पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि विद्युतीय शवदाह मेसिनको भुक्तानी रोकेर राखेको छ।
सम्झौताका आधारमा म्याप आन्ट्रप्रनर्स प्रालिले २०८० चैत २० गते दुइटा विद्युतीय शवदाह मेसिन कोषलाई हस्तान्तरण गरेको थियो। तर अहिलेसम्म पनि त्यसको भुक्तानी नपाएको प्रालिका प्रबन्ध निर्देशक मनोज पुरीले बताएका छन्।
कोषले २०८१ वैशाख २ गते टिप्पणी र आदेश उठाउँदै म्यापलाई ५ करोड ६५ लाख ५४ हजार रुपैयाँ भुक्तानी दिने निर्णय भएको थियो। त्यसअघि एक करोड ८० लाख रूपैयाँ भने भुक्तानी भएको पुरीले बताए।
'सात महिना भइसक्दा पनि बाँकी भुक्तानी पाएको छैन,' पुरीले भने, 'भुक्तानी रोकिएकाले थप मेसिन किन्न सकेको छैन।'
यो कम्पनीलाई दुइटा मितिमा गरी १० करोड ३३ लाख रूपैयाँ बराबरको चार वटा मेसिन खरिदका लागि छनोट गरिएको थियो। तर पहिलो चरणकै मेसिनको पैसा नपाएपछि थप ल्याउन नपाएको पुरीले बताए। यति मात्र होइन, कम्पनीको कार्य सञ्चालनमा समेत अप्ठ्यारो परेको उनी बताउँछन्।
''भुक्तानी आदेश स्वीकृत भइसकेको छ। तर कुरा गर्न जाँदा सदस्य सचिव मिलन थापाले पुरानै मितिमा पुरानै हाकिमबाट चेक हस्ताक्षर गरेर लैजानुस् भन्नुहुन्छ। उहाँहरूको कमजोरीबाट हामीले दुःख पाउनु त भएन नि,' पुरीले भने।
यसबारे हामीले कोषलाई सोध्यौं।
कोषका प्रमुख कार्यकारी अधिकृत सुवासचन्द्र जोशीले पनि लामो समयदेखि भुक्तानी दिन नसकिएको स्वीकार गरे।
यसरी भुक्तानी रोकिनुको कारण खरिदकर्ता कम्पनीको कमजोरी नभएको पनि उनले बताए।
'हामीले निर्णय गरेर सामान खरिद गरेपछि पैसा तिर्नुपर्छ। यति लामो समय भुक्तानी रोकिनुले उहाँलाई समस्या परेको छ,' जोशीले भने।
उनले जति सक्दो छिटो भुक्तानी राफसाफ गर्ने योजनामा रहेको बताए।
म्याप कम्पनीका प्रबन्ध निर्देशक पुरी कोषका अधिकारीहरूले कोषविरूद्ध अख्तियारमा उजुरी परेको कारण देखाएर भुक्तानी रोकेको मौखिक प्रतिक्रिया दिएको बताउँछन्।
'यसबारे मैले अख्तियारमै बुझेँ। भुक्तानी रोक्न कुनै पनि आदेश दिएको छैन, रोक्न पनि मिल्दैन भन्नुभएको छ,' पुरीले भने।
कोषका प्रमुख कार्यकारी अधिकृत जोशीले अख्तियारमा उजुरी परे पनि भुक्तानी रोक्न भने नभनिएको बताए।
'अख्तियारमा उजुरी परेको तथा उजुरी परेकै कारण भुक्तानी रोक्न नपर्ने कुरा सत्य हो। अरू विविध कारणले भुक्तानी रोकिएको हो। हाम्रो समस्याले एउटा व्यापारी समस्यामा पर्नु हुँदैन भन्नेमा हामी सचेत छौं। यसलाई चाँडो टुंग्याउँछौं,' जोशीले भने।
कोषले समयमै भुक्तानी नगरे पनि शवदाह मेसिन मर्मतसम्भार भने म्यापले गरिरहेको पुरीले बताए।
अहिले यहाँ दुइटा मेसिन सञ्चालनमा छ। तर थोरै मेसिन लगातार सञ्चालन हुँदा छिटो बिग्रिने सम्भावना रहेको कम्पनीले जनाएको छ।