलाई काठमाडौं ल्याएर आफ्नै खर्चमा अध्ययन गराइरहेका छन्।
बुढाथोकीले इनोभेट नेपाल समूहमार्फत् त्यस्ता विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिएका हुन्। उनले 'माई सेकेन्ड टिचर' भन्ने अभियान पनि चलाइरहेका छन्। पाठ्यपुस्तकका सामग्रीलाई भिडिओ बनाएर अध्ययन गराउने यो अभियानमा देशभरका १८६ विद्यालय जोडिएका छन्। तीमध्ये १५८ वटा सामुदायिक विद्यालय छन्। यो पद्धतिअनुसार अध्ययन गर्ने विद्यार्थी संख्या करिब दुई लाख छ।
बुढाथोकी र उनको समूहको पहलमा सिन्धुपाल्चोकबाट काठमाडौं आएर इस्लिङ्टन कलेजमा उच्च शिक्षा अध्ययन गरिरहेका तीन जना विद्यार्थीसँग सेतोपाटीका विजयराज खनालले भिडिओ संवाद गरेका छन्।
संवादमा छन् — लक्ष्मण नेपाली, सविना धानुकी र सीताराम थिङ। एउटै जिल्लाबाट सँगै आएर इस्लिङ्टन कलेजमा अध्ययन गरिरहेका यी तीनमध्ये एक जना अहिले मोबाइल एप डेभलपर छन्। त्यस्तै अरू दुई जना कलेजमै स्किल एक्जुकेटिभ र स्टुडेन्ट रिक्रुटमेन्ट अफिसरका रूपमा प्रशासनिक काम गरिरहेका छन्।
हेर्नुहोस् उनीहरूको भिडिओ संवाद —