नेपालमा बेलायती शैक्षिक संस्था कोभेन्ट्री विश्वविद्यालयको कार्यक्रम अध्यापन गराउने सफ्टवेरिका कलेज अफ आइटी एन्ड इकमर्सले ४०० विद्यार्थीहरूलाई दीक्षित गरेको छ।
शनिबार हायत रिजेन्सीमा भएको एक कार्यक्रममा कलेजले स्नातक र स्नातकोत्तर तहका हालै उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गरेको हो।
दीक्षान्त समारोहमा बोल्दै क्याम्पस प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीहरू अब आत्मनिर्भर हुन सक्ने बताए।
अहिलेसम्म आफ्नो खर्चका लागि अभिभावकलाई गुहार गर्नु परेता पनि अब विद्यार्थी स्वयंले आफ्नो खर्च व्यवस्थापन गर्न सक्ने उनको भनाइ थियो।
'अब विद्यार्थीले परिवारलाई खर्चका लागि गुहार गर्नु पर्दैन। उनीहरूले अहिलेसम्म कलेजमा जे सिकेका छन्, त्यसले जहाँ गए पनि उनीहरूलाई आर्थिक प्रगति गर्न निकै सहयोग गर्ने छ,' कार्यक्रममा उनले भने।
त्यस्तै उनले विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै समस्याहरूमा नै अवसर पाउन सकिने बताए। सफ्टवेरिका कलेज पनि समस्याहरूको समाधान गर्ने क्रममा नै स्थापना भएको उनको भनाइ थियो।
साथै विदेश गएता पनि विद्यार्थीहरूलाई नेपालमा फर्केर देशका लागि योगदान गर्न उनले आग्रह गरे।
यसैगरी कोभेन्ट्री विश्वविद्यालयका उपप्रमुख डा. रेडा अल बोडुरले दीक्षान्त समारोहको महत्व र यसपछिको यात्राबारे बताए। उनले विद्यार्थीहरूले सबै कठिनाइहरू पार गर्दै यहाँसम्म आइपुगेको तथ्यलाई उजागर गरे।
'दीक्षान्त समारोह भनेको विद्यार्थीहरूले आफ्नो सम्पूर्ण समस्याहरूलाई पराजित गरेको प्रमाण हो। यो यात्रा अभिभावक र संरक्षकहरूको सहयोग बिना पूरा हुँदैन थियो,' उनले भने।
यसका साथै कार्यक्रमका प्रमुखखअतिथि तथा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणा मगरले समेत विद्यार्थीहरूलाई आफ्नै देशमा केही गर्न आग्रह गरिन्।
देशमा नै प्रशस्त अवसर रहेको कुरा बताउँदै उनले विद्यार्थीहरूलाई आफ्नो समाज र देशलाई सेवा गर्नु पर्ने धारणा राखिन्।
'हाम्रो समाज विविधतापूर्ण छ । तपाईं (विद्यार्थी) हरूले विदेशमा काम गर्न त्यहाँ नै गइरहनु जरुरी छैन। नेपालमा नै बसेर तपाईंहरूले संसारभर काम गर्न सक्नुहुन्छ,' उनले भनिन्, 'तर तपाईंले आफ्नो समय भने व्यवस्थापन गर्नु पर्छ।'
दीक्षान्त समारोहमा विश्वविद्यालयका प्रतिनिधि, कलेजका प्रतिनिधि, अभिभावक, विद्यार्थी आदिको उपस्थिति रहेको थियो।
यसअघि दीक्षित भइसकेका अधिकांश विद्यार्थीहरू आत्मनिर्भर भइसकेको कलेजको भनाइ छ।