विराट एक्स्पोको आठौं संस्करण माघ ११ देखि २० सम्म विराटनगरमा आयोजना हुने भएको छ।
‘विराट एक्स्पो २०२५’ को तयारी तीव्र रूपमा चलिरहेको आयोजक उद्योग संगठन मोरङ जानकारी दिएको छ।
उद्योग संगठनले २०५३ सालमा कोशी महोत्सवका नाममा एक्स्पो सुरू गरेको थियो।
विराटनगर–१४ स्थित स्नातकोत्तर (डिग्री) क्याम्पस परिसरको मैदानमा हुने यस पटकको एक्स्पोलाई ‘डिजिटल कोशीः ब्रिजिङ इनोभेसन एण्ड इन्भेष्टमेन्ट’ भन्ने नाराका साथ अघि बढाइएको छ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले एक्स्पो आयोजना गर्न ३ करोडभन्दा बढी लगानी हुने जानकारी दिएका छन्।
‘यसपटक मेला हुँदैन, एक्स्पो हुन्छ, यो एक्स्पो हो,’ अध्यक्ष सुरानाले भने, ‘के बेच्ने भन्ने कुरा दोस्रो महत्वको विषय हो, एक्स्पोबाट हाम्रा महत्वपूर्ण उत्पादनलाई सोकेसिङ गर्न मद्दत पुग्नेछ।’
उनले आठौं संस्करणसम्म आइपुगेको विराट एक्स्पोलाई नेपालमा अहिलेसम्म आयोजना भएका अन्तर्राष्ट्रिय स्तरको औद्योगिक एक्स्पो मध्येको ठूलो बनाउने दाबी गरेका छन्।
संगठनका उपाध्यक्ष समेत रहेका एक्स्पो संयोजक भोलेश्वर दुलालले एक्स्पोमा ९ वटा पेभिलियन र २६८ वटा स्टलहरू रहने जानकारी दिएका छन्। जसमध्ये बिराट बजार बीटुबीका लागि १२ स्टल, स्टार्टअप भिजन कोशी ह्याकाथुनलाई १२ स्टल, रोजगार कोशीलाई १२ स्टल, व्यावसायिक सेवा प्रदायक तथा सूचना, शिक्षा तथा डिजिटल प्रविधितर्फ ४० वटा स्टल रहने बताए।
त्यस्तै अटोमोबाइल्सलाई २०, औद्योगिक उत्पादनलाई ७५, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा साना तथा घरेलु उद्यमलाई ७५, खाद्यवस्तुलाई १० र प्रायोजकका लागि १२ वटा स्टल रहने बताए।
एक्स्पोका माध्यमबाट १० दिनसम्म हाकाथुन चल्नेछ। जहाँ नविनतम् व्यावसायिक तरिकाहरूको उजागर हुने र युवाहरूलाई उद्यमशिलतामा रूपान्तरण गर्न मद्दत पुग्ने जनाइएको छ।
आठौं संस्करणको विराट एक्स्पोमा यसपटकको ‘टाइटल स्पोन्सर’ विद्युतीय गाडी बिवाइडीको बिक्रेता साइमेक्स प्रालिले गरेको छ। एक्स्पोको गोल्ड स्पोन्सरमा सेन्चुरी स्पाइसेस एण्ड स्यान्क्स, बैंकिङ पार्टनरमा नबिल वैंक छ। सहयोगी संस्थामा मोरङ उद्योग व्यापार संघ र डिग्री क्याम्पस विराटनगर छन्।