अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका मुद्दा कुनै मुलुक विशेषका नभई विश्वव्यापी साझा मुद्दा भएकाले सबैले मिलेर समाधानका लागि प्रयास गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा विश्व व्यापार संगठन (डब्लुटिओ) र काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना’ विषयक तेस्रो वार्षिक सम्मेलनको उद्घाटन गर्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र यसको असर आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा गम्भीर रूपमा देखिएको बताए।
उनले कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रहरूको विकेन्द्रीकरण गरी आपूर्ति श्रृंखलाको विविधीकरण गर्न आवश्यक रहेको धारणा राखे।
अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको असरले नेपालको आर्थिक र सामाजिक विकासमा ठूलो चुनौती खडा गरेको बताए।
'नेपालले जलवायु परिवर्तनमा नगण्य योगदान दिए पनि यसका असरबाट बढी प्रभावित छ। स्रोत र साधनको भरपुर प्रयोग गरी उत्सर्जन न्यूनीकरण र अनुकूलनका प्रयासलाई प्राथमिकतामा राख्नुपर्छ,' उनले भने।
प्राकृतिक विपत्तिहरू–बाढी, पहिरो, र भूकम्पले हरेक वर्ष ठूलो क्षति पुर्याउने भएकाले जलवायु मैत्री विकास प्रक्रियामा क्रियाशीलता आवश्यक रहेको उनको भनाइ छ।
उनले अन्तर्राष्ट्रिय व्यापारलाई आर्थिक वृद्धिको इन्जिनका रूपमा चित्रण गर्दै जलवायु परिवर्तनले व्यापारमा प्रतिकूल प्रभाव पारेको बताए।
'व्यापारमा दिगोपना सुनिश्चित गर्न जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्नु आवश्यक छ। यस सम्मेलनले नीति निर्माण र रणनीति तयार गर्न महत्त्वपूर्ण सहयोग पुर्याउनेछ,' उनले थपे।
सम्मेलनमा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युत वाग्लेले दिगो आर्थिक विकासका लागि निजी क्षेत्रमैत्री नीतिको आवश्यकता रहेको बताए।
'व्यापारमा दिगोपनको कुरा गर्दा केवल राजस्व र कर मात्र होइन, नविकरणीय ऊर्जा व्यापार र हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने प्रणालीको विकास पनि गर्नुपर्छ,' उनले भने।
दुई दिनसम्म चल्ने यस सम्मेलनमा भारत, चीन, टर्की, बंगलादेश, इन्डोनेसियालगायतका नौ देशका प्रतिनिधिको सहभागिता रहेको छ। सम्मेलन आइतबार सम्पन्न हुनेछ।